नेपाल प्रहरीलाई प्रश्नः हर्क साम्पाङलाई काटेको रसिद र उनको फाेटो कुन कानुन टेकेर फेसबुकमा हाल्नुभयो ?

काठमाडौँ । नेपाल प्रहरीले हिजो मात्रै श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङलाई ट्राफिक प्रहरीले गरेको कारवाहीको विवरण सामाजिक संजाल फेसबुकमार्फत गर्यो ।

प्रहरीले सार्वजनिक गरेको विवरणमा ब्लर गरेर हर्क साम्पाङको फोटो राखिएको छ भने उनलाई जरिवाना तिराईको रसिद राखिएको छ ।

प्रहरीले फोटोमा देखाइएको र रसिदमा नाम उल्लेख भएको व्यक्तिका बारेमा विस्तृतमा खुलाएको छ ।

‘सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा माननीय हर्कराज राईलाई आवश्यक कानुनी कारवाही गरिसकेको जानकारी गराइन्छ,’ नेपाल प्रहरीले हर्कको फोटो र उनलाई जरिवाना तिराएको रसिद जोडेर एउटा फोटो बनाएको छ र त्यसको  क्याप्सनमा यस्तो उल्लेख छ । आधिकारिक नाम हर्कराज राई भएपनि उनलाई हर्क साम्पाङका नामले चिनिन्छ ।

कुख्यात अपराधी भनेर किटान गरिएका व्यक्तिलाई पक्रदा पनि प्रहरीले उसको मुख छोपिदिने अभ्यास विकसित देशहरुमा छ । नेपालमा पनि जघन्य अपराधमा संलग्न भएका व्यक्तिहरुको फोटो सार्वजनिक गर्दा प्रहरीले सो व्यक्तिको आँखामा कालो घर्काे राख्ने गरेको छ ।

प्रहरीले हर्क साम्पाङको ब्लर गरेको फोटो राखेको छ भने उनको पहिचान पूर्ण रुपमा खुल्ने नागरिकता अनुसारको नाम र ठेगाना उल्लेख गरेको छ । 

हर्क साम्पाङले एक हातले मोटरसाइकल चलाउदै गरेको भिडियो खिचेका थिए भने त्यही क्रममा उनको मोटरसाइकल दुर्घटनामा परेको थियो । साम्पाङको हातमा चोट लागेको सामाजिक संजालमा राखिएको भिडियोमा देखिएको छ । एक हातले मात्रै मोटरसाइकल चलाउनु, मोटरसाइकल चलाउदै भिडियो खिच्नु ट्राफिक नियमको उल्लघन हो ।

तर, ट्राफिक नियम उल्लघन गरेका व्यक्तिको नाम र ठेगाना खुल्नेगरी कारवाही रसिद सार्वजनिक गर्नु र ब्लर गरेकै भएपनि मान्छे चिनिने गरी फोटो राख्नु कानुनी रुपमा ठीक हो कि होइन भनेर वडापालिकाले अधिवक्ता हरिप्रसाद ढुंगेललाई सोधेको छ ।

‘कुनै दुर्घटना भएर अंगभंग वा मृत्यू भएन तर ट्राफिक नियम उल्लघन भयो भने जरिवाना मात्रै तिराउने कानुनी व्यवस्था छ । यसरी जरिवाना तिराउँदा व्यक्तिको फोटो वा जरिवाना तिराइएको रसिद नै सार्वजनिक गर्नु भनेको व्यक्तिको चरित्र हत्या गर्नु हो, उसलाई ह्यारेसमेन्ट गर्नु हो । नेपाल प्रहरीलाई व्यक्तिको चरित्रहत्या गर्न वा ह्यारेसमेन्ट गर्न कानुनले अधिकार दिएको छैन,’ अधिवक्ता ढुंगेलले वडापालिकासँग भने ।

हामीले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अभिनारायण काफ्लेलाई टेलिफोन सम्पर्क गरी ट्राफिक नियम उल्लघनमा जरिवाना तिर्ने व्यक्तिको जरिवाना तिरेको रसिद र व्यक्तिको फोटो फेसबुकबाट सार्वजनिक गर्न मिल्छ भनेर सोधका छौं । उनले फेसबुकमा राखिएको फोटो हर्क साम्पाङको नभएको दाबी गरे ।

‘उहाँ (हर्क साम्पाङ) जस्तै देखिने फोटो राखिएको हो, उहाँकै फोटो राखिएको होइन । फोटोमा हेलमेट लगाइएको छ, मास्क लगाइएको छ, फोटो ब्लर गरिएको छ, त्यसैले त्यो फोटो उहाँ (हर्क साम्पाङ) कै हो भनेर पहिचान हुदैन,’ केन्द्रीय प्रवक्ता काफ्लेले भने ।

उनले जनताले पत्याउन छोडेपछि कारवाही गरिएको हो भनेर यकिन दिलाउन जरिवाना तिराइएको रसिद सार्वजनिक गरिएको बताए ।

‘प्रमाण सार्वजनिक नगर्ने हो भने जनताले पत्याउदैनन्, त्यसैले रसिद सार्वजनिक गरिएको हो,’ प्रहरी नायव महानिरीक्षक काफ्लेले भने ।

नेपाल प्रहरीका अवकाशप्राप्त डिआइजी हेमन्त मल्ल भने प्रहरीले कसैलाई कारवाही गरेको भनेर प्रमाण नै सार्वजनिक गर्नुपर्ने अवस्था आउनु दुःखद रहेको बताए ।

‘मैले त यो विषयलाई व्यक्तिको अधिकार, गोपनीयता, कानुनको विषयभन्दा पनि नेपाल प्रहरीको मनोविज्ञान कस्तो भएछ भनेर हेरिरहेको छु । प्रहरीले फलानो व्यक्तिमाथि यस्तो कारवाही भयो भनेर जानकारी गराउँदा जनताले पत्याउदैनन्, प्रमाण नै सार्वजनिक गर्नुपर्छ भन्ने मनोविज्ञान आफैमा राम्रो होइन । नेपाल प्रहरीले आफूलाई धेरै नै कमजोर महसुस गरिरहेको मैले ठानेको छु,’ पूर्वडिआइजी मल्लले वडापालिकासँग भने ।

ट्राफिक प्रहरीका सुचना अधिकारी नरेश राज सुवेदीले हर्क साम्पाङले गरेको ट्राफिक नियम उल्लघन ‘रेगुलेटरी अफेन्स’ भएको बताए । 

हर्क साम्पाङलाई कारवाही गरिएको रसिद प्रहरीले सार्वजनिक गरेपनि उनले जरिवाना तिरेपछि जरिवाना तिरेको प्रमाण सार्वजनिक गर्छ कि गर्दैन, त्यो भने प्रतिक्षाकै विषय भएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update