सुनसरी । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै आफै श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वदेखि राष्ट्रिय राजनीतितर्फ प्रवेश गरेको छ ।
धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएदेखि नेपाली राजनीतिक वृत्तमा कुनै न कुनै रुपमा चर्चाको पात्र बनिरहेका राई हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ बाट ३५ हजार ७४१ मत प्राप्त गर्दै विजयी भएका छन् ।
विसं २०७९ को स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारका रूपमा ‘लौरो’ चुनाव चिन्ह लिएर उनी निर्वाचित भएका थिए । सामान्य जीवनशैली, स्पष्ट वक्ता र विकासका लागि श्रमदान अभियानका कारण राई छोटो समयमै चर्चामा आए ।
मेयर बनेपछि उनले परम्परागत राजनीतिक शैली भन्दा फरक अभ्यास गरे । महँगा औपचारिकता भन्दा श्रमदान अभियानलाई प्राथमिकता दिए । आफैं ढुङ्गा बोक्ने, नाली सफा गर्ने तथा पानीका मुहानसम्म पुगेर काम गरेका मेयर साम्पाङ धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि कोकाहा खोलाबाट पानी ल्याउने अभियानमा महिनौँसम्म जनतासँगै श्रमदानमा खटिए ।
सामाजिक सञ्जालमार्फत प्रत्यक्ष संवाद, नागरिक सहभागितामा आधारित विकास र भ्रष्टाचारविरुद्ध खुलेर आवाज उठाउने शैलीले उनलाई समर्थकहरूबीच ‘अभियानबाट उठेको नेता’का रूपमा चिनायो । उनको कार्यशैलीलाई लिएर आलोचना गर्नेहरू पनि उत्तिकै सक्रिय रहे । समर्थक र आलोचकबीचको बहसले साम्पाङलाई निरन्तर सार्वजनिक चर्चाको केन्द्रमा राख्ने गरेको छ ।
राईको सामाजिक र राजनीतिक सक्रियता भने मेयर बन्नुअघि नै सुरु भइसकेको थियो । २०६८ सालतिर धरानमा कर वृद्धि तथा विभिन्न बेथितिविरुद्ध भएका आन्दोलनमा उनी सक्रिय हुन्थे । पछि जनसरोकार मञ्चमा आबद्ध हुँदै आन्दोलनको नेतृत्व गरे । धरानको पुरानो खानेपानी समस्यालाई लिएर ‘पानी दे, पानी दे’ भन्ने नारासहितको अभियान चलाउँदा उनी स्थानीयस्तरमा चर्चामा आए । खानेपानी मुहान अनुगमनका क्रममा पाइप तोडफोडको आरोपमा राई एकपटक पक्राउसमेत परे । केही दिन पछि रिहा भए ।
हर्क साम्पाङले अवैध ढुङ्गा गिट्टी उत्खनन रोक्न खोलासम्म पुगेर विरोध गरे । मदन भण्डारी राजमार्ग विस्तारका क्रममा घर भत्काउने विषयमा संघर्ष समितिमा सह संयोजक भएर आन्दोलन गरे। त्यसैगरी सीमा अतिक्रमणदेखि स्वास्थ्य सेवा सुधारसम्मका विषयमा आवाज उठाइरहे । त्यही गतिविधिले उनलाई स्थानीयस्तरमा सक्रिय अभियन्ताका रूपमा स्थापित गरायो । गीत संगीतमा समेत रुचि राख्ने राईले केही बर्ष अगाडि ‘मिसिङ हार्ट’ नामक एल्बमसमेत सार्वजनिक गरेका थिए । हिजोआज पनि कहिलेकाहीँ गितार बजाउँदै गीतमार्फत राजनीतिक व्यङ्ग्य गर्ने शैलीले पनि उनलाई फरक पहिचान दिलाएको छ । सामाजिक सञ्जालमा उनी “हर्क साम्पाङ रिभोलुसन” नामबाट चर्चित छन्।
मेयरकै जिम्मेवारीमा रहँदा उनले गत माघ ४ गते पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी गठन गरे र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बने । अब सांसदका रुपमा आफूले अघि सारेको श्रम र नागरिक सहभागिताको ढाँचालाई राष्ट्रिय स्तरमा विस्तार गर्ने दाबी राईले गरिरहेका छन् ।
धरानको सडक र खानेपानीको मुहानबाट सुरु भएको राईको यात्रा अब संसद् भवनसम्म पुगेको छ । स्थानीय आन्दोलनबाट उठेको राईको राजनीतिक यात्राले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्ला भन्ने जिज्ञासा भने सबैको मनमा देखिन्छ ।







