Odapalika - The Fourth Estate - चौथो अंग
धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा । जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने भएको छ । पालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिकाले ‘मासुजन्य उत्पादनका आधारमा नगद अनुदान कार्यक्रम’ संचालन गर्न लागेको हो ।

कृषकहरुलाई प्रोत्साहन गरी पालिकामा उत्पादित मासु बाहिर निर्यात गर्ने उद्देश्यसहित उत्पादनमा आधारित अनुदान कार्यक्रम संचालन गर्न लागिएको पालिकाको पशु शाखाका हर्कबहादुर कार्की बताए । कार्कीका अनुसार पालिकाले खसि/बोका वा भेडाको मासुमा प्रतिकेजी ३० रुपैँया अनुदान उपलब्ध गराउने छ ।

अनुदान लिनका लागी कृषक/निजि फर्म/समुह/कृषि सहकारीहरुले न्युनतम २० वटा वयस्क बाख्रा/भेडा पालेको हुनुपर्दछ । यस्तै, बिक्री भएको खसि/बोका वा भेडालाई न्युनतम ६ महिना पालेको हुनुपर्ने प्रावधान छ । गाउँपालिकाले पाडा/राँगाको मासुमा प्रतिकेजी २० रुपैँया अनुदान दिने पशु शाखाको कार्कीले बताए । पाडा र राँगाको अनुदान लिन कृषकले वार्षिक रुपमा न्युनतम ४०० केजी मासु उत्पादन गर्नुपर्ने प्रावधान रहेको उनले जानकारी दिए । बँगुरको मासुमा पनि पालिकाले प्रतिकेजी रु २० रुपैँया अनुदान दिने भएको छ । वार्षिक रुपमा न्युनतम १०० केजी बँगुरको मासु उत्पादन गर्ने कृषक/कृषि समूह वा सहकारीलाई मात्र अनुदान दिने पालिकाले उल्लेख गरेको छ ।

धार्चेले ब्रोइलर कुखुरामा प्रति चल्ला ७० रुपैँया र स्थानीय जातको कुखुरामा प्रतिकुखुरा १०० रुपैँया अनुदान दिने भएको छ । एक लटमा कम्तिमा १०० वटा ब्रोइलर कुखुरा पालेका कृषकहरुले मात्र अनुदान पाउने छन् । लोकल कुखुराको अनुदान लिन कृषकहरुले कम्तिमा ३० वटा कुखुरा पालेको हुनुपर्दछ । पालिकाले माछामा पनि अनुदान दिने भएको छ । माछमा प्रतिकेजी ३० रुपैँया अनुदान दिने पालिकाको पशु शाखाका हर्कबहादुर कार्कीले बताए । कम्तिमा १०० वर्गमिटर क्षेत्रफलमा माछा पालन गरेका कृषकहरुले मात्रै अनुदान पाउने बताइएको छ । मासुजन्य उत्पादनमा आधारित प्रोत्साहन रकम लिनका लागि कृषक/निजी फर्म/समुह/कृषि सहकारीहरुले यही मंसिर १२ गतेभित्र आवश्यक कागजातसहित वडा कार्यालय वा पशु सेवा शाखाका सम्पर्क गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update