Odapalika - The Fourth Estate - चौथो अंग
धार्चे गाउँपालिकाको रुन्चेत गाउँमा ४ दिनदेखि छैन बिजुली 

गोरखा - जिल्लाको उत्तरी भेगमा अवस्थित दुर्गम रुञ्चेत गाउँ बिगत तीनदिनदेखि विद्युतसेवा विहिन भएको छ । स्थानीय रुञ्चेतखोला लघु जलविद्युतमा प्राविधिक समस्या आएपछि धार्चे गाउँपालिका २ रुञ्चेतका २५२ भन्दा धेरै घरधुरीका बासिन्दा विद्युत सेवा उपभोग गर्नबाट बञ्चित भएका स्थानीय सीताराम गुरुङले जानकारी दिए ।

‘हाम्रो गाउँमा केन्द्रीय प्रशारणको विद्युत सेवा जोडिएको छैन’, उनले भने, ‘लघुजलविद्युतको जेनेरेटरमा समस्या आएकाले तीनदिनदेखि गाउँमा विद्युत अवरुद्ध भएको छ ।’ विद्युत सेवा अवरुद्ध हुँदा गाउँलेहरु अँगेनाको उज्यालोका भरमा रातसाँझ गुजार्ने गरेका उनले बताए ।

‘विजुली बाल्न थालेपछि गाउँमा टुकी बाल्न छाडियो । अहिले मट्टितेल पनि छैन । विजुली पनि छैन’, गुरुङ भन्छन्, ‘कोही व्याट्रीबाट चल्ने टर्च लाइटले काम चलाएका छन्, नत्र धेरैजसोले अँगेनुको आगोको उज्यालोमा रातसाँझको काम गर्न बाध्य छन् ।’ विशेषगरी विद्यार्थीहरुलाई पढ्नलेख्न समस्या भएको गुरुङले बताएका छन् । गाउँलेहरु मोबाइल चार्ज गर्न नपाउँदा अधिकांशको मोबाइल स्वीच अफ अबस्थामा रहेको उनको भनाइ छ ।

‘मैले त स्वास्थ्यचौकीको सोलारमा मोबाइल चार्ज गर्न पाएँ र मोबाइलले काम गरेको छ, नत्र सबैको स्वीचअफ छ’, उनले भने, ‘मिल नचलेर कोदो, मकै पिस्न पनि पाइएको छैन । विद्यार्थीहरु राती पढ्न पाएका छैनन् ।’केही दिनमा जेनेरेटर मर्मत गरेर बत्ती बाल्ने आशा उनले व्यक्त गरे । ‘प्राविधिकहरु बुटबलबाट आउँदै गरेको भन्ने सुनेको छु’, उनले भने, ‘अब केही दिनमा त कस्सो बत्ती नबल्ला र ?’

१०० किलोवाटको सो लघुजलविद्युत आयोजनाबाट उत्पादित विद्युत रुन्चेतका २५२ घरधुरीले उपभोग गर्दै आएका छन् ।
 

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  ०६:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update