Odapalika - The Fourth Estate - चौथो अंग
धार्चे गाउँपालिकाको यामगाउँमा २०० रोपनीमा व्यवसायिक किवी खेती

गोरखा- उत्तरी गोरखाको दुर्गम यामगाउँमा २०० रोपनी क्षेत्रफलमा व्यवसायिक किवी खेती गरिएको छ । धार्चे गाउँपालिका ५ यामगाउँका महेन्द्र गुरुङले आफ्नै नामको र केही आफन्त र छरछिमेकको खेर गएको जग्गा उपयोग गरी किवी खेती गरेका हुन् ।

यसबर्ष करिब ६० क्वीण्टल किवी उत्पादन भएको उनले बताए । गाउँमा उत्पादन गरेको किवी गोरखा सदरमुकाम बजारमा ल्याएर दैनिक ५० केजी किवी बिक्री गर्ने गरेको बताउँछन् । जिल्लाको उच्च पहाडी भूभागमा हावापानी सुहाउँदो भएकाले विगत केही वर्ष यता व्यवसायिक किवी खेती सुरु गरेको उनको भनाइ छ । यामगाउँ लगायत धार्चेको रुन्चेत, काशीगाउँ, लापु, गुम्दा, यामगाउँ, बारपाकसुलिकोट गाउँपालिकाको सौरपानी, बारपाक लगायतको क्षेत्रहरुमा पनि किवी खेती सुरु भएको छ ।

आफैले उत्पादन गरेको किवी आफैले गोरखा बजारमा ल्याएर बिक्री गर्न महेन्द्र गुरुङलाई यतिबेला भ्याइनभ्याइ छ । ‘२०७८ सालमा पाँच हजार बिरुवा किवी लगाएको थिएँ । दुईबर्ष भयो उत्पादन दिन थालेको’, उनले भने, ‘पोहोर २४–२५ सय केजी फलेको थियो । अलिअलि गाउँतिर बेचे, अलिअलि पोखरा पठाए । यो बर्ष ६ हजार केजी जति फलेको छ । बिक्री गर्न भ्याइ नभ्याइ छ ।’ गुरुङ आफैले गाउँबाट किवी ल्याएर गोरखा बजारमा बेच्ने गरेका छन् ।

उनी भन्छन्, ‘अलि अलि गाउँमै बेचेँ । पर्यटक हिँड्ने पदमार्गका बजारहरुमा बिक्री गरेको छु । केही पोखरा र गोरखा बजारमा लगेर बिक्री हुँदैछ ।’ आफूले प्रतिकेजी साँढे दुईसयदेखि तीनसय रुपैँयासम्ममा किवी बेचेको उनी बताउँछन् । ५० लाख लगानी गरेर व्यवसायिक किवी खेती सुरु गरेका महेन्द्र गुरुङले पहिलो वर्ष किवी बिक्री गरेबापत ५ लाख रुपैँया आम्दानी गरेका थिए । गत वर्षको तुलनामा यो वर्ष राम्रो आम्दानी हुने उनको अनुमान छ । जडिबुटी व्यवसायमा समेत आवद्ध उनको किवी फर्ममा ६ जनाले रोजगारी पाएका छन् । ‘यो सुरुवाती वर्ष हो । बिस्तारै उत्पादन बढ्दै गएपछि आम्दानी पनि राम्रै होला भन्ने आशा छ’, उनले भने ।

गुरुङले परीक्षणका रुपमा २०७२ सालमा किवी खेती गरेका थिए । परीक्षण सफल भएपछि उनले व्यवसायिक खेती पनि सुरु गरेका हुन् । किवीले राम्रो उत्पादन दिन थालेपछि बजारको भने समस्या भएको उनको गुनासो छ । उनी भन्छन्, ‘गाउँमै थन्किनुभन्दा आफै कस्सिएर बजार ल्याएर बेच्न थालेको छु । सोचेभन्दा राम्रो बिक्री भैरहेको छ ।’ यामगाउँमा प्रायः सबैले घरघरमा किवी फलाएको गुरुङको भनाइ छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  ०६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update