Odapalika - The Fourth Estate - चौथो अंग
म काठमाडौँ–४ बाट चुनाब लड्छु, गगनजी भक्तपुर–१ बाट चुनाव लडेर जित्नुहोस्ः थापा

दुर्लभ थापा २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर–२ बाट निर्वाचित सांसद हुन् । उनी नेपाली कांग्रेसको जिल्ला समिति भक्तपुरका पार्टी सभापति पनि हुन् । भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि भएको प्रतिनिधिसभा विघटन, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक तथा आगामी राजनीतिक परिदृश्यबारे थापासँग वडापालिकाको लागि शिव सत्यालले भिडियो अन्तर्वार्ता गरेका छन् । प्रस्तुत निवर्तमान सांसद थापासँग गरिएको कुराकानीको सम्पादित अंश

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा जुन लामो समयदेखि छलफल भइराछ, एकजना जिल्ला सभापतिको रूपमा यहाँले कसरी हेर्नुभएको छ ?

म पनि जिल्लाको नेतृत्व गर्छु र जिल्लालाई प्रतिनिधित्व गर्दै गर्दा केन्द्रीय समितिको जुन बैठक बसिराहेको छ, त्यसबारे पनि जानकार छु । यसमा पनि विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्नेमै चर्चा र छलफल चलिरहेको छ। नियमित महाधिवेशनको तालिका सार्वजनिक गर्नु पर्यो भन्ने कुराहरू पनि आइराछ भन्ने कुरा सुनिराछु। अहिलेसम्म जतिवटा नेतृत्व आउनुभाछ, सबै अधिवेशनबाट आएको हो। अधिवेशनबाट नै नेतृत्व आउँछ भन्ने कुरामा मलाई लाग्छ त्यहाँ। नियमित प्रक्रियामा जाने भन्ने कुरा रहन सक्छ। एउटा नेपालीमा उखान छ नि, धोबीलाई हतार भयो भने राति त घाम लाग्दैन। त्यसकारण कसैलाई नेतृत्वमा जान हतार भयो भनेर नियमित महाधिवेशन आज र भोलि नै गर्नुपर्छ भन्ने ढङ्गले त्यही विवादहरू रहिरहेको जस्तो लाग्छ। केन्द्रीय सभापतिले पनि भन्नुभाछ, कार्यवाहक सभापतिले त्यही ढङ्गले सबै साथीहरूसँग सहमति जुटाएर यसमा कांग्रेसको सबै निर्णयहरू सर्वसम्मत ढङ्गले आइरहेका कारणले मलाई लाग्छ यसको प्रक्रिया चाँडै टुंगिन्छ, टुङ्ग्याउनुपर्छ। र अहिले भर्खर हाम्रो जिल्ला कार्यसमितिको बैठकले पनि हामीले त्यही भन्यौँ। त्यसकारण के गर्ने र कसरी जाने भन्ने कुरा हामीले सुझाव दिने हो। केन्द्रीय समितिको निर्णय चाँडै भन्दा चाँडै आउनुपर्छ र आज र भोलि नै गर्नुपर्छ भन्दा पनि हामी तयारी अवस्थामा छौँ। जेएनजी आन्दोलनले उब्जाएका कुराहरूलाई सम्बोधन गरेर यो सबै कुराको नेतृत्व गर्नुपर्ने कांग्रेस, कांग्रेस भित्रका युवा नेताहरूलाई नेतृत्वमा जान हतार भयो भनेका कारणले समस्या देखिएको छ । यी युवा नेताहरूले पार्टीलाई र देशलाई समग्र रूपमा लिएर अगाडि बढ्दैनन् कि जस्तो लागेको छ। अहिले कांग्रेसमा छलफल हुनुपर्ने विषय अधिवेशनको विषय होइन। फागुन २१ गते निर्वाचन हुन सक्ने वातावरण बनाउने अथवा संसदलाई पुनर्स्थापना गरेर संसद मार्फत यी सबै कुराहरूलाई सम्बोधन गर्ने बारेमा छलफल हुनुपर्ने थियो। तर यहाँ चाहिँ के छ भने धोबीलाई अलि यो उज्यालो हुनुपर्ने, घाम लाग्नु पर्ने परिस्थिति सिर्जना भा हो कि ! 

परिपक्व नेताको आवश्यकता त्यही कारण देख्छु। युवाको भावना एउटा रहन सक्छ, युवाले सबै कुराको सम्बोधन गर्न सक्छ । तर परिपक्व नेता, जसरी राष्ट्रपतिले एउटा परिपक्व ढङ्गले कदम चलाउनु भयो, त्यही ढङ्गले चल्नुपर्ने थियो। अहिले पार्टीको अधिवेशन, विशेष महाधिवेशन होइन, अहिले पार्टी नेपाली कांग्रेसले सिंगो देशलाई नेतृत्व गरेर अहिलेको राजनीतिक संकटको निकास दिनुपर्ने परिस्थिति छ। यो बारेमा छलफल हुनुपर्ने र महामन्त्रीहरूको एजेन्डा पनि यो बारेमा हुनुपर्ने। अब उहाँहरूलाई कसले कहाँ कसले के बोलाइदियो अथवा के बोल्नुपर्ने यहाँ त कसैले कसैले रिमोट थिच्दिने बित्तिकै अनि त्यही बोल्नुपर्ने परिस्थिति सिर्जना भएको हो कि भन्ने मेरो व्यक्तिगत ठम्याइ छ।

नेपाली कांग्रेसमा नेतृत्वको अभाव देखिएको हो अहिले ?

नेतृत्व कसरी अभाव रहन्छ ? पार्टी सामूहिक नेतृत्वमा छ। पार्टी सभापति पछि उपसभापति दुई जना, महामन्त्री दुई जना छन् । त्यसपछि सहमहामन्त्री आठ जना छौँ। त्यत्रो ठुलो केन्द्रीय सदस्य छ। नेतृत्वको अभाव त होइन। नेतृत्वले जुन ढङ्गले पार्टी चलाएर हेर न त भन्दै गर्दा परिपक्वता रहेनछ कि भन्ने मलाई लाग्यो।

नेतृत्वमा व्यक्तिहरू त हुनुहुन्छ विभिन्न पदमा, केन्द्रीय कमिटीको बैठक सुरु भएको लामो समय भइसक्यो तर निकास त दिन सक्नु भएन त ?

अब लामो समय चाहिँ होइन, यो बिचमा तिहार पर्यो । पार्टीभित्र अरु आन्तरिक घटनाहरू पनि घट्यो। त्यसलाई त्यसरी लिएर जान र सहमति जुटाउन केही समय पनि लाग्छ। त्यसकारण यो लामो समय नभनिकन पार्टी भित्रका आज भोलि र पर्सिसम्म एउटा निर्णय आउँछ। यो पार्टी आन्तरिक कुरा हो। नेपाली कांग्रेसले पार्टी मात्रै हेर्ने होइन त। नेपाली कांग्रेसले समग्र मुलुक हेर्नुपर्यो। राष्ट्रियता, लोकतन्त्र, समाजवाद र अहिलेको पछिल्लो पटकको जीएनजी पुस्ताले उठाएका भावनाको सम्बोधन गरेर अगाडि बढ्नुपर्ने, अहिले पार्टी भित्रै रुमलिएको अवस्था छ। त्यसमा पनि विशेष गरेर मेरो त सिधै कुरा, युवा नेताहरू कहाँ रुमलिनु भएको छ ? उहाँहरूलाई नेतृत्वमा आउन हतारै छ भन्दै गर्दा उहाँहरू नेतृत्वमा आउनुभयो भने पार्टी र देश मुलुक चाहिँ राम्रो ढङ्गले चल्ला जस्तो मलाई लाग्दैन।

गगन थापाबाट चल्दैन ?

गगन थापा मात्रै होइन, यो पार्टी भित्र हामी पनि छौँ नि। म पनि त्यतिकै लागेको हो बुझ्नु भएन ? तपाईँहरूलाई लाग्छ यो तपाईँहरूको मिडिया, यो फेसबुकमा, अनि यो फेक आइडी वाला, विश्व प्रकाश, गगन समूह, दुर्लभ थापा, जितजंग समूह, अनि महेश बस्नेत समूह यो के के के छ नि, बालेन समूह । यो ढङ्गले पार्टी र देश चल्छ भन्ठान्नु भाछ तपाईँहरूले ? म ग्यारेन्टीका साथ भन्छु गगन थापाबाट पार्टी चल्छ र हुन्छ भने उहाँकै फेसले पार्टी चल्छ भने मैले भक्तपुरको क्षेत्र नम्बर १ मा, जहाँ नारायणमान बिजुक्छेको वर्चस्व छ, त्यहाँ आएर चुनाव लड्नु, उहाँले जित्नु हुन्छ त ? म उहाँहरूलाई आमन्त्रण गर्छु भक्तपुरमा। मेरै क्षेत्रमा आएर चुनाव लडे पनि भयो । केन्द्रीय नेतृत्व पनि कहीँ गएर चुनाव लड्न नसक्ने परिस्थिति छ। त्यसकारण कोबाट चल्छ होइन, कांग्रेस नीतिले चल्ने हो। नेतृत्वले चल्ने हो। उमेरले चल्ने होइन। यहाँ पहिला पहिला हामी यो जर्मनी बस भन्थ्यौँ, एकदम ५० वर्ष पुरानो बस थिए । ती बसलाई अहिलेका नयाँ गाडीले जित्थेन। अहिले त २० वर्षको कारण विस्थापित भयो। त्यो जर्मनी मर्सिडिज मिनिबसहरू आउँथ्यो, त्यो २० वर्ष पुरानो गाडी यहाँ चल्थ्यो। हामीले त्यही चढ्यौँ। त्यसले नि चल्थ्यो। त्यसले दिने सुविधा र अहिले दिने नयाँ गाडीका सुविधालाई त्यसले नै जित्थ्यो। त्यसकारण यो उमेर र समूहले होइन, नीतिले चल्ने हो त पार्टी। विचारले चल्ने हो। सिद्धान्तले चल्ने हो।

नेपाली कांग्रेस जस्तो पार्टी जसले चाहिँ हरेक राजनीतिक परिवर्तनको नेतृत्व गरेको छ, आज नेपाली कांग्रेस कता कता अलमलिएको जस्तो लाग्छ । यस्तो परिस्थिति कसरी आयो ?

नेपाली कांग्रेस अलमलिएको छैन। नेपाली कांग्रेसभित्र केही नेतृत्व तहमा पुग्न चाहने साथीहरू अलमलिएको हो। म भ्रममा नपर्न साथीहरूलाई अनुरोध गर्न चाहन्छु। कांग्रेस कहिले पनि अलमलिएको छैन। तर कांग्रेसले अहिले एउटा दिशानिर्देश गर्नुपर्ने परिस्थिति थियो, दिशानिर्देश गर्न सक्नुभएन, म त्यसैमा साथीहरूप्रति चित्त दुखाएको छु।

कस्तो हुनुपर्थ्यो, के गरी जानुपर्थ्यो अगाडि नेपाली कांग्रेस ?

मैले अघि भने नि, जीएनजी आन्दोलन हाम्रो कल्पनाभन्दा बाहिरको आन्दोलन हो। आन्दोलनभित्रका रहस्यहरू विस्तारै खुल्दै जालान्, तपाईहरुले पनि खोतल्नु होला । अहिले यो आन्दोलनपछि समग्र मुलुक, लोकतान्त्रिक गणतन्त्रलाई समग्र सम्बोधन गरेर जानुपर्ने परिस्थितिमा अहिले अधिवेशन र विशेष महाधिवेशनमै अलमलिन थालिसकेपछि कांग्रेसको परिस्थिति राम्रो हुँदैन । कांग्रेसमा नेतृत्व पाउने साथीले कसरी मुलुकलाई ड्राइभ गरेर जान सकिन्छ । अझ भावी प्रधानमन्त्री पनि बनाइदिनुपर्ने रे, अनि पार्टी सभापति पनि बनाइदिनुपर्ने, यस्ता नेतृत्व पार्टीमा आयो भने यो पार्टी कसरी अगाडि बढ्छ म आफै अचम्मित छु।

नेपाली कांग्रेस विधि र नीतिमा कहिले छलफल गर्छ ? जब कि अहिलेसम्म महाधिवेशनको मितिमा मात्रै केन्द्रीत छ ?

नेपाली कांग्रेस सधैँ विधि नीतिको छलफलमै छ। केही साथीहरूको व्यक्तिगत स्वार्थको कारणले अलमलिरहनु भाछ। कांग्रेस त नीतिमै त चलिराछ। नेपाली कांग्रेसको कहिल्यै महाधिवेशन नभएको छ ? सधै भएको छ । हामी चौधौँ महाधिवेशनसम्म आउँदै गर्दा पार्टीको अधिवेशन मार्फत नै आएको हो। त्यसकारणले आज गर्ने, अहिले गरिहाल्नु पर्ने, अहिले गरिहाल्नु पर्ने, खाइहाल्नु पर्ने भनेर यो बालहठ भन्छ नि, यो बालहठ जस्तो लाग्या छ। पार्टीको अधिवेशन नगरीकन सुखै छैन। दुई महिना ढिला होला, दुई महिना चाँडो होला। अनि कसको अनुहार लिएर कांग्रेस पार्टीले नेतृत्वमा जित्छ ? कसै कोही साथीहरू भ्रममा हुनुहुन्छ। प्रधानमन्त्री पनि घोषणा गर्दिनु। अनि निर्वाचन हार्यो भने के होला ? कृष्ण प्साद भट्टराई, किसुन जीलाई भावी प्रधानमन्त्रीको रूपमा उठाएर २०५६ सालमा हामीले ११४ सिट प्राप्त गर्दै गर्दा किसुनजीले ६ महिना चलाउन पाउनु भएन सरकार। यो पार्टी हो। यो पार्टीभित्रका आन्तरिक कुरा, साथीहरू डलरमा चल्या हो कि ? युरोमा चल्या हो कि ? आईसीमा चल्या हो कि ? के मा चलिराछन् ? अब साथीहरूको डलर, आईसी र युरोमा चलिरहनु भाछ, अनि कांग्रेस पार्टी अनि हामीले भने अनुसार कार्यकर्ताले भने अनुसार चल्दैन जस्तो लाग्छ। यो डलर, युरो र यो आईसीवाला साथीहरू एक ठाउँमा बस्नुस्, छलफल गर्नुस्। हामी नेपाली रुपैयाँमा अगाडि बढ्छौँ भनेर जुन दिन अगाडि बढ्छौँ नि, कांग्रेस पार्टीका नेतृत्वमा आउन चाहने साथीहरूले यो बारेमा छलफल र सहमति गर्नुभयो भने कांग्रेस पार्टीभित्र हामी जस्तो कार्यकर्ताले निकास निकाल्न सक्ने वातावरण हुन्छ।

डलर, युरो र आईसीको अलिकति प्रष्ट पार्दिनु न।

अब डलर भनेको अमेरिकन डलर, तपाईँ बुझिहाल्नु हुन्छ। डलर के डलर थाहा छैन तपाईँलाई ? आईसी भनेको भारतीय रुपैयाँ तपाईँ बुझिहाल्नु हुन्छ। युरो भनेको बुझिहाल्नु हुन्छ, युरोपियन युनियनको पैसा।

नेपाली कांग्रेसको केन्द्रीय समितिमा पनि डलर, युरो, आइसीवाला साथीहरु छन् भन्न खोज्नु भएको हो ?

कांग्रेसभित्रको भनिनँ, साथीहरू भनेँ। सबै पार्टीभित्र यस्ता खालका प्रवृत्तिहरू छन्। यो डलर, युरो र आईसीभित्र हुन्छ, जुन सबै पार्टीभित्र यही डलर, युरो र आईसीको चलखेल हो कि जस्तो मलाई लाग्या। म पनि एउटा राजनीति गर्ने व्यक्ति भएको हुनाले, राजनीतिमा छु, निरन्तर रूपमा छु। म यो डलर, युरो, आईसी त्यता जाँदा मात्रै चलाउने हो। यहाँ चाहिँ नेपाली रुपैयाँ नै चलाउँछौँ। त्यसकारण यो कतै त्यसले काम गर्या हो कि ? त्यहाँ थिच्ने बित्तिकै साथीहरू उ हो कि, त्यो पैसा गन्ने मेसिन हुन्छ नि, पैसा हाल्ने बित्तिकै गन्छ नि, त्यही हो कि जस्तो नि लाग्छ। म चाहिँ भ्रममा छु है।

तपाईँले हामीसँग यो अन्तरवार्ताको क्रममा धेरै चोटी जेनजी आन्दोलनको प्रसङ्ग उठाउनु भयो। तपाईँ आफै रुपनारायण श्रेष्ठ जस्ता एक खालको के भन्ने त्यो अराजकता सहितको राजनीति गरेका व्यक्तिहरूको समकक्षी भएर मीनभवन क्याम्पसबाट, नेविसंघको राजनीति गरेर आउनुभएको हो। यो जेएनजी आन्दोलनलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

हैन हैन, रुपनारायणजी मेरो अत्यन्त निकट मित्र नै हुनुहुन्थ्यो। अब चुनावको बेलामा अनेक घटना, भोलि पनि घटना घट्न सक्छन् निर्वाचनको सिलसिलामा। निर्वाचनमा गइसकेपछि निर्वाचन जित्नु पर्ने हुन्छ। त्यो घटना हो। रुपनारायणजी मेरो अत्यन्त निकट मित्र हुनुहुन्छ, अहिले पनि मलाई माया गर्नुहुन्छ। म पनि उहाँलाई माया गर्छु। त्यो निर्वाचनको प्रक्रिया अन्तर्गत हो। भोलि यहाँ चुनाव छ । हिजो पनि महेशजी (एमाले उम्मेदवार महेश बस्नेत) र म चुनाव लड्यौं । अहिले महेशजी एमालेमा आफ्नो खालको तरिकाले लाग्नु भाछ। म आफ्नै तरिकाले लागिराछु। यो राजनीतिक प्रक्रिया हो। त्यसकारण त्यो अराजक नभनिहालौँ, त्यो निर्वाचन, म पनि अराजकमै पर्न सकिन्छ केही छैन, त्यो निर्वाचनको प्रक्रिया अन्तर्गत हो। यो जेएनजी आन्दोलन, जेएनजी पुस्ताले उठाएको कुरा जायज छ। अब यो बुँदागत रुपमा मैले भनेँ, सबैलाई थाहा, जानकारी छँदैछ। जीएनजी आन्दोलनले उठाएका कुराहरू हामीले सम्बोधन गर्नुपर्छ नेतृत्वमा रहेर। सायद जेएनजी पुस्ताका पनि अब नेतृत्वमा आउने हुन्छ। यो सम्बोधन गर्न सक्ने परिस्थिति छ कि छैन ? अस्ति किशोरजीले नि भन्दै हुनुहुन्थ्यो, जेएनजी आन्दोलन आउने, हातमा मोबाइल, त्यो पनि आइफोन, अहिले २ लाख जति पर्छ जस्तो लाग्छ। त्यो आइफोन लगभग नेपालीको हैसियतभित्र पर्दैन। त्यसकारण यो सबै कुरा घरैबाट सुरुवात गर्ने हो कि, आफैबाट सुरुवात गर्ने हो कि भन्ने छ। 

durlav-thapa-1-1763723809.jpg
जीएनजी पुस्ताको आन्दोलन, मेरो घरमा पनि जीएनजी छन्। वरिपरि पनि छन्। जीएनजी भनेको त यो कुनै पार्टी हैन, एउटा पुस्ता हो। यो पुस्ताले उठाएका जायज कुरा, सामाजिक सञ्जाल मार्फत मात्र उठाएको छ। नत्र बिपी कोइरालाको घर जल्नु पर्ने परिस्थिति, कृष्ण प्रसाद कोइरालाको घर जल्नु पर्ने परिस्थिति थिएन। गणेशमानजीको घर, निवास जल्नु पर्ने परिस्थिति थिएन। जीएनजी पुस्ताले उहाँहरूलाई नै बिर्सिनु भयो र बाँकी जीएनजी पुस्ताले हामी मात्रै हो भन्ने ठान्नुभयो । हामीले पढाउन सकेनौँ, हामीले गराउन सकेनौँ, हामीले त सकेनौँ सकेनौँ। यहाँ युवा नेतृत्व गर्न आउन सक्ने साथीहरूले नि नसक्नु भा रहेनछ नि त। त्यसकारण जीएनजी पुस्ताले उठाएको जुन भ्रष्टाचार र सामाजिक सञ्जाल माथिको प्रतिबन्ध छ, त्यो हाम्रोतर्फबाट भएको गल्ती हो। भ्रष्टाचार त संसारमा काहीँबाट काहीँ कतै कुनै देशबाट निर्मूल छ भने भन्नुहोला। अमेरिकामा पनि भ्रष्टाचार छँदैछ, कोरियामा अस्ति भर्खर राष्ट्रपतिको सुन्नु भएन। तर यसलाई न्यूनीकरण गर्नुपर्छ । न्यूनीकरण कहाँबाट सुरु गर्ने भन्ने हो । म अहिले भक्तपुरको नेतृत्वमा छु। बिहान देखिनै मैले गर्नुपर्ने काम भनेको नहुने कामहरू हुन् । हुने काम नियमित प्रक्रिया त हुन्छ। नहुने कामहरू गर्नुपर्यो। त्यसको लागि दबाब आउँछ । सरुवा गर्नु पर्यो, बढुवा गर्नु पर्यो, पुलिसले मान्छे समात्दा छुट्नु पर्यो, यो गर्नुपर्यो, त्यो गर्नुपर्यो। लाइसेन्स छैन मोटरसाइकल छुटाइदिनु पर्यो। हामी बिहान गैरकानुनी क्रियाकलापबाट अगाडि बढ्नु पर्ने परिस्थिति छ। यो सबै यही पुस्ताबाट। युवा पुस्ता, ह्वाइँय मोटरसाइकल ठुलो साउन्डमा ल्याइदिन्छन्, ट्राफिकले समात्छ, अनि त्यहीँ मकहाँ आइपुग्छ– अंकल यो गर्नु पर्यो भनेर। यस्तो गर्नुपर्ने भएपछि भ्रष्टाचार कसरी नियन्त्रण हुन्छ । जीएनजी पुस्ताबाट नै सच्चिनु पर्यो ।

जीएनजी पुस्ता पनि सच्चिनु पर्ने परिस्थिति छ, होलान् जस्तो लाग्छ मलाई। अब भनेको बाइक किन्दिनु पर्ने, भनेको कलेज पढ्नुपर्ने, अमेरिका जानै पर्ने, घर खेत बन्धकी राखेर विदेश जानै पर्ने परिस्थिति छ। तर काम गरेर खाने पुस्ता पनि होस्। समग्र मुलुकको, अब हामी पनि कुनै बेलामा जीएनजी पुस्ता त भन्दिनँ, कुनै बेलामा यही उमेरका, उमेर भित्रका थियौँ। अघि मीनभवन क्याम्पसको पनि कुरा उठाउनु भयो। त्यो पुस्तामा हामी पनि थियौँ। हामी घरको काम पनि गर्थ्यौँ। धान पनि रोप्थ्यौँ, खेत पनि खन्थ्यौँ, गहुँ पनि चुट्थ्यौँ, मकै छर्थ्यौँ, मकै भटमास खाएर खाजा खाने हामी पनि थियौँ त्यो उमेर समूहमा। सायद त्यो बेलाको यो सामाजिक सञ्जालदेखि इन्टरनेटको व्यवस्था थिएन होला। हामी त एउटा पुरानो साइकल, थोत्रो साइकल कैँची मारेर चढ्दै गर्दा, त्यो बेला हामीलाई गौरव महसुस हुन्थ्यो, साइकल चढ्दै गर्दा। अहिले मेरै घरमा अथवा अरुकै जीएनजी पुस्ताको घरमा गाडी छ, बाइक छ, सारा कुरा छ, ब्रान्डेड लुगा लाछ। तैपनि सन्तुष्ट हुन नसक्ने परिस्थिति छैन। हामीले हिजोको दुस्खहरू यो नयाँ पुस्तालाई सिकाएनौँ कि, भनेनौँ कि१ किसुनजीको बारेमा भनेनौँ कि, गणेशमानजीको बारेमा भनेनौँ कि, बिपीको बारेमा सम्झाउन सकेनौँ कि, अथवा पुष्पलालको बारेमा भन्न सकेनौँ कि, मनमोहनको बारेमा भन्न सकेनौँ कि । यी विगतमा हजुरबुवाहरू यस्तो हुनुहुन्थ्यो भनेर सिकाउन सकेनौँ कि, भन्न सकेनौँ कि, यो हाम्रो पनि गल्ती हो। अहिले हामी के गर्न थाल्यौँ भने म मात्रै हो, मैले मात्रै नेतृत्व गर्न सक्छु। अरु बाँकी हिजोको विगतका कुराहरू चाहिँ हामीले बिर्सियौँ कि जस्तो लाग्छ। म जीएनजी पुस्तालाई हजुरबुवालाई नि सम्झिनु पर्यो, बुवालाई नि सम्झिनु पर्यो, अनि आफूलाई पनि सम्झिनु पर्यो, आफूपछिको भाइबहिनीहरूलाई नि सम्झिनु पर्यो भनेर म उहाँहरूलाई अनुरोध गर्न चाहन्छु। जीएनजी पुस्ताले उठाएका कुराहरूलाई अब पार्टीभित्र व्यापक रूपमा छलफल गरेर अगाडि बढ्ने। जीएनजीको भावना अनुसार पार्टी चलाउने हो भने बिपी कोइरालालाई बिर्सिनु पर्यो। यसरी त हुँदैन होला । कांग्रेसले राष्ट्रियता, लोकतन्त्र, समाजवाद बिर्सिने ? अनि लोकतान्त्रिक गणतन्त्रलाई बिर्सिने ? यी सबै कुरा छ। म जीएनजीका भाइबहिनीहरूलाई गणेशमान पढ्नलाई, किसुनजी पढ्नलाई, बिपी पढ्नलाई, पुष्पलाल अनि मनमोहनसम्मलाई पढ्नको लागि अनुरोध गर्न चाहन्छु। जसले हामीलाई राजनीतिक अधिकार, राजनीतिक नागरिक अधिकारको लागि यो अवस्थासम्म ल्याइदिन भूमिका खेल्नुभयो। 

तपाईँले कसरी विश्लेषण गनुर्भकाएको छ, किन उठ्यो भदौ २३ र २४ गते जेनजी आन्दोलन ?

अब यो नेपालमा मात्रै होइन, विश्वभर उठिरहेको आन्दोलन छ। यसको बारेमा अलि डाइग्नोसिस, अलि गहिरै ढङ्गले गर्नुपर्ने हुन्छ। एमआरआई गरेर पुग्ला जस्तो लाग्दैन मलाई। एमआरआईभन्दा पनि अझ थप ढङ्गले डाइग्नोसिस गर्नुपर्ने हुन्छ। अब यो बारेमा मैले फ्याट्टै बोल्दा, म त्यति ठुलो राजनीतिक विश्लेषक पनि होइन। जुन देशले कल्पना नगरेको दुर्घटना घट्यो। जीएनजी पुस्ताले नचाहेको कुराहरू पनि घट्यो। अब यसभित्र विभिन्न राजनीतिक रङहरू रहन सक्छ। अब यसको डाइग्नोसिस त रहला, इतिहासले केलाउला। अब तपाईँहरू जस्तो पत्रकार हुनुहुन्छ, तपाईँहरूले केलाएर यो ठ्याक्कै यही परिस्थिति रह्यो भनेर भन्नुहोला। अहिले विश्वभर उर्लिरहेको छ यो जीएनजी पुस्ताको आन्दोलन। सजिलो पनि छ जस्तो लाग्छ मलाई। इन्टरनेटभित्र हाल्यो, कसैको प्रमाण चाहेन। फलानो भ्रष्टाचारी भन्दियो, फलानोले देश बिगार्यो, फलानो पार्टी खत्तम, नयाँ पार्टी हेर, पुरानो पार्टीले देश बिगार्यो भनेर। म स्कुल पढ्ने बेलामा, यो आकाशे रङको सर्ट अनि निलो पाइन्ट, मामाघर जाने लुगा पनि त्यही हो, ९ससुराली जाने लुगा पनि त्यही हो, स्कुल लागि जाने लुगा पनि त्यही हो, घर बस्ने लुगा पनि त्यही हो, अनि गोठालो जान लाउने लुगा पनि त्यही हो मेरो। चप्पल लगाउन पाइदैनथ्यो । अहिले चप्पल गाउन छाडियो । लगाएपनि ब्रान्डेड चप्पल, जसको मूल्य ३ हजार पर्छ जस्तो लाग्छ मलाई । धेरै जीएनजी यस्तो लगाउँछन् । यो परिस्थितिमा पुर्याएको त हामीले नै होला नि त, कांग्रेस, अथवा एमाले, अरु राजनीतिक दलले नै पुर्याएको होला। अनि पुराना राजनीतिक दलले गर्दिनु पर्ने चाहिँ के हो ? राजनीतिक दलभित्र विकृति र विसंगति नभएका होइनन् । त्यसको न्यूनीकरण गर्नुपर्छ । पछिल्लो पटक मधेश प्रदेशको सरकार हेर्नुस् न, यस्तो परिस्थितिमा पनि हो त ? यस्तो परिस्थितिमा पनि सच्चिन हामी तयार छैनौँ। हामी गल्ती माथि गल्ती दोहोर्याउँदै छौँ। यी खालका गल्तीहरू नदोहोर्याउनको लागि म राजनीतिक नेतृत्वलाई हार्दिक अनुरोध गर्न चाहन्छु। र विशेष गरेर म जीएनजी पुस्तालाई हजुरबुवा पनि सम्झिनु पर्यो, बुवा पनि सम्झिनु पर्यो, आफू मात्रै होइन, आफू पछिको पुस्ताहरूले पनि सम्झेर अगाडि बढ्नु पर्ने हुन्छ। 

अस्ति महावीर पुनले भन्नुभयो नि, अब आफै चुनाव लड्ने, गाउँ जाने, भोट जित्ने, अनि आफ्नो माग आफै सम्बोधन गर्ने भनेर । त्यही कुरा कांग्रेसका कुनै ठुलो नेता अथवा मैले नै भन्दिए भने फेसबुकको पेजभरि सबैभन्दा बढी गाली खाइन्छ। कुरो त सहि हो नि। हुने बाटो त्यही नै हो। हिजो महावीर पुन पनि के के न गर्छु भन्नुहुन्थ्यो। मन्त्रालयमा बसेर ढिँडो पकाएर खाएर मन्त्रालयमा सुत्छु भन्ने हो कि मन्त्रीले मन्त्रीस्तरीय काम गर्ने हो ? यो अलमलमा छ। सामाजिक सञ्जालमा यस्तै कुराहरूले सम्बोधन भएर यस्तो आएको छ । अनि कसरी मुलुक चाहिँ अगाडि बढ्छ मैले नबुझेको कुरा है। 

तपाईँलाई कहिलेकाहीँ लाग्छ कि लाग्दैन, अहिलेको चेतना, नागरिकको चेतनास्तर र पुराना भनेका कांग्रेस, एमाले, माओवादी जस्ता पार्टीहरूको चेतना स्तर अलिकति पछाडि परेको हो जस्तो लाग्छ ? 

हैन हैन, हामी पनि पछाडि छैनौं । सबै कुराहरू हाम्रो पहुँच भित्र त रहँदैन नि। त्यसकारणले अगाडि र पछाडि पर्ने भनेको टेक्नोलोजीले, अहिले त प्रविधिको युग छ। टेक्नोलोजी अगाडि र पछाडि। अहिले सबैभन्दा बढी फेक आइडी जसले बनाउन सक्यो, सबैभन्दा बढी फेसबुकमा जसले पोस्ट गर्न सक्यो, सबैभन्दा बढी कमेन्ट जसले लेख्न सक्यो, त्यही नै ठुलो भइरहेको परिस्थिति छ । यो प्रविधिले बनाएको हो। अब हामी त्यो प्रविधि मार्फत गएर देश त बन्दैन जस्तो लाग्छ मलाई। अब दुई चार हजार फेक आइडी त बनाउन सक्ने क्यापासिटी त म आफै पनि राखिहाल्छु। दुई चार ओटा लाइक कमेन्ट, अरुलाई गाली गर्ने, नेतालाई गाली गर्ने, हिजो त्यही नेताको दौरा समातेर नेतृत्वमा आउने, अनि त्यही नेतालाई भोलि नेतृत्वमा आउने बित्तिकै गाली गर्ने। यो त हाम्रो संस्कारभित्र पर्ला जस्तो मलाई लाग्दैन। त्यसकारण हामीले बुझाउनु पर्ने कुरा के छ भने सामाजिक सञ्जाल चलाएर जस्तो मुलुक चलाउन सजिलो छैन।

अब देश कता जान्छ ? चुनाव भएन भने के हुन्छ ?

देश त कता जान्छ ? देश जहाँका तहीँ रहन सक्छ। यसमा कसको बढी प्रभाव पर्ने भन्ने कुरा हो। हामीले, हाम्रो भौगोलिक कारणले पनि, हाम्रो यो सबै कारणले पनि के छ भने हामी ब्यालेन्समा बस्नु पर्ने परिस्थिति छ राष्ट्रियताको मुद्दामा। र राष्ट्रियता, सबै राजनीतिक दलको राष्ट्रियताको बारेमा एउटा साझा मुद्दा हुनुपर्छ। कांग्रेसको एउटा खालको मुद्दा, एमालेको एउटा खालको मुद्दा, माओवादीको एउटा खालको मुद्दा, जीएनजीको एउटा खालको मुद्दा, अनि अरु अहिले फेरि के के पार्टीको बेग्लै मुद्दा । राष्ट्रियताको बारेमा पनि मुद्दा फरक फरक हुन्छ ? राष्ट्रियता त एउटै हो नि। त्यसकारणले राष्ट्रियताको बारेमा सबै राजनीतिक दलको एउटा मुद्दा हुनुपर्यो। र देश जहाँ छ त्यहीँ राख्नु पर्यो। त्यो राख्नको लागि राष्ट्रिय सहमति कायम गर्नुपर्ने हुन्छ। राष्ट्रिय सहमति कायम गर्नको लागि कांग्रेस यसको नेतृत्वले, कांग्रेसको केन्द्रीय समितिको बैठकले आफ्नो अधिवेशन लगायत आन्तरिक कुरा लगायत राष्ट्रिय मुद्दाको बारेमा पनि सम्बोधन गर्नुपर्छ। कांग्रेसले जुन दिन सम्बोधन गर्छ, राष्ट्र मुलुक त्यही ढङ्गले अगाडि बढ्छ।

अलिकति फरक विषयमा कुरा गरौँ। अहिले संघीयता, खास गरी प्रदेशको विषयमा प्रश्नहरू उठाइएको छ विभिन्न ठाउँबाट। तपाईँलाई व्यक्तिगत रूपमा र पार्टीको एउटा तह जिल्लाको नेतृत्व गरिराख्नु भएको, लामो राजनीतिक पृष्ठभूमि पनि हुनुभएको, त्यो हिसाबले हेर्दाखेरि यो प्रदेश बढी भएको हो ?

अब त्यसरी नभनौँ। यो संविधान हामी सबैको सहमतिमा आएको संविधान हो। अब संविधानमा हाम्रो पनि सहभागिता रहेका कारणले अब यो प्रदेशको बारेमा मुद्दा नउठाउँ। अब प्रदेशको बारेमा प्रश्न उठिरहेको हो भने संसद पुनर्स्थापना गरौँ, संसदमा छलफल गरौँ, प्रदेश खारेज गर्ने हो भने प्रदेश खारेज गरौँ। र प्रदेशलाई अधिकार दिने हो भने प्रदेशको अधिकार सुनिश्चित पनि गर्नु पर्यो। संविधानमा त लेखिएकै छ प्रदेशले के के काम गर्ने भनेर। र प्रदेशले पनि काहीँ कतै आफ्नो अधिकार नखोजेको हो कि ? प्रदेशका नेताहरूले, प्रदेशले पनि त आफ्नो आन्तरिक संरचनाहरू तयार गर्न सक्छ। प्रदेश प्रहरी लगायतका, प्रदेशको सुरक्षा लगायत, प्रदेशभित्रका उद्योग कलकारखानादेखि प्रदेशका नीति निर्माण गर्ने काम त प्रदेश सरकारलाई त्यो संविधानले निर्दिष्ट गरेको काम पनि भइरहेको छैन। प्रदेशहरू पनि काहीँ नेतामुखी भइरहेका छन् । नेताले के भन्छन्, पार्टीले के भन्छ, त्यही ढङ्गले प्रदेशको सरकार चलेका छन् । प्रदेशलाई बदनाम गर्ने काम हामी आफैले पनि गरिराछौँ। संविधानले ग्यारेन्टी गरेका कुराहरू नेताको मुख ताक्नु भएन। प्रदेश सभाले आफैले निर्णय गर्न सक्छ। प्रदेशका नीति निर्माण लगायत उद्योग धन्दा, कलकारखाना, रोजगारीको बारेमा। प्रदेशले आफूलाई संविधानले ग्यारेन्टी गरेका कुराहरू, संविधानले दिएका अधिकारहरूलाई पनि सुनिश्चित गरेर अगाडि बढ्नु पर्छ, कानुन बनाउनु पर्छ।

प्रदेशलाई नै परनिर्भर बनाउने प्रयास कहाँबाट भयो भने, मेरो अनुमानमा, ललितपुरको भैँसेपाटीमा प्रदेश मुख्यमन्त्रीहरूको लागि भवन बनाइयो। यो विकृति हैन ? यस्ता कार्यले प्रदेश संरचना बलियो बन्छ र ?

हैन हैन, त्यो त तपाईँले दिल्लीमा पनि हेर्नु भए हुन्छ । दिल्लीमा पनि प्रदेशका मुख्यमन्त्रीहरूको निवासहरू बनेका छन् । त्यही अवधारणा अनुसार बनेको हो । अब कमसेकम यहाँ आउँदै गर्दा प्रदेश प्रमुखहरू, प्रदेशका मुख्यमन्त्रीहरू बस्ने निवास बनाइया हो । सबै कुरा नकारात्मक रूपमा मात्र नलिऊँ। 

तपाईँ यतिन्जेल यो क्षेत्रबाट जनप्रतिनिधि सांसद हुनुभयो। नीति निर्माणको तहमा भूमिका खेल्नु भयो। व्यक्तिगत रूपमा तपाईँको मूल्याङ्कन के छ, जनअपेक्षा अनुसार मैले काम गर्न सकेँ सांसद भएर ?

हैन, अब यही मैले नबुझेको, म तपाईँसँगै सोध्छु। अब सांसदको गतिविधि र क्रियाकलाप के हो ? प्रतिनिधि सभाको सदस्यले गर्नुपर्ने कुरा के हो ? हिजोसम्म प्रदेश, स्थानीय तह थिएन, प्रतिनिधि सभाको सदस्यमार्फत विकास निर्माण गरौँ भनेर केही करोड रुपैयाँ छुटाइएको थियो। मेरो पालामा आउँदै गर्दा पनि ५ करोड छुटाइएको थियो। अब त्यो ५ करोडभित्र कसरी काम हुन्छ त्यो पनि मलाई जानकारी छ। तर अब एउटा संघीय माननीयको काम कर्तव्य र अधिकार के हो ? त्यसकारण मैले मेरो भूमिकाको बारेमा नजिकबाट नियालेछु। र ठुलो स्वर गरेर, बोल्दै गर्दा, आफूले बोलेको कुराहरू भोलि कार्यान्वयन नआउँदै गर्दा अप्ठ्यारोमा पर्न सक्छ। मेरो चुनावी घोषणापत्रमा छ। म धेरै बोल्दिनँ। मेरो पालामा पनि धेरै बाटाघाटाहरू निर्माण भएका छन्, सम्पन्न भएका छन्। पुल पुलेसहरू बनेका छन्। म काहीँ उद्घाटन र शिलान्यास गर्न जान्नँ। अहिलेको नेतृत्वलाई के छ भने सबै मैले बनाए भन्छ। अहिलेको आवश्यकता भक्तपुरको के आवश्यकता हो ? त्यसलाई सम्बोधन गर्नुपर्ने हुन्छ। कुन प्लानिङमा गएर, कुन कसले प्लानिङ गरेको जग्गामा लगेर बाटो हाल्दिने ? एउटा प्रायोरिटी हुन सक्छ। अहिलेको भक्तपुरको जल्दोबल्दो समस्या भनेको सूर्यविनायकदेखि साँगासम्मको सडकलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्ने। त्यसले लाखौँ मान्छेहरूलाई सुविधा दिन्छ। म अहिले काहीँ बाटोघाटो बनाउँदै गर्दा वडा अध्यक्षलाई गएर हेर्नु भन्छु । कुन पार्टीको छ म भन्दिनँ। मैले आफ्नो पहलमा काहीँ कतै बजेट विनियोजन गर्दिए भने पनि भन्छु, ए वडा अध्यक्षज्यू, तपाईँ मार्फत काम हो। तपाईँ मार्फत काम भयो भने बढीभन्दा बढी काम हुन सक्छ। त्यसकारण तपाईँहरूले निरीक्षण गर्नुस्, हेर्नुस्। अब म माननीयले के को सडक निरीक्षण गर्ने ? म इन्जिनियर हो र निरीक्षण गर्ने ? प्राविधिक हो र ? यहाँ त के छ भने माननीय भइसक्यो सबै प्राविधिक। सबै कुरा जान्ने। इन्जिनियर पनि माननीय, डाक्टर पनि माननीय, पशु विज्ञ पनि माननीय, मानसिक रोगीविज्ञ पनि माननीय, सबै माननीय भन्ने खालको छ। त्यो भाष्य सिर्जना भयो विगतमा। म चाहिँ त्यो पक्षमा छैन। माननीयको आफ्नो केही सीमित सिमाहरू छन्। छ, त्यो सिमा भित्र रहेर काम गर्नुपर्छ। र सबै कुराहरू स्थानीय तह मार्फत गर्नुपर्छ। 

यहाँ त नेताहरू आफ्नो निर्वाचन क्षेत्रमा लगेर सबै बजेट हालेर कर्णालीका, अब काभ्रेका दूरदराजका बजेट काटेर अनि म चाहिँ निर्वाचन जित्ने, सधैँ निर्वाचनलाई व्यवसाय धन्दा बनाउन खोज्ने प्रवृत्ति छ। अब यो पाली म यहाँ हैन, म काठमाडौँ ४ नम्बर क्षेत्रमा लड्ने, गगनजीलाई भक्तपुर क्षेत्र नम्बर १ मा ल्याएर लडाउने, अनि त्यो गुरुजीलाई लगेर रुकुम पश्चिममा लगेर लडाउने, विश्वलाई लगेर रुकुम पूर्वमा लडाउने, शेरबहादुर दाइको ठाउँमा लगेर अर्कोलाई लडाइदिऊँ, अनि निर्वाचन जित्छन्, अनि नेता भनेर हामी मानौँला। आफ्नो क्षेत्रमा खुम्चिने पनि काहीँ प्रतिनिधि सभाको सदस्य हुन्छ ? अनि कसको अनुहारले कहाँ जितिन्छ ? हामीले जिम्मा लाएको हैन, इलाम, चितवन, अनि तनहुँमा ? जिम्मा लाएको हैन ? युवा नेताकै नेतृत्वमा, अनुहारले त चुनाव नजितिने रहेछ त। त्यसकारण यो भ्रम सिर्जना गरेर कति दिन, कहाँसम्म पुग्न सकिन्छ ? त्यसकारण मैले भनेँ, प्रतिनिधि सभाको काम, कर्तव्य र अधिकार विधान, संविधानमै उल्लेख गरेको छ। त्यो हेर्नको लागि, र चुनावमा झुटा आश्वास, चुनावमा जित्नको लागि यो बाटो पनि बनाइदिन्छु, त्यहाँ बाटो नभाको ठाउँ खोलिदिन्छु, पानी ल्याइदिन्छु भनेर हुँदैन । चुनावमा जे नि गर्दिन्छौँ भनेर, चुनाव पछि केही हुनेवाला छैन।

 म यो क्षेत्रबाट जितेको माननीय, मेरो व्यक्तिगत रूपमा पनि केही पहुँच होला। बल्ल बल्ल लागेर अलिकति पैसा ल्याउन सक्ने परिस्थिति छ। अनि अरु बिचरा पहुँच नभएको माननीयको के हुन्छ ? अनि फेरि माननीयको भूमिका के हो भन्ने कुरा पनि आउँछ । सबै काम माननीयले गर्ने हो भने स्थानीय तह किन बनाउनु पर्यो ? यो प्रदेश किन बनाउनु पर्यो ? कि यो सबै खारेज गरौँ, सबै हामी केन्द्रीय तहबाट चलाउँ। संघकै सांसदले गरौँ कि ? त्यो जिम्मा सबै दिएपछि चलाउला। त्यसपछि मेरो पनि कमाइ धमाइ होला कि सायद । त्यसकारण हामी अझै भ्रममा छौँ र जीएनजी पुस्तालाई अझै भ्रममा खडा गरेर भ्रममा रुमल्लिने काम भइरा जस्तो मलाई लाग्या छ। मैले भनिहाले नि, हिजो केपी ओली र प्रचण्ड यता हुँदा प्रचण्डले केपी ओलीलाई गाली गर्ने, केपी ओलीले प्रचण्डलाई गाली गर्ने। हाम्रो पार्टी सभापति पो सोझो हुनुहुन्छ, कसैलाई गाली गर्नुहुन्न। अनि एउटाले अर्कोलाई चोर र भ्रष्ट भनिसकेपछि नेपाली जनताले कसरी बुझ्ने ? अनि यिनी त सबै भ्रष्ट रैछन् भन्ने हैन ? सत्तामा रहँदा एउटा कुरा गर्छौँ, सत्ता भन्दा बाहिर रहँदा एउटा कुरा गर्छौँ। अनि जनताले त यी सबै चोरै रैछन्, भ्रष्ट रैछन् भनेर बुझ्ने हैन ? त्यसकारणले नेताले नेतृत्व गर्ने हो। नेताले सिद्धान्तका कुरा गर्ने हो, आदर्शका कुरा गर्ने हो। आफू नेतृत्वमा हुँदै गर्दा गरेका काम, मुलुकको हितमा, भ्रष्टाचारको विरुद्धमा गरेका काम कुराहरू लाग्ने हो। त्यसलाई अर्को नेतृत्वले निरन्तरता दिने हो। एउटा नेताले ल्यायो एउटा कुरा गर्यो, एउटा भ्रष्ट छुटायो, अर्को नेता अनि आउँछ, अर्को भ्रष्ट छुटायो। यो परिस्थिति छ। त्यसकारण हामीले जनतालाई भ्रम छर्ने काम, विशेष गरी युवा पुस्तालाई भ्रम छर्ने काम चाहिँ हामी आफैले गरेको हो भन्ने मेरो आफ्नो ठम्याइ छ, र हो पनि। 

अब हामीले एउटा नेताले अर्को नेतालाई गाली गर्ने। मेरो पार्टी भित्रै, मेरो पार्टी भित्रै दाइ र भाउजू भनेर यो सिर्जना गर्ने व्यक्ति त मैले नजिकबाट चिन्छु । भोलि त दाइका भाइका पनि बुहारी र भाइहरू होलान्। अनि भाइले पनि कसरी टिकट बाँड्छन् ? ती अहिलेका भाइका चाकरहरू। त्यो नजिकबाट हेरिराछ। अनि ट्रान्सफर भनिन्छ। अब भाइका को को चाकरीमा जान्छन्, दाइका को को चाकरीमा जान्छन्, मैले पनि त नजिकबाट हेरिराछु। अनि दाइको रोग भाइमै सर्ने परम्परा अन्त्य गर्नुपर्ने छ। र दाइलाई गाली गरेर भाइ सज्जन हुन सक्छ जस्तो मलाई लाग्दैन।

अन्तिम एउटा प्रश्न गर्छु एकदमै व्यक्तिगत। फेरि माननीयमा चुनाव उठ्नुहुन्छ कि हुन्न ?

मलाई एकचोटि सांसद बन्ने इच्छा थियो, भएँ। अब व्यक्तिगत रूपमा भोलिको राजनीतिक सिनारियो कस्तो खालको आउँछ, त्यो त्यसमा भर पर्छ। म मात्रै हो, मैले मात्रै गर्न सक्छु भन्ने पक्षमा म छैन। अब पार्टीभित्र आवश्यकता पर्यो भने दोहोर्याएर चुनाव लड्न तयार छु। तर के छ भने म मात्रै हो, मैले मात्रै गर्न सक्छु भन्ने कुरामा हैन। अब जीएनजी अहिले त्यो पार्टीमा पनि जीएनजी पुस्ताको भावना भन्या छ। जीएनजी पुस्ता नेतृत्वमा आउँछ भने म जीएनजी पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार पनि छु। म यो धन्दा गर्छु। म माननीय नै नभईकन मेरो धन्दा चल्दैन भन्ने कुरा हैन। म दालभात खान माननीय नहुँदै पनि खाइराछु, खान्छु पनि। मलाई दोहोर्याएर, तेहेर्याएर, पाँचौँ पटक, छैठौँ पटक माननीय हुनु चाहिँ छैन। तर अब राजनीतिक सिनारियो कुन ढङ्गले आउँछ, नेतृत्वमा साथीहरू कसरी आउनुहुन्छ, त्यही ढङ्गले अगाडी बढ्नुपर्ने हुन्छ । 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update