काठमाडौँ महानगरका हाकिमसाबहरुले गाडीमा अब अरुलाई पनि बोक्नुपर्ने, यस्तो छ कारण

 

काठमाडौँ । इन्धन कटौतीपछि काठमाडौँ महानगरपालिकाले अधिकारीहरुलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको काठमाडौँ महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले जानकारी दिइन् ।

‘विश्वभर इन्धनको अभाव छ । यसबेला पहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुन सक्छ । यस्तो समस्या आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प छैन । यसकारण इन्धनजन्य सम्भावित समस्या आउन नदिन ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ,’ कार्यवाहक मेयर डंगोलले भनिन् ।

महानगरपालिकाले ४८ औँ कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गरिसकेको छ । 

कार पुलिङ् कार्यक्रममा बसोबास क्षेत्रका आधारमा एउटै ठाउँबाट आउने जाने अधिकारीहरुको समूह बनाइएको छ । यस समूहमा हुनेले आफूसँग भएको सवारी साधन आलोपालो सञ्चालन गरेर आफू नजिकका अधिकारीलाई पनि ल्याउने लाने गर्नुपर्छ । यसो गर्दा कार्यालयमा आउने जाने सवारी साधनको संख्या र इन्धनको प्रयोग घट्ने काठमाडौँ महानगरको भनाइ छ ।

 

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update