स्याबास बालेन ! यातायात कार्यालयमा अचम्मै भएछ त

काठमाडौँ । यो सरकारको समर्थन वा विरोध गर्ने बेला भएकै छैन । किनभने सरकार गठनको १५ दिनभित्रै सरकारको मूल्यांकन गर्नु निकै हतारो मात्रै हुँदैन, त्यो त आग्रह वा पूर्वाग्रह नै हुन्छ ।

तर, एउटा कुरा गज्जव भएको रहेछ । गज्जव भएको पनि सार्वजनिक सेवा प्रवाहमा हो । त्यसैले यो राम्रो कामको प्रचार गर्न मन लाग्यो ।

मेरो ड्राइभिङ लाइसेन्सको रिन्यू फेल भएको सन् २०२४ को मार्च महिनामा हो । यातायातमा लम्बेतान लाइन, धकेलाधकेल अनि एक दिन पुरै माया मार्नुपर्ने । फेरि लाइसेन्स रिन्यू गर्ने भनेपनि लाइसेन्स नै पाइने पनि होइन । कर तिरेको एउटा चिर्कटो पाइन्छ, त्यो चिर्कटो पनि हरायो भने के गर्नु । 

लाइसेन्स रिन्यू गरेको भनेर यातायात कार्यालयले दिने सानो चिर्कटो भनेको राजस्व तिरेको निस्सा मात्रै हो । राजस्व तिरेको निस्सा भनेको सवारी चालक अनुमतिपत्र होइन । सवारी चालक अनुमतिपत्र छुट्टै छ । अहिले पनि यातायातले राजस्व तिरेको चिर्कटो र म्याद सकिएको लाइसेन्स देखाएर सवारी चलाउनु भन्छ । यो काम सरकारले गरेको गैरकानुनी काम हो ।

जस्तो कि, तपाईं चामल किन्न भनेर नजिकैको किराना पसलमा जानुभयो । त्यो पसलेले एक बोरा चामलको २५ सय रुपैयाँ लियो र चामल लिन ६ महिनापछि आउनु भन्यो भने तपाईंलाई कस्तो लाग्छ ? टाउको दुखेर सिटामोल किन्न जानुभयो, फार्मेसीवालाले १० रुपैयाँ लियो र सिटामोल लिनको लागि ११ दिनपछि आउनु भन्यो भने ? 

अर्काे पनि उदाहरण हेरौं, नयाँ वर्षमा छोराछोरीलाई खाना खुवाउन रेष्टुरेन्ट लिएर जानुभयो । होटलवालाले मेनु देखायो । मेनु हेरेर तपाईंले अर्डर गर्नुभयो । अनि होटलको वेटर आएर भन्यो– हजुरको बिल ५ हजारको भयो, अहिले पैसा तिरेर जानुस, खानको लागि १५ दिनपछि आउनु होला । दशैंको लागि कपडा किन्न जादा भाटभटेनीले भन्यो– पैसा अहिले तिरेर जानुहोला, कपडा चै तिहारपछि आउछ, अनि लानू । 

सरकारले सवारी लाइसेन्समा गरेको व्यवहार सबैतिर लागू हुने हो भने यस्तै हुन्छ । लाइसेन्सको पैसा अहिले तिर्ने र लाइसेन्स २ वा ४ वर्षपछि लिनु भनेको वस्तु तथा सेवाको मूल्य अहिले तिर्ने र पैसा तिरेर लिएको भनिएको वस्तु तथा सेवा भने अनिश्चित समयपछि पाउने हो । अझ लाइसेन्स लिने वा नविकरण गर्ने भनेको त कानुनी रुपमा वाध्यकारी हो । सरकारले पैसा लिएको, सेवा नदिएको अवस्था हो । यो भनेको कानुनी रुपमै ठगी हो । बैंकले एक सातामा एटिएम कार्ड बनाएर दिन्छ, एउटा लाइसेन्स पाउन ४ वर्ष कुर्नुपर्ने ? यो सरकारले नागरिकलाई हेपेको प्रमाण हो ।

मलाई यस्तै लाग्छ, त्यसैले सन् २०२४ को मार्चमा म्याद सकिएको लाइसेन्स नविकरण गरेको थिइनँ । 

यहीबीचमा एउटा सन्देश सार्वजनिक भयो– सरकारले यातायात कार्यालयबाट विचौलिया हटाएको छ, नागरिकलाई सेवा लिन सजिलो भएको छ । झण्डै दुईतिहाई मतसहितको रास्वपा सरकारले सुशासन र सार्वजनिक सेवा प्रवाहलाई उच्च प्राथमिकता राखेको पार्टीका नेता र मन्त्रीहरु बताइरहेका छन् । फेरि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पनि सर्वसाधारण नागरिकले दैनिक जीवनमा भोगेका सानातिना तर नभैनहुने सार्वजनिक सेवासँग सम्बन्धित समस्या समाधानको विषय उठाएर लोकप्रिय बनेका व्यक्ति हुन् । त्यसैले, एउटा त लाइसेन्स नवीकरण गर्नुपनि छ, दोस्रो, सार्वजनिक सेवाको गुणस्तरमा केही फरक भएको रहेछ कि रहेनछ भनेर आफैले महसुस गर्न मन लाग्यो । किनभने सुनिजान्नुभन्दा देखिजान्नु राम्रो, देखिजान्नुभन्दा भोगिजान्नु राम्रो ।

यसैकारण गत शुक्रबार (चैत २७ गते) लाइसेन्स नवीकरणको लागि यातायात कार्यालय भक्तपुर गएँ । राधेराधेको यातायात कार्यालय देखेको पनि थिइनँ । सोध्दै पुगेँ । सोधपुछमा गएर भनेँ– मेरो लाइसेन्स रिन्यु गर्नुथियो, के गर्नुपर्छ ?

सोधपुछका कर्मचारीले २ नम्बर झ्यालमा जानु भने । गएँ । २ नम्बर झ्यालको म्यामले म्याद सकिएको लाइसेन्सको फोटोकपि गरेर ल्याउन भनिन् । 

त्यसको ठ्याक्कै अगाडि एउटा फोटोकपि गर्ने पसल रहेछ । त्यहाँ गएर लाइसेन्स दिएँ । उनले फोटोकपि गरिदिए र त्यही फोटोकपिको पछाडि फटाफट २,४,६,७ अंक लेखिदिएँ । यो के लेखेको भनेर सोधेँ । उनले भने– पहिला २ नम्बर झ्यालमा, त्यसपछि ४ नम्बरमा, त्यसपछि ६ नम्बरमा अनि ७  नम्बरमा जाने ।

२ नम्बर त थाहा थियो, गएर लाइसेन्स र फोटोकपि दिएँ । ती म्यामले बायोमेट्रिक दिन भनिन् । दिएँ । त्यसपछि ४ नम्बर जानु भनिन् । ४ नम्बर भनेको मेडिकल जाँच गर्ने ठाउँ रहेछ । त्यहाँ जाने वित्तिकै एक जनाले १७५ रुपैयाँ दिनुस् भने । दिएँ । बिल दिदै उनले भित्र जानुस् भने । गएँ । भित्र भएका मानिसले अन्तिम लाइन पढ्नुस भने । पढेँ– ०४६...। भयो, अब ६ नम्बर जानुस् भने । ६ नम्बरमा एकजना सर थिए । उनले मेरा कागजात हेरेर केही बेरमै ७ नम्बरमा जानुस् भने । गएँ । ७ नम्बरमा केही समय लाग्यो, झण्डै १ मिनेट जति । ७ नम्बरका सरले केही प्रिन्ट गरे । त्यो कागज उनको दाहिनेतिरको कोठाको म्यामलाई दिए । मलाई पनि उता जान इसारा गरे । मैले उताँ जाने हो भनेर सोधेँ । उनले अँ, भने । गएँ । त्यो राजस्व बmुझ्ने बैंकको काउन्टर रहेछ । बैंकको काउन्टरमा बस्ने म्यामले यति पैसा दिनुस् भनेपछि भने मेरो सात्तोपुत्लो गयो । 

भएछ के भने मैले समयमै रिन्यु नगरेकोले ३७५ प्रतिशत फाइन लागेछ । सरकारले लाइसेन्स दिन पो नसकेको रहेछ, जरिवाना त हिसाव गरेर बसेको हुँदो रहेछ । त्यत्रो पैसा तिर्नु परेकोमा चित्त दुःख्यो, फेरि ७ नम्बर झ्यालमा गएर सोधेँ– मेरो लाइसेन्स चै कहिले आउँछ ? छ महिना जति लाग्ला, त्यसमा पनि लाइसेन्स आएपछि तपाईंको मोबाइलमा एसएमएस आउँछ– ७ नम्बरका सरले भने ।

फर्केँ । फेरि बैंकको काउन्टरकी म्यामलाई अब कहाँ जाने भनेर सोधेँ । उनले हास्दै भनिन्– यहाँको काम त सकियो, अब तपाईं कहाँ जाने भन्ने त मलाई कसरी थाहा हुन्छ र !

सकियो ? अचम्ममा परेँ । किनभने लाइसेन्स नवीकरणको लागि लागेको ५ मिनेट पनि कटेको थिएन, अरु सेवाग्राही पनि थिएनन्, कतै लाइन पनि थिएन, सिस्टम नचलेको वा डाउन भएको पनि थिएन ।

विश्वास गर्न सकिरहेको थिइनँ । सोधपुछको अगाडि आएर एकछिन उभिएँ । यसो चहलपहल हेर्न लागेँ । केही सेवाग्राही आए । मेरो जस्तै २,४,६,७ नम्बर जादै फर्कदै थिए । सबैको काम फटाफट भइरहेको थियो ।

मलाई विश्वास लागेकै थिएन । सोधपुछको नजिकै थियो ६ नम्बर झ्याल । त्यहाँका सरलाई गएर राजस्व तिरेको चिर्कटो देखाउँदै सोधेँ– सर मेरो काम यति भयो, काम सकियो भन्नुभयो, हो मेरो काम सकिएको ? 

उनले लाइसेन्स रिन्युको काम सकिएको बताए । मैले पत्याउन सकिरहेको थिइनँ । त्यहीबेला एकजना ट्राफिक कुनै काम विशेषले यातायात आएका रहेछन् । उनलाई देखेपछि लाग्यो– लाइसेन्स रिन्यु भए नभएको त यिनीहरुलाई पो थाहा हुन्छ त । अनि ती ट्राफिकको छेउमै गएर राजस्व तिरेको चिर्कटो देखाउँदै भनेँ– सर मेरो यति काम भयो, यहाँ लाइसेन्स रिन्यु भइसक्यो भन्नुभयो, हो ? रिन्यु भएको हो ?

‘ए, रिन्यु भइसकेछ त,’ उनले राजस्व तिरेको चिर्कटो हेर्दै भने ।

म पत्याउन सकिरहेको थिइनँ, यातायातमा यति छिटो पनि काम हुन्छ कतै ! त्यसपछि ट्राफिकलाई नै सोधेँ– मेरो लाइसेन्स रिन्यु भयो भनेर मलाई कसरी थाहा हुन्छ ? उनले नागरिक एपमा लाइसेन्स कनेक्ट गरेको छ भनेर सोधे । मैले छ भनेँ । उनले देखाउनु त भने । देखाएँ । 

अनि उनले नागरिक एपमा लाइसेन्स नवीकरणको मिति देखाउँदै भने– सन् २०३४ को मार्च महिनासम्मको लागि तपाईंको लाइसेन्स रिन्यु भएको छ ।

उनको यो भनाइपछि मलाई बढो राम्रोसँग हाँस उठ्यो– हाम्रो काम फटाफट हुँदा विश्वासै नलाग्ने गरी झुर सेवा प्रवाहले हामीलाई कति अभ्यस्त बनाएको रहेछ ! निजी कुरा गर्दा, मैले कोभिडकालमा पनि सार्वजनिक सेवा लिएको छु, नेपाल बन्दमा पनि लिएको छु । तर, यति सहज रुपमा कहिल्यै सेवा लिएको थिइनँ, अनि कसरी पत्यार लाग्नु ?

यसअघिका सरकारहरुलाई पनि भन्ने गरेको थिएँ– नागरिकले सरकारको मूल्यांकन गर्ने यातायात, मालपोत, श्रम, वडा, नापी, सिडिओ अफिस, खानेपानी र विजुली अफिसमा व्यहोरेको सास्तीबाट हो । यी कार्यालयबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन एक पैसा थप बजेट चाहिदैन, एक जना थप कर्मचारी चाहिदैन, एक दिन थप समय चाहिदैन । किनभने चाहिने बजेट, कर्मचारी, उपकरण, कार्यालय सबै छ । त्यहाँबाट हुने सेवाको गुणस्तर बृद्धी गराउनुस्, तपाईंको सरकारले स्यावासी पाउँछ । सबै सरकार त्यसो गर्छु भन्थे तर कसैले गर्दैनथे ।

यसपालि त अचम्मै भएछ । मलाई थाहा छ– मैले आफू सन्तुष्ट हुनेगरी सेवा लिएको यातायात कार्यालय बागमती प्रदेश अन्तरगतको कार्यालय हो । बागमती प्रदेशमा बालेन सरकार छैन । तर, बालेन सरकारको स्पिरिट गएको रहेछ । सरकारी कार्यालयबाट बिचौलिया हटाउने भन्ने सन्देशले प्रदेश सरकारका कार्यालयहरुमा पनि सेवा प्रवाह सहज भएको रहेछ । झन् तत्कालिन श्रममन्त्री दीपक साहलाई पदबाट हटाउने निर्णयले सरकारी कर्मचारीमा बेग्लै भावना पैदा गरेको रहेछ । यो सब काम बालेनको व्यक्तित्वबाट भएको हो । सुशासन प्रवद्र्धनमा गज्जव भइसकेको रहेछ, स्याबास, बालेन । स्याबास, बालेन सरकार । 

थप, एउटा कुरा– मैले अरु सरकारी कार्यालयबाट प्रवाह हुने सेवाको गुणस्तरबारे जानकारी लिएको छैन । चैत २७ गते यातायाता कार्यालय भक्तपुर, राधेराधेको अनुभवका आधारमा स्याबास बालेन सरकार भनेको हूँ । अन्यत्र कस्तो छ, यसपछि कस्तो हुन्छ, त्यो भने रिपोर्टिङ वा अनुभव लिएर मात्रै भन्न सकिन्छ ।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update