सुनसरी । सुनसरी जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको अतिक्रमित क्षेत्र खाली गराउन सुरु गरेको छ ।
नगरपालिकाले पूर्वपश्चिम राजमार्गको मापदण्डभित्र बनाइएका संरचना हटाउने, निर्माण सामग्री हटाउनुका साथै पसल व्यवसाय हटाउने कार्य सुरु गरिएको इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिए ।
नगरपालिकाको कार्यालयले पटकपटक सूचना जारी गर्दा नहटाएपछि नगरपालिकाको डोजरले हटाइएको उनको भनाइ छ ।
पछिल्लोपटक नगरपालिकाले यही चैत ५ गते अतिक्रमित क्षेत्र खाली गरिदिन अनुरोध सहितको सातदिने सूचना जारी गरेको थियो । कार्यालयको सूचनालाई अटेर गरेपछि आफैँले अतिक्रमित सडक क्षेत्र खाली गराउने अभियान सञ्चालन गरेको इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले बताए ।
पूर्वपश्चिम राजमार्ग खण्डअन्तर्गत इनरुवा बसचोकबाट सुखुवागाछीसम्म अतिक्रमण गरेर जथाभावी कवाडी व्यवसाय सञ्चालन, निर्माण सामग्री राखिएका, पसल व्यवसायका लागि सामान राख्ने गरिएकाले आवतजावतमा समस्या हुनुका साथै कुरुप पनि भएको गुनासो आएपछि राजमार्गका मापदण्डभित्र बनाइएका संरचना, कवाडी सामग्री, निर्माण सामग्री हटाउन सुरु गरिएको मेयर भण्डारीको भनाइ छ ।
इनरुवा नगरपालिकाले सुरु गरेको कार्यलाई निरन्तरता दिनग स्थानीयले माग गरेका छन् ।
इनरुवा बजर क्षेत्रमा पनि सडक अतिक्रमण गरेर पसल सञ्चालन गर्नुका साथै भौतिक संरचना निर्माणका लागि सामग्री राखेकाले बजार क्षेत्रमा समेत खाली गराउनका लागि स्थानीयले माग गरेका हुन् ।






