काठमाडौँ । सुनसरीको इनरुवा गरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
भदौ १३ गते शनिवार सम्पन्न नगर कार्यपालिकाको बैठकले विपद्बाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
बैठकले बाढीबाट प्रभावित सुनसरी जिल्ला तथा इनरुवा नगरपालिकाका नागरिकसमेतलाई खोज, उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न नेपाल सरकारसँग उच्च प्राथमिकताका साथ काम गर्न आग्रह गरेको छ।
नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो। निर्णयअनुसार नगरपालिकाको विपद् व्यवस्थापन शीर्षकबाट ५ लाख रुपैयाँ र नगरपालिकाका प्रत्येक वडाबाट ५ लाख रुपैयाँका दरले रकम उपलब्ध गराइने उल्लेख छ।
त्यसैगरी, नगरपालिकाका सबै जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा कट्टा गरी विपद् राहतमा योगदान गर्ने निर्णय पनि बैठकले गरेको छ। राष्ट्रियसेवक कर्मचारीहरूको हकमा भने नेपाल सरकारले तोकेबमोजिमको रकम कट्टा गरिने निर्णय भएको छ।
बाढीबाट भएको जनधनको क्षतिपछि स्थानीय तहबाट समेत राहत तथा पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले उक्त निर्णय गरिएको नगर कार्यपालिकाले जनाएको छ।




