काठमाडौँ । सुनसरी जिल्लाको इनरुवा नगरपालिकाले गहुँको उन्नत बीउ उपयोगमा अनुदान उपलब्ध गराउन किसान, कृषि फर्म, कृषि सहकारी तथा कृषक समूहबाट प्रस्ताव आह्वान गरेको छ।
नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८३/८४ को संघीय सशर्त अनुदानअन्तर्गत ‘खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदान (धान, गहुँ)’ कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आह्वान गरेको हो।
नगरपालिकाले सूचना जारी गर्दै इच्छुक साझेदारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र, अर्थात् २०८३ भदौ २९ गतेसम्म, प्रस्ताव पेस गर्न सक्ने जनाएको छ।
सूचनाअनुसार गहुँको उन्नत बीउ उपयोगमा अधिकतम ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराइनेछ। कार्यक्रममा एनएल ९७१, विजय, बिएल ४३४१, आदित्य र जिङ्क गहुँका जात समावेश गरिएको छ।
अनुदानका लागि कृषक, कृषि फर्म, कृषि सहकारी, कृषक समूह तथा कृषि उद्यमीले प्रस्ताव पेस गर्न सक्नेछन्। प्रस्तावसँग कार्यालयको ढाँचामा माग निवेदन, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित संस्था वा समूहको दर्ता प्रमाणपत्र, कर चुक्ता तथा स्थायी लेखा नम्बर, खरिद गर्नुपर्ने कार्यक्रमको निर्णयको प्रतिलिपि, जग्गा धनीपुर्जाको प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस पेस गर्नुपर्ने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले रित नपुगेका वा म्याद नाघेर प्राप्त भएका प्रस्ताव छनोट प्रक्रियामा समावेश नगरिने स्पष्ट पारेको छ। कार्यक्रमसम्बन्धी थप जानकारी इनरुवा नगरपालिकाको कृषि विकास शाखाबाट लिन सकिने जनाइएको छ।




