इनरुवा नगरपालिकाका नागरिकलाई नोबेल अस्पतालमा २० प्रतिशत छुट

 

काठमाडौं । सुनसरी जिल्लाको इनरुवा नगरपालिका र नोबेल मेडिकल कलेज टिचिङ अस्पतालबीच सम्झौता भएको छ । सम्झौतमा इनरुवा नगरपालिकाका नागरिकले नोबेलमा उपचार गराउँदा २० प्रतिशत छुट हुने व्यवस्था छ ।

सम्झौताअनुसार इनरुवा नगरपालिकामा बसोबास गर्ने स्वास्थ्य बीमा गरेका बिरामी उपचारका लागि नोबेल अस्पताल पुगेमा नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य उपचार सेवाअन्तर्गत प्राप्त हुने सुविधासहित अस्पतालले उपलब्ध गराउने सेवामा २० प्रतिशत छुट पाउनेछन्।

यो सुविधा स्वास्थ्य बीमामा आबद्ध नभएका तथा बीमा गरे पनि बीमा क्रियाशील हुनुअघिको अवधिका बिरामीलाई समेत उपलब्ध हुने सम्झौतामा उल्लेख छ।

सम्झौताअनुसार स्थानीय तहको अस्पताल वा स्वास्थ्य चौकीबाट थप उपचारका लागि सिफारिस भई आउने बिरामीले नोबेल मेडिकल कलेज टिचिङ अस्पतालबाट उक्त सहुलियत प्राप्त गर्न सक्नेछन्। यसका लागि सम्बन्धित पालिकाका अध्यक्ष वा तोकिएका पदाधिकारीको सिफारिससहित आफ्नो परिचय खुल्ने कागजात र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।

१६ वर्षमुनिका बालबालिकाका लागि भने जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य गरिएको छ।

सम्झौताले स्थानीय तहबाट सिफारिस भएर आउने बिरामीलाई उपचारमा सहजता प्रदान गर्नुका साथै निजी अस्पतालमा उपचार गर्नुपर्ने अवस्थामा आर्थिक भार कम गर्ने उद्देश्य राखेको छ।

नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले कोशी प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा, चिकित्सा, नर्सिङ तथा डेन्टलसम्बन्धी सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संस्थासँग सहकार्य गर्दै आएको जनाएको छ।

सम्झौता अनुसार यस्तो छुट सुविधा २०८३ सालको साउन २० गतेदेखि २०८४ सालको असार मसान्तसम्म कायम रहने जानकारी दिइएको छ । सो सम्झौतामा नगरपालिकाका मेयर केदार भण्डारी र अस्पतालको तर्फबाट महाप्रबन्धक दिपेश राईले हस्ताक्षर गरेका छन् । 

 

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update