राजधानी दैनिकका तत्कालिन सम्पादक मिश्रलाई ४ महिना जेल हाल्ने जिल्ला अदालतको फैसला

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले राजधानी दैनिकका तत्कालिन सम्पादक सरोज मिश्रलाई ४ महिना जेल सजाय हुने फैसला गरेको छ ।

काठमाडौँ महानगरपालिका–३२ बस्ने शोभा कार्कीले दिएको गाली बेइज्जति मुद्दामा जिल्ला अदालत काठमाडौँका न्यायाधीश आत्मदेव जोशीको इजलासले चैत २५ गते मिश्रलाई ४ महिना कैद र २ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो ।

कार्कीले राजधानी दैनिकमा प्रकाशित एक समाचारमा आफ्नो गाली बेइज्जती भएको भन्दै २०८० साल साउन १५ गते जिल्ला अदालत काठमाडौमाँ मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा १५ वटा पेशी तोकिएको थियो ।

चैत २५ गते न्यायाधीश जोशीको इजलासले सम्पादक मिश्रलाई ४ महिना कैद र २ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । सो फैसलाको पूर्णपाठ भने अझै आएको छैन । अदालतले प्रकाशित समाचारमा गाली बेइज्जती भयो भनेर राष्ट्रिय दैनिकका सम्पादक विरुद्ध गरेको यो कारवाही सम्भवतः अहिलेसम्मकै कडा कारवाही हो ।

यस्तै, जिल्ला अदालत काठमाडौँले राजधानी दैनिक पत्रिकालाई पनि २ लाख ५० हजार रुपैयाँ जरिवाना गराएको छ । यद्यपि, सो मुद्दामा राजधानी दैनिकका प्रकाशकहरुलाई भने विपक्षी नबनाइएको राजधानी दैनिकको तर्फबाट बहस गरेका कानुन व्यवसायी गोपाल सापकोटाले जानकारी दिए ।

मिश्र अहिले राजधानी दैनिकबाट अलग भइसकेका छन् भने मुद्दा दायर भएको समयमा उनी राजधानी दैनिकमा गएको १ महिना पनि भएको थिएन । २०४६ सालमा प्रजातन्त्र पुनस्थापनाको राजनीतिक आन्दोलनमा सहभागी भएका मिश्र प्रजातन्त्र पुनस्थापनापछि सक्रिय पत्रकारितामा लागेका थिए । लोकतन्त्र र उदारवादको वकालत गर्ने सत्याग्रह साप्ताहिकका संस्थापक सम्पादक प्रकाशक मिश्र पछिल्लो समय समसामयिक राजनीति र भूराजनीतिक विषयमा विश्लेषण गर्ने गर्छन् ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update