प्रधानमन्त्रीले अर्थमन्त्रीलाई रोकेको कार्यक्रममा स्वकीय र युवराजका ज्वाइ बोकेर अमेरिका जादै गभर्नर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल अप्रिल १४ तारिकदेखि एकसाता लामो अमेरिका भ्रमणमा जाने भएका छन् ।

अन्तराष्ट्रिय मुद्रा कोषको स्प्रिङ मिटिङको लागि गभर्नर डा. पौडेल अमेरिका जान लागेका हुन् । उनको भ्रमण पूर्ववर्ती शुशीला कार्की सरकारले स्वीकृत गरेको थियो ।

कोषको स्प्रिङ मिटिङका लागि गभर्नर डा. पौडेलसहित आर्थिक अनुसन्धान विभागका प्रमुख डा. रामशरण खरेल र गभर्नर कार्यालयका निर्देशक शरणकुमार अधिकारी पनि अमेरिका जाने भएका छन् । डा. खरेल पूर्वअर्थमन्त्री युवराज खतिवडाका छोरी ज्वाइ हुन् । डा. खतिवडा अर्थमन्त्री बनेको समयमा खरेललाई पालो मिचेर फाइल बढुवा गरी निर्देशक बनाइएको थियो । यस्तै, गभर्नर कार्यालयका निर्देशक अधिकार गभर्नर डा. पौडेलका स्वकीय सचिवको जिम्मेवारीमा छन् ।

यसअघि मुद्रा कोषको प्रिङ मिटिङमा नेपाल राष्ट्र बैंकका गभर्नर जाने चलन नभए पनि यसपालि भने डा. पौडेलले जोडबल गरेका कारण उनी जान लागेका स्रोतले बतायो ।

‘आइएमएफको स्प्रिङ मिटिङमा गभर्नर जाने चलन थिएन, विभागीय प्रमुखलाई पठाउने गरिन्थ्यो । यसपालि गभर्नर साबले राष्ट्र बैंकको बोर्ड मिटिङमा म नयाँ छु केही सिक्नु पर्यो नि भनेर जोड गर्नुभएछ । त्यसैअनुरुप राष्ट्र बैंकले अर्थमन्त्रालयमा समन्वय गरी गभर्नर जाने स्वीकृति आएको रहेछ,’ स्रोतले वडापालिकासँग भन्यो । गभर्नर डा. पौडेलको अमेरिका भ्रमणको स्वीकृत शुशीला कार्की नेतृत्वको पूर्ववर्ती सरकारले गरेको हो ।

मुद्रा कोषको सो कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि जाने इच्छा देखाएका थिए । हार्वर्ड युनिभर्सिटीमा आफ्नो प्रस्तुती पनि रहेकोले मुद्रा कोषको बैठकमा पनि सहभागी हुने र युनिभर्सिटीको कार्यक्रममा पनि सहभागी हुने चाहना अर्थमन्त्री डा. वाग्लेको थियो ।

तर, प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्रीको भ्रमण भने रोकिदिएका स्रोतले बताएको छ ।

‘अर्थमन्त्रीले पनि मुद्रा कोषको बैठकमा जानका लागि प्रधानमन्त्रीसँग कुरा गर्नुभएको थियो । तर, प्रधानमन्त्रीले अबको २ वर्ष यताउता जाने समय छैन भन्दै उहाँलाई बजेटको तयारीमा लाग्न भन्नुभएछ,’ स्रोतले वडापालिकासँग भन्यो । 

अर्थ मन्त्रालयबाट सहसचिव धनिराम शर्माको नेतृत्वमा एउटा टोली कोषको मिटिङमा सहभागी हुन जादैछ । स्प्रिङ मिटिङमा अर्थ मन्त्रालयबाट पनि अर्थमन्त्री सहभागी हुने गरको चलन छैन । सो मिटिङमा अर्थ मन्त्रालयबाट सहसचिव जाने प्रचलन रहेको अर्थमन्त्रालय स्रोतले जानकारी दियो ।

प्रधानमन्त्रीले अर्थमन्त्रीको भ्रमण रोकेपनि गभर्नरको भ्रमण भने पहिला नै स्वीकृत भइसकेकोले यसबारेमा मन्त्रिपरिषदमा चर्चा नभएको स्रोतको भनाइ छ । तर, अथृमन्त्रीलाई प्रधानमन्त्रीले रोकेको कार्यक्रममा जाने कि नजाने भनेर गभर्नर भने दोधारमा परेका स्रोतको दाबी छ ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update