Odapalika - The Fourth Estate - चौथो अंग

रमा कोइराला नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका निवर्तमान सांसद हुन् । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थिति, नेपाली कांग्रेस केन्दीय कार्यसमितिमा चलिरहेको विशेष महाधिवेशन कि नियमित महाधिवेशन, नियमित महाधिवेशन गर्ने भए फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनभन्दा अगाडि कि पछाडी, विशेष महाधिवेशन गरे के हुन्छ, नगर्दा के हुन्छ ? भन्ने लगायतका पछिल्लो राजनीतिक अवस्थाका बारेमा कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान सांसद कोइरालासँग वडापालिकाको लागि शिव सत्यालले भिडियो अन्तरवार्ता गरेका छन् । प्रस्तुत छ सोही भिडियो अन्तरवार्ताको सम्पादित अंश

अहिले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक चलिराखेको छ । के भइराखेको हो त्यहाँ खासमा ?

दुईटा विषय अहिले देखिएको हो । लामो समय भनिए पनि अहिलेसम्म १० दिनसम्म हाम्रो बैठक चल्यो । त्यो १० दिनमा एकदम राम्रोसँग बोल्ने अवसर हामीले पाएका छौं । भदौ २३ र २४ को जेनजी आन्दोलन पश्चात देशमा एकदमै संवेदनशील कुराहरू भइराखेको छ । त्यसमा देखिएको अवस्थालाई हेरेर हाम्रो भोलिको रणनीति, अनि त्यो जेनजी आन्दोलन हुनुपर्नेका कारणहरू र सरकार असफल हुनाका कारणहरू के कसरी भयो भन्ने कुरामा व्यापक रूपमा छलफल चलेको छ । लामो समयभन्दा पनि यही बीचमा तिहार, छठ जस्ता पर्वको कारण लामो विदा पनि परेको छ । हामीले १० मिनेटदेखि १४–१५ मिनेटसम्म बोल्ने समय पाएका छौँ । नभए योभन्दा अगाडि हामी ३–५ मिनेटसम्म मात्रै बोल्न पाउँथ्यौं । आफूलाई लागेका कुराहरू खुलेर राख्ने अवसर पाएका छौं ।

अहिले हाम्रो पार्टीको बैठकमा दुईटा कुरा निस्किराखेको छ । एउटा चाहिँ सरकारले घोषणा गरेको संसद विघटन अनि सरकारले घोषणा गरेको निर्वाचन, आम निर्वाचनको विषय उठिराखेको छ । र, अर्काे हाम्रो पार्टीभित्रको आन्तरिक निर्वाचन, हाम्रो महाधिवेशन । महाधिवेशन आम निर्वाचनभन्दा अगाडि गर्ने कि, निर्वाचन पछाडि गर्ने कि भन्ने दुईटा पक्षबाट हेरिँदै छ ।  एउटा चाहिँ हाम्रो ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन हुनुपर्छ भनेर हस्ताक्षर गरेर दिएको छ भनेर बैठकमा जानकारी दिइएको छ । यही विषयमा अहिले व्यापक रूपमा छलफल भइराखेको अवस्था हो ।

त्यहाँ अहिलेसम्म बोल्ने केन्द्रीय सदस्यहरू, जसले आफ्नो धारणा राख्नुभयो, त्यो हेर्दाखेरि नेपाली कांग्रेस फाल्गुन २१ को आम निर्वाचनमा सहभागी हुन्छ ?

नेपाली कांग्रेस एउटा लोकतान्त्रिक पार्टी हो । यसको सुरुवातदेखि नै प्रजातन्त्रको लागि लडेको पार्टी हो । प्रजातन्त्रमा जनताको अभिमत भनेको कुरा मुख्य कुरा हुन्छ । आम निर्वाचन भनेको जनताको अभिमत लिन जानुपर्ने कुरा हो । त्यसैले नेपाली कांग्रेस यसबाट भाग्दैन भन्ने मलाई लाग्छ । म अहिलेको निवर्तमान सांसद हुँ । गैरसंवैधानिक विघटन भयो, फेरि संसद पुनस्र्थापना हुनुपर्छ भन्ने पक्षमा म एउटा सांसदको हैसियतले भनौला । तर हामी जनतासँग जान लोकतन्त्रवादीहरूले डराउनु हुँदैन । निर्वाचनमा जानुपर्छ भन्ने पक्षमा म पनि छु । हुन त मैले हस्ताक्षर पनि गरेको छु, संसद पुनस्र्थापना हुनुपर्छ भनेर ।

नेपाली कांग्रेसका प्रमुख सचेतककै नेतृत्वमा प्रतिनिधि सभा पुनस्र्थापनाका लागि हस्ताक्षर पनि गरिराखेको छ नेपाली कांग्रेसले भन्ने खालका सूचनाहरू पनि बाहिर आइरहेका छन् नि ?

सूचना होइन, भएकै हो । हस्ताक्षर भएको छ । मैले पनि गरेको छु । त्यसमा चाहिँ कस्तो भयो भने हाम्रो पहिलेको कार्यसम्पादन समितिले के भन्यो भने अहिलेको संसद विघटन गैरसंवैधानिक हो भनेर निर्णय गरेको छ । यहाँहरूलाई थाहा पनि होला । कार्य सम्पादनले त्यस्तो गरिसकेपछि, हामीले पनि यो असंवैधानिक हो भने त्यसको संवैधानिक रूपमा जानको लागि त, र जेनजीहरूले जुन मागहरू राख्नुभएको छ, उहाँहरूका मागहरू नाजायज छैनन्, जेनजीहरूले राख्नुभएका जुन मागहरू छन्, त्यो मागहरू पुरा गर्नको लागि पनि संसद बिउँताएर, त्यहाँबाट पुरा गरेर अनि निर्वाचनमा जानुपर्छ भन्ने नै हो नि त । अहिलेका प्रधानमन्त्री शुशीला कार्की पूर्वप्रधानन्यायाधीश पनि हुनुहुन्छ । उहाँलाई पनि संवैधानिक प्रधानमन्त्री बनाउन सकिन्छ । तर, यसको पनि प्रतिनिधिसभा पुनस्थापना आवश्यक हुन्छ । संसद पुनर्बहाली गरेर, संसद बिउँताएर, उहाँलाई पनि संसदभन्दा बाहिरको व्यक्ति पनि प्रधानमन्त्री हुन पाउने भन्ने एउटा संशोधन गरियो भने उहाँ पनि संवैधानिक प्रधानमन्त्री हुन पाउने अवसर आउँछ । त्यसले गर्दा पनि हामी सांसदहरू, बहुमत सांसदहरूले हस्ताक्षर गरेर पार्टीमा, हाम्रो केन्द्रीय कार्यसमितिमा बुझाउने भनेर हस्ताक्षर गरिएकै हो । मैले पनि गरेको छु ।

अनि त्यसो भएदेखि त्यतातिर राजनीति गइराखेको छ कि छैन ? मैले यसबाट के बुझ्न खोजेको के हो भने नेपाली कांग्रेस चाहिँ अब प्रतिनिधि सभा पुनस्र्थापना गर्छ, संविधान संशोधन गरेर प्रतिनिधि सभाको सदस्य नरहेको व्यक्ति पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था संविधानमा गराउन चाहन्छ ?

अधिकांश सदस्यहरूले निर्वाचनमै जानुपर्छ भन्नुभएको छ । त्यो अघिको जुन कुरा भनेँ मैले, त्यो मेरो व्यक्तिगत, मैले व्यक्तिगत रूपमा मलाई त्यो लागेर मैले हस्ताक्षर गरेको हुँ भन्ने सन्दर्भमा उल्लेख गरेकी हुँ । तर, केन्द्रीय कार्यसमितिको बैठकमा चाहिँ धेरै सदस्यहरूले निर्वाचनमा जानुपर्छ नै भन्नुभएको छ । प्रतिनिधिसभा पुनस्थपानको विषय अदालतमा पनि पुगेको छ । हामी अदालतको अधिकार कुण्ठित गराउन पनि चाहँदैनौँ । त्यो निर्णय गर्ने ठाउँमा त न्यायालय छ । न्यायालयसम्म धेरै वटा मुद्दाहरू परेका छन् । यदि संसद पुनस्र्थापना भयो भने जेनजीका मागहरू पनि पुरा गर्न सकिन्छ।

न्यायालयले त्यो सोच्छ या सोच्दैन, कानुनी रूपमा त्यो पुनस्र्थापना गर्न सक्ने अवस्था छ कि छैन, त्यो न्यायालयको विषय हो । त्यहाँ हस्तक्षेप पनि हुनुहुँदैन । हामी न्यायालय चाहिँ स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा पनि हौँ । र, त्यति भन्दा पनि अहिले जुन राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन गर्नुभएको छ र निर्वाचन फाल्गुन २१ भनेर तोक्नुभएको छ, त्यो निर्वाचनबाट कांग्रेस पार्टी भाग्न चाहँदैन । अधिकांश सदस्यहरूले निर्वाचनमा जानुपर्छ भनेर बोल्नुभएको छ ।

निर्वाचनकै कुरा गर्दा, संविधान अनुसारको निर्वाचनमा पो सहभागी हुने होला त ? प्रजातन्त्रको पक्षधर अथवा लोकतान्त्रिक पार्टी भन्दैमा जस्तो प्रक्रियाबाट, गैरसंवैधानिक प्रक्रियाबाट प्रतिनिधि सभा विघटन भयो भने, त्यसमा कांग्रेस सहभागी हुन्छ र ? मैले यो कुरा किन इङ्गित गर्न खोजिराखेको छु भने योभन्दा अगाडि प्रतिनिधि सभा विघटन हुँदाखेरि नेपाली कांग्रेस त्यसको विपक्षमा रहेर प्रतिनिधि सभा पुनस्र्थापना गरिसकेपछि आजको संघीय लोकतान्त्रिक गणतन्त्रको जग त्यहाँबाट आएको थियो नि त ?

हो । गिरिजा बाबुको पालामा एउटै मात्रै उहाँले भन्नुभएको थियो– संसद पुनर्बहाली । प्रतिनिधि सभा पुनस्र्थापना नै भन्नुभएको हो गिरिजा बाबुले र त्यसमै अडान लिएर पुनस्र्थापना भएर त्यहाँभित्र माओवादीहरूलाई पनि सामेल गरेर शान्ति प्रक्रिया पुरा गरिएको अवस्था त्यो थियो । त्यो एउटा नजिर छ नेपालमा । योभन्दा अगाडि केपी शर्मा ओलीले विघटन गर्दा पनि, होइन पुनस्र्थापना नै हुनुपर्छ भनेर सांसदहरू अदालतको ढोका ढकढक्याएर जानु भएपछि पुनस्र्थापना नै भएको हो, त्यसलाई कसैले पनि अस्वीकार गर्न सक्दैन । जेनजीहरूको माग त संसद विघटन थिएन । किन गरियो ? कसले गर्यो, त्यो चाहिँ मलाई पनि अचम्म लाग्छ । जेनजीहरूको माग त सुशासन, भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल खोलिनुपर्छ, सामाजिक सञ्जाल बन्द गर्न पाइँदैन भन्ने तिनवटा मात्रै विषय हुन् । तर जब यत्रो भयङ्कर रूपमा ध्वंस नै भयो, त्यो भइसकेपछि अनेक जेनजीहरूका अनेक कुराहरू पनि आउन थाले । त्यहाँ त अहिले प्रत्यक्ष प्रधानमन्त्रीको कुरा पनि आयो । अब यस्तै हो भने अरू अरू कुराहरु पनि जोडिँदै जान्छन् । तर वास्तविक जेनजीहरूले उठाउनु भएको कुरा चाहिँ तिनवटा कुरा मात्रै थियो र उहाँहरूको आन्दोलन शान्तिपूर्ण पनि थियो ।

प्रतिनिधि सभा पुनस्र्थापना गरेर, संविधान संशोधनको बाटोमा लाग्ने हो भने, यहाँ अहिले यहाँले इङ्गित गर्नुभएजस्ता धेरै वटा मागहरू थपिने र पहिला पनि आएको थियो कुरा, त्यो सम्हाल्नै नसकिने स्थिति हुन्छ कि ?

हुन सक्छ । त्यो पनि हुन सक्छ । त्योभन्दा त चुनावै सजिलो हो नि त । त्यो त किनभने अनेक इन्ट्रेस्ट ग्रुपहरूको अनेक कुराहरू आउन थाले नि त । संसदलाई बन्धक बनाएर, बाहिरबाट घेरा हालेर भित्र अनेक कुराहरू आउन थालेपछि, त त्यो त पुरा गर्न सक्दैन संसदले त । संविधानभित्र रहेर मात्रै संसदबाट गर्ने होला नि त हरेक कुराहरू । त्योभन्दा त बरु चुनावमा जाने भन्ने पनि कुरा होला । र, जनतासँग जाने भनेको त, जनतासँग गइसकेपछि आफ्नो एजेन्डा लिएर जाने । जनताले मन पराए भोट दिन्छन्, सत्तामा बस्ने । मन पराएनन् भने प्रतिपक्ष भएर बस्ने या थोरै सङ्ख्याका सांसद सदस्यहरू लिएर पनि क्रिएटिभ काम गरेर बस्न त सकियो नि त । मलाई त्यस्तो लाग्छ कि यो बीचबीचमा अनेक कुराहरू थपिने । अब यहाँ कहिले कहिले म जेनजीहरूकै पनि उ इन्टरभ्यु हेर्छु– निर्वाचनकै कुरा गर्दा पनि यस्तो भएन भने भोलि पनि निर्वाचन हुन सक्दैन भन्ने । हामी निर्वाचनमा जाँदा यसरी दुई–दुई वर्षमा संसद विघटन गर्दै जाने, निर्वाचन चाहिँ गर्दै जाने, अनि दुई–दुई वर्षमा संसद विघटन गर्दै जाने हो भने, राज्यले कति थेग्न सक्छ भन्ने लाग्छ । मलाई एउटा जिम्मेवार नागरिकको हिसाबले चाहिँ त्यो लाग्छ । त्यसले गर्दा संसद स्थापना भएर, त्यसपछि जेनजीका मागहरूलाई पुरा गर्नका लागि कतिसम्म गर्न सकिन्छ, त्यो वार्तामा बसेर ती मागहरू पुरा गरेर अनि त्यो सरकारले निर्वाचन गरेको भए, निर्वाचनलाई पनि अलिकति पछाडि धकेलेर स्थानीय तह, प्रदेश र संघको चुनाव गरेको भए खर्चको हिसाबले राज्यलाई धेरै बोझ चाहिँ हुँदैनथ्यो कि भन्ने मलाई लाग्छ ।

त्यो अवसर त अझै बाँकी छ नि । जस्तो, संविधान संशोधन गर्नुपर्छ भनेर नेपाली कांग्रेस र नेकपा एमालेको जुन गठबन्धन बन्यो, सरकार बनाउँदै खेरी संविधान संशोधन गर्ने भनेर भन्नुभएको थियो । यद्यपि, के के कुरामा संशोधन गर्ने भन्ने कुरा चाहिँ आएन, त्यो चाहिँ छलफल भएको थिएन, तर नेपाली कांग्रेस र नेकपा एमाले, त्यतिखेरका सबभन्दा ठुला दलहरू संविधान संशोधन गर्ने एजेन्डा सहित गठबन्धन गरेका थिए । अहिले पनि जेनजीले जुन मागहरू उठाएका छन्, ती सबै कुराहरूलाई यो–यो कुरामा संविधान संशोधन गर्ने भनेर पहिला छलफल गर्ने, एउटा सहमति हुने, अनि प्रतिनिधि सभा पुनस्र्थापना गरेर, अनि त्यसपछि संविधान संशोधन गरेर निर्वाचनमा जाने बाटो सुल्टो हुन सक्छ कि सक्दैन ?

यो सक्थ्यो । तर अहिले कस्तो लाग्यो भने, हुन त अब मेरो पार्टी सभापतिले एउटा जिम्मेवार ढङ्गबाट भूमिकाहरू निर्वाह गर्नुहुन्थ्यो । उहाँमाथि एकदम ठुलो आक्रमण भयो, यहाँहरू सबैलाई थाहै छ । नहुनुपर्ने खालको आक्रमण भयो उहाँ माथि । त्यसपछि राजनीतिक गति लिनको लागि देशलाई दिशानिर्देश गर्नको लागि मियो नै भएन कि जस्तो लाग्छ मलाई । यो खालको वातावरणमा, यो खालको कामको लागि कसले जिम्मेवारी लिने भन्ने अभाव देख्छु । प्रचण्ड, त्यत्रो ११–१२ वर्ष जनयुद्ध गरेर आउनुभएको नेता, उहाँ अहिले अरूको पार्टी फुटाएर दुईचार जना लिँदै नेपाली कम्युनिस्ट पार्टी बनाउन थाल्नुभयो । उहाँलाई अहिलेको अवस्थासँग, राष्ट्रिय राजनीतिलाई कसरी दिशा दिने भन्ने कुरो सोच्नुभएको जस्तो लाग्दैन । यता निवर्तमान प्रधानमन्त्री सम्माननीय केपी ओलीज्यूको अर्कै भूमिका छ । उहाँलाई देख्नै सकिराखेको छैन अहिले, गाली मात्रै गरिराखेको अवस्था छ । र उहाँले पनि एकोहोरो प्रतिनिधिसभा पुनस्र्थापना भनेर हिँड्नु भएको छ । हाम्रो सभापतिज्यू उपचार गर्न जानुभयो बाहिर । भनेपछि मैले भने जस्तो देशको नेतृत्व लिने, त्यो गर्दिने, त्यो खालको वातावरण देशमा बनाउने खालको व्यक्ति नै को, अभिभावक भएन कि भन्ने मलाई लाग्छ । पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीलाई राष्ट्रपतिले प्रधानमन्त्री बनाइ नै सक्नुभएको छ । उहाँसँग पनि बसेर, राष्ट्रपतिसँग पनि बसेर, सबैसँग बसेर, जेनजी ग्रुपहरुसँग पनि बसेर उहाँहरुले सुरुमा उठाउनु भएका ३ वटा मागका विषयमा छलफल गर्नुपर्ने हो । तर, यसो गर्ने नेता नै भएन, मियो नै भएन । अब त्यो मियो बन्न कांग्रेसले नै अघि सर्नुपर्छ जस्तो लाग्छ ।

कांग्रेसले यसको नेतृत्व गर्न सक्ने अवसर गुमायो भन्ने मलाई लाग्छ !

अझै पनि गुमाइसकेको छैन ।

मलाई किन लाग्छ भने, पार्टी सभापतिलाई चक्कुले काटेर गर्दनबाट रक्तमुछेल हुनुभएको थियो ८० वर्ष भन्दा माथिको मान्छे आफ्नै निवासमा, त्यस्तो अवस्थामा तपाईंहरूले केन्द्रीय कमिटी बैठक बसेर सभापति पद छोड्नुस् भन्नुभयो, एउटा न्यूनतम मानवीयता पनि देखाउनुभएन । यस्तो पार्टीले देशको नेतृत्वको गर्न सक्छ ?

मैले त छोड्नुस भनिन पनि । मलाई त पीडा लाग्यो । किनभने झन्डै झन्डै हाम्रो बुवाहरू भन्दा अलिकति मात्रै कम उमेर हो सभापति शरेरबहादुर देउवाको । सबै नेता मेरो लागि बराबरी हो भन्ने मलाई लाग्छ । अघिनै पनि तपाईंलाई भनेँ, मलाई यो राजनीतिक कुरामा त नमुछिदिनु भए हुन्थ्यो भनेर । तर, हामी यो राजनीतिक विषयमा सामेल भइसकेका छौं । विशेष अधिवेशन भनेर यो बेलामा आयो नि, यो आउँदाखेरि चाहिँ कता कता खल्लो पनि लाग्यो मलाई । त्यो विशेष अधिवेशनको कुरा उठाइरहँदा, ममाथि पनि आएको विशेष अधिवेशन हो त्यो । तँ पनि ठीक छैनस् भनेको र केन्द्रीय कार्यसमिति सम्पूर्ण चाहिँ बेठिक हो भनेरै आएको हो भन्ने मलाई लाग्छ, विशेष अधिवेशन । त्यहाँ एउटा व्यक्तिको लागि भनेर विशेष अधिवेशन बोलाइएको जस्तो मलाई लाग्दैन र एउटा व्यक्ति नभएपछि, एउटा व्यक्तिलाई मात्रै हटाउने गरी विशेष अधिवेशन हो जस्तो मलाई लाग्दैन । अब केन्द्रीय कार्यसमितिको सबै साथीहरूले कसरी बुझ्नु भएको छ, त्यो बेग्लै कुरा हो । म राजनीतिमा पार्टीको मूलधार भन्दा पनि श्रमिकहरूसँग काम गरेर आएको हो । मेरो आफ्नै खालको पृष्ठभूमि छ । तर, जुन काम भएको छ, त्यो सभापति त्यस्तो भइरहँदा, यो बेलामा हामीले सबै एक ढिक्का भएर जानु पर्ने बेलामा ‘छोड’ भनेर भन्नु भन्दा पनि सभापतिले त टाइममै छोड्नुभएको थियो । उहाँले कार्यवाहक दिनुभएकै हो ।

सभापतिज्यूले उपसभापतिलाई कार्यवाहक दिइसकेपछि विशेष महाधिवेशनको कुरा गर्नुपर्ने थिएन ?

थिएन । उहाँले कार्यवाहक दिइसकेपछि हस्ताक्षर बुझाइएको हो । सभापतिज्यूले केन्द्रीय कार्यसमिति बैठकमा आएर कस्तो राम्रोसँग ‘अब तपाईंहरू गर्नुस, नियमित अधिवेशन गराएर जानुुस्, छिटो गराउनुस्, निर्वाचनमा पनि भाग लिनुपर्छ’ भनेर जानु भएको थियो । उहाँले दिइसकेपछि विशेष महाधिवेशनको लागि हस्ताक्षर बुझाइयो के । त्यो बुझाउनु चाहिँ त्यति सुहाउँदो भएको जस्तो लाग्दैन । अब धेरैलाई, ५४ प्रतिशतलाई त्यसैमा खुसी हुनुहुन्छ भने त मैले भन्नु केही पनि छैन। तर अहिलेको परिस्थिति चाहिँ त्यसो गरिहाल्नु हुन्थ्यो भन्ने चाहिँ मलाई लाग्दैन।

भदौ २४ गते जुन खालको विध्वंस भयो, त्यसबाट हामी एक प्रकारले भन्ने हो भने राज्यविहीन अवस्थामा पुग्यौँ । त्यसपछि सबैभन्दा लामो राजनीतिक अनुभव भएको नेपाली कांग्रेसले केही एउटा निकास देला, नेतृत्वदायी भूमिका निर्वाह गर्ला भनेको, नेपाली कांग्रेसले त सभापतिलाई ‘हट, तिम्रो पद मलाई दिएर जाऊ’ भन्ने किसिमबाट पो प्रस्तुत भयो । जलेको केन्द्रीय कार्यालयमा पनि सभापतिले छोड्देला र म त्यो कुर्सीमा बसौँला भन्ने पो बढी आकांक्षा देखियो त्यहाँ, होइन र ?

अब कुर्सीमा त को बस्ने हो मलाई थाहा छैन । तर अहिले हामीले सोच्नुपर्ने भनेको चाहिँ २४ गतेको घटनालाई हेर्दाखेरि पार्टी त नथिङ, केही पनि होइन के पार्टी त । राज्य के हो, देश के हो भन्ने अवस्था होइन र ? राज्यविहीन अवस्थामा पुग्यौँ नि हामी । देश कसरी जान्छ भन्ने होइन र ? अब यो अहिले जेनजीको आन्दोलन अघिल्लो दिनको भयो । भोलिपल्टको विध्वंस पछि, फेरि राजनीतिक पार्टीहरू सङ्गठित भएर त्यही खालको, छानी छानी तिनै मान्छेहरूलाई, जो जोले गरे, ती मान्छे त चिनिएको छ नि । जो जोले गरे, ती मान्छेहरूलाई त्यही खालको व्यवहार गरेको भएदेखि आज कति द्वन्द्वभित्र राज्य छिथ्र्याे ? गृहयुद्धमा हामी पुग्ने थियौँ । संयमित त भएको छ नि, पोलिटिकल पार्टी संयमित भयो नि त । यो बेलामा अझै संयमित भएर हामीले जानुपर्ने अवस्था चाहिँ हो । नेतृत्व परिवर्तन गरेर सबै कुरा जेनजीले भनेको माग पुरा हुँदैन । व्यवहारमा परिवर्तन हुनुपर्छ । जो जोले नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर हस्ताक्षर पनि गर्नुभयो होला, कतिपय अब हामी जस्तै साधारण कार्यकर्ताले नि गर्नुभयो होला । कतिपय त कसरी बस्नुभएको छ, कस्तो लाइफ स्टाइलमा बस्नुभएको छ भन्ने कुरा त थाहा छ नि त । थाहा त्यसैले यो नेतृत्व परिवर्तन गरेर सबै समस्याको समाधान हुँदैन । हाम्रो व्यवहारमा, हामी समाजवादी हौँ भने, नेपाली कांग्रेसले समाजवादलाई मान्छ, त्यो समाजवादी हौँ भनेदेखि हाम्रो विचार समाजवादी छ भने, हाम्रो व्यवहारलाई पनि समाजवादी बनाउनुपर्छ । हामी के चाहन्छौँ थाहा छ ? हामी दुई पैसा कमाउन थाल्यौँ भने पहिले हामीलाई ५०/६० लाखको गाडी चढ्नुपर्छ । चाहे त्यो लोनमा होस । सार्वजनिक बसहरू सुरक्षित तरिकाले ठाउँ ठाउँबाट चल्नुपर्छ भनेर हामी कोही पनि बोल्दैनौँ।

नेपाली कांग्रेसमा विशेष महाधिवेशन गर्ने कि नगर्ने, निर्वाचन अगाडि महाधिवेशन गर्ने कि, निर्वाचन पछाडि गर्ने, भन्ने जस्ता सामान्य विषयमा यति लामो लम्मेचौडे किन ?

बैठकका एजेन्डा १० वटा थिए । विशेष महाधिवेशनको त यस्तो आएको छ भन्ने कुरा मात्रै आएको थियो । नियमित अधिवेशनको पनि एजेन्डा आइसकेको थिएन । खाली जेनजी आन्दोलनको बारेमा व्यापक छलफल भएको थियो । त्यसपछि कार्यसम्पादन समितिले निर्णय गर्ने कुराहरू भनेर आएको थियो । यो लामो चाहिँ कसरी भयो भने, दुई जना हाम्रो केन्द्रीय सदस्यहरू बित्नुभयो । हाम्रो पहिलेदेखिको परम्परामा ३ दिन छुट्टी दिने चलन रैछ, केन्द्रीय सदस्य बित्दाखेरि । ३ दिन शोक मनाउने रैछ । त्यसमा तिहार र छठ पर्व पर्यो । नेपालीहरूको चाडबाड त छोड्ने कुरा भएन । त्यसले गर्दा अलिकति लामो जस्तो भयो । फेरि सबै केन्द्रीय सदस्यहरुले आफूलाई लागेको कुरा खुलस्तसँग राख्न पाउनु भएको छ । यसले गर्दा पनि समय बढी लाग्यो ।

अर्काे, यहाँले नै सोध्नुभएको विशेष अधिवेशनको कुरा । यसमा तीन थरी कुरा आएको छ । विशेष महाधिवेशन हुनुपर्छ भन्ने एकथरी कुरा आएको छ । महामन्त्रीज्यूहरू र केही सदस्यहरू विशेष पक्षमा हुनुहुन्छ । पूर्वपदाधिकारीहरू निर्वाचनमा लाग्नुपर्छ भन्नुहुन्छ । आमनिर्वाचन लगत्तै नियमित महाधिवेशन गर्ने गरी अघि बढ्नुपर्ने उहाँहरको भनाइ छ ।

rama-koirala1-1763723810.jpg
अर्काे एकथरी अर्थात्, शेखर (शेखर कोइराला) दाइहरूको पक्षबाट चाहिँ, होइन, निर्वाचनमा जाँदा नयाँ अनुहार लिएर जानुपर्छ, हामी नियमित अधिवेशन अगाडि गरौँ, अर्ली महाधिवेशन गरौँ भन्नुहुन्छ । अब यो कार्यसमितिको म्याद भनेको मंसिर मसान्तसम्मको हो । हाम्रो विधानमा अझै एक वर्ष थप्न पाउने प्रावधान चाहिँ हुँदो रैछ । ४ वर्षको कार्यकाल, त्यसपछि हाम्रो विधानले एक वर्ष थप्न पाउने व्यवस्था व्यवस्था छ । त्यो व्यवस्था अन्तर्गत जानु हुने हो कि भनेर सबै हाम्रा महाधिवेशन प्रतिनिधिहरूलाई शङ्का लागेको हो कि भन्ने लाग्छ र विशेष अधिवेशन भन्नुभएको हो कि उहाँहरूले भन्ने लाग्छ मलाई । 

मैले बोल्दा पनि भनेको छु, यदि आम निर्वाचन नहुने हो भने मंसिरदेखि अधिवेशन सुरुवात गर्नुपर्छ । होइन आम निर्वाचन हुने हो भने निर्वाचन सकेलगत्तै वैशाखमा अधिवेशन सक्नुपर्छ । अब एक वर्ष, डेढ वर्ष थप्ने भन्ने कुरामा चाहिँ जानु हुँदैन भनेर बोल्ने मध्येको एउटा सदस्य म पनि हुँ । हामी कसरी अलमलियौँ भने, विशेष अधिवेशनको एउटा तरबार, नेताहरूको काधमा, केन्द्रीय समितिको घाँटीमा, तरबार झुन्ड्याको जस्तो विशेष अधिवेशनको तरबार झुन्ड्याइएको पनि हो जस्तो लाग्छ मलाई । नियमित अधिवेशनमै हामी जानुपर्छ भन्ने लाग्छ । विशेष अधिवेशन भनेको केन्द्रमा मात्रै हुने अधिवेशन हुन्छ र । केन्द्रमा मात्रै हुने भन्ने त होइन होला । परिवर्तन गरेर जेनजीहरूलाई ल्याउने हो भने, तलबाट नै उनीहरूको सिट सुरक्षित गर्दै गर्दै, उनीहरूका मागहरू पुरा गर्दै ल्याउने होला नि । वडा, हाम्रो त बुथ कमिटी पनि छ, त्यो बुथ कमिटीदेखि नै ल्याउने हो । त्यसैले नियमित अधिवेशनबाट तलदेखि नै एकदम फास्ट ट्रयाकबाट अधिवेशन, जति आए आए क्रियाशील सदस्य, र अब जेनजीहरू जति बन्छन्, बनाएर उनीहरूलाई पनि त्यो भित्र प्रवेश गराउने उद्देश्य लिएर तलबाट नै महाधिवेशन भएर आउनुपर्छ भन्ने लाग्छ । धेरै हामी अलमलिनु हुँदैन । 

जेनजी आन्दोलनपछि शेखर कोइरालासँग तपाईंको कुराकानी भयो, भेट भयो ?

हुन्छ, दाइसँग हुन्छ । 

उहाँ चाहिँ के भन्नुहुन्छ ?

उहाँ अर्ली महाधिवेशन गरेर चुनावमा जानुपर्छ भन्नुहुन्छ । 

महामन्त्री गगन थापासँग कुरा भएको छ यहाँको ? 

व्यक्तिगत रुपमा भेटेर कुरा गरेको छैन उहाँसँग मैले । 

सभापतिज्यूसँग कुरा भयो, जेनजी आन्दोलन पछि ?

म भेट्न गएको छैन । पार्टीी अफिस आउनुभो २८ गते । उहाँले आफ्नो वक्तव्य दिनुभो, जानुभो । मेरो व्यक्तिगत घटना पनि भएको थियो केही समयअघि । त्यो बेला नेताहरु मेरो घरमा नै आउनु भएको थियो । यहाँ आएर मलाई सान्त्वयना पनि दिनु भएको थियो । अब त्यही नेताहरूलाई नै त्यस्तो अवस्था भइसकेपछि, प्रत्येक नेताहरूको घर जलेको छ । म पो यसरी बस्या छु त। आज मलाई घरमा यसरी बसिरहँदा पनि पीडा लाग्छ । म खाटमा सुत्दाखेरि मेरो नेताहरूको अवस्था के होला भन्ने मलाई लाग्छ । म भेट्न सक्दिन । मैले अहिले नै सभापतिलाई भेट्न सक्दिनँ । अब अहिले अलि स्वस्थ भएर आउनुभएको छ, केही दिनपछि समय लिएर जान्छु भेट्नलाई ।

कांग्रेसको यो छलफल, केन्द्रीय कार्यसमितिको जुन बैठक बसिराछ, यसको एउटा सर्वस्वीकार्य, सर्वसम्मत निर्णयको लागि तपाईं फेरि पनि सभापति शेरबहादुर देउवाको भूमिका अपेक्षा गर्नुहुन्छ कि महामन्त्री र कार्यवाहक सभापतिले नै यसको समाधान गर्नुहुन्छ ?

होइन, सबै बस्नुपर्छ । शेरबहादुर देउवा, शेखर दाइ, पूर्ण दाइ, महामन्त्रीहरू दुई जना, पूर्व पदाधिकारीहरू, सबै जना बसेर यो समस्याको समाधान निकाल्नु पर्छ । पदाधिकारी नभए पनि योग्य केन्द्रीय सदस्यहरू हुनुहुन्छ, पहिलेदेखि काम गर्नुभएको छ । उहाँहरू सबै बसेर यो समस्याको समाधान निकाल्नै पर्छ ।

बाहिरबाट हेर्दा हामीलाई कहिलेकाहीँ के लाग्छ भने, (अहिले यहाँ प्रसङ्ग नेपाली कांग्रेसको आएको भएर मैले नेपाली कांग्रेसको मात्रै उदाहरण दिएँ, अन्य पार्टीको हकमा पनि त्यही हो) यसरी कुटाइ खाँदा, थातथलो छोडेर भाग्नु पर्दा, घरै जल्दा, यस्तो बेइज्जती हुँदा पनि नचेत्ने रहेछन् हाम्रा नेताहरू ?

होइन, यो बेइज्जती होइन । यसलाइ बेइज्जती भन्नुहुँदैन । यो त उपद्रो हो । म २०१८ सालमा जन्मेको । म ८ वर्षको भएपछि मात्रै बुवालाई देख्न पाएको हो । ३ पटक सवस्व हरण भएको हो । मेरो आमाले भन्नुहुन्थ्यो, सर्वस्व हुँदाखेरि सर्वस्व लगे, तिमीहरूका थाङ्ना फौगाटा पनि भित्रबाट बाहिर निकालेर फ्याँकिदिएका थिए हैु भन्नुहुन्थ्यो । त्यतिसम्म गरेका थिए अरे । तर आज त आगजनी नै गरेर यस्तो नाश गरेको छ । यो त लाज होइन, लाज मान्ने होइन यो । यो उपद्रो गरेको हो । यसको यति सम्पत्ति थियो, यति सम्पत्ति छ, यो सबै राष्ट्रियकरण गर भनेको भए पनि हुन्थ्यो नि त । यो उपद्रो हो । यो जेनजीले गरेको होइन, फेरि यो एक दिनको सामाजिक सञ्जाल बन्द भएर भएको घटना पनि होइन ।

पूर्व तयारी सहितको ?

यो त सबै म्यापिङ गरेर गरेको होइन र ? म्यापिङ भएर गरेको होइन र यो सबै ? त्यसैले म त यो त यस्तो अप्रत्याशित कुरा, यसमा यति पैसा उठ्यो रे भनिएको छ । त्यो बंगलादेशको देखेको थियौँ नि हामीले । पैसा त नक्कली बनाएर ल्याएर उडाए पनि हुँदो हो नि त । मैले भ्रष्टाचार गरेको छु भने मेरो सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गर्ने, आउने, छानबिन गर्ने, तर नजलाउने । 

तर, तर अकर्ने कुरा के छ भने, २०६२/६३ सालको दोस्रो जनआन्दोलन सफल भइसकेपछि कांग्रेस, एमाले र माओवादी यिनै तीनवटा दलले त सरकार सञ्चालन गरेको हो नि । आजको २० वर्षसम्म राज्य सञ्चालन गर्दा खेरि यति कमजोर राज्य बनाउनुभएछ नि त, होइन र ? 

हो, त्यो चाहिँ हो ।सूचनाको कस्तो अभाव रैछ । गृहमन्त्रीलाई थाहा रहेनछ । गृहमन्त्रीलाई थाहा छैन । प्रधानमन्त्रीलाई यस्तो हुन्छ भन्ने कुरा थाहा छैन । कहाँ के भइरहेछ भन्ने जानकारी नै रहेनछ । एकदमै कमजोर रैछ हाम्रो सूचना प्रणाली भन्ने कुरो यो घटनाले देखाउँछ । यत्रो भइराख्दा पनि हाम्रो नेताहरूलाई, पदमा बस्नुभएको नेताहरूलाई यो कुरा थाहा रहिनछ कि उहाँहरू पनि हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आयो । 

आम मान्छेहरू के भन्छन भने– नेताहरूले गल्ती गरेका थिए, अझै सुध्रिएनन् ?

यस्तो विध्वंसै गर्ने गरी नेताहरूले गल्ती गरेका थिए र । केपी ओलीले गल्ती गर्नुभएको थियो भने उहाँलाई कारवाही गरेको भए हुन्थ्यो नि । सिंहदरबार त केपी ओलीको बाउले बनाएको, केपी ओलीको बपौती होइन नि त । हामी सबैको हो । सर्वाेच्च अदालत सबैको होइन ? संसद, भोलि त जसले ध्वस्त बनायो, त्यो निर्वाचित भएर जाँदा रिग्रेट हुन्छ नि त । नेताहरूले गलत गरेको छ भने त नेताहरूलाई समात्ने हो, हतकडी लाउने हो । कानुन अनुसार कारबाही गर्ने हो । भ्रष्टाचार गरेका छन् भने सम्पत्ति खोजी खोजीकन राष्ट्रियकरण गर्ने हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको के काम ? यो सम्पत्ति शुद्धीकरणको के काम ? त्यो त सबै छ नि त। अड्डा अदालतहरू छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update