बागलुङ । बागलुङको गलकोट नगर अस्पतालमा प्रसूति हुन आउने गर्भवतीको सङ्ख्यामा पछिल्ला वर्षमा बृद्धि भएको छ ।
सो अस्पतालमा गत वर्षदेखि शल्यक्रियासहितको सेवा सुरुआत भएको थियो । सुत्केरीका लागि सामान्य सेवा लिन पनि पोखरा र काठमाडौँका अस्पतालमा पुग्नुपर्ने अवस्था अन्त्य भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति अनुसार नगरपालिकाले २०७९ पुस १७ गते गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी वडा नं ५ को हरिचौरमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा ल्याएको छ ।
पहिले वार्षिक ५० जना सुत्केरी हुन आउने गरेकोमा अहिले त्यो सङ्ख्या बढेर करिब २०० पुगेको नगर अस्पताल प्रमुख डा राजेश पौडेलले जानकारी दिए । अस्पतालमा २०८१ असोज १६ गतेबाट शल्यक्रियामार्फत प्रसूति सेवा सुरु भएपछि पछिल्लो समय सुत्केरी हुन आउने महिलाको सङ्ख्या बढेको उनको भनाइ छ ।
एक वर्षको अवधिमा ३५ जना गर्भवतीलाई शल्यक्रियामार्फत सुत्केरी गराइएको डाक्टर पौडेलले बताए । गलकोटसँगै बागलुङको ढोरपाटन नगरापलिका, निसीखोला, ताराखोला, तमानखोला गाउँपालिकासहित गुल्मी र म्याग्दीका बिरामीले पनि यहाँबाट सेवा लिने गरेको डा पौडेल बताउँछन् ।
‘अस्पतालप्रति विश्वास बढेर होला पछिल्लो समय धेरै बिरामी यहाँ आउनुहुन्छ । बागलुङका मात्रै होइन अन्यत्र जिल्लाबाट पनि बिरामी यस अस्पतालमा आएर सेवा लिइ राख्नु भएको छ, पहिले सुत्केरी हुनका लागि धेरै गर्भवती बागलुङ, पोखरा पुग्ने अवस्था थियो । अहिले यही आउने गर्नु भएको छ, अझ गतवर्षदेखि हामीले शल्यक्रियानै गर्न थालेपछि त झन् धेरै गर्भवती सुत्केरी हुन यहाँ आउनुहुन्छ,’ उनले भने ।
टाढाबाट सुत्केरी हुन आउनेका लागि अहिले अस्पताल परिसरमै प्रसूति प्रतिक्षा घर सञ्चालनमा ल्याइएको छ । जहाँबाट सुत्केरी र सुत्केरीका आफन्तले अस्पतालमा बस्दासम्म खाने र बस्नेको सुविधा पाउने भएका छन् । अस्पतालमै खाना बस्नको सुविधा पाएपछि गर्भवती र उनका आफन्तलाई सहज भएको छ ।
अस्पतालमा घरकै जस्तो वातावरण रहेको बडिगाड गाउँपालिका–६ बाट बुहारीलाई सुत्केरी गराउन आउनु भएकी रुपा सुनारले बताइन् । बुहारीको शल्यक्रिया गरेर नवजात शिशु निकालेको जनाउँदै आफू पाँच दिनदेखि अस्पतालमा रहेको प्रसूति प्रतिक्षा घरमै बस्दै आएको उनले जानकारी दिइन् ।
‘यसभन्दा अगाडि अरु अस्पतालमा बिरामी भएर गएका थियौँ, त्यहाँ बस्ने, उभिने पनि ठाउँ पाएका थिएनौँ तर यहाँ त बासनै बस्न पाइने खाना पकाएर खान पाइने सुविधा रैछ, यहाँका डाक्टर र नर्सले पनि बिरामीको धेरै ख्याल गर्नु हुँदो रैछ, धेरै खुसी लाग्यो, यहाँको जस्तो सुविधा अरु अस्पतालमा भए कति सहज हुन्थ्यो होला,’ उनले भनिन् ।
अहिले अस्पतालमा चौबीसै घण्टा इमर्जेन्सी सेवा, फिजियोथेरापी, भिडियो एक्सेर, पोष्टमार्टम, प्रसूति सेवा, डिभियो एक्सरे, दन्तरोगको उपचारलगायतका सेवा प्रभावकारी भइरहेका छन् ।
गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले नगर अस्पताल सञ्चालनमा आएपछि नागरिकले हजारौँ रकम खर्च गरेर टाढा जानु पर्ने बाध्याता हटेको बताउँछन् । गाउँ ठाउँमै विशेषज्ञ स्वास्थ्य सेवा दिनका लागि नगरपालिकाले धेरै मेहनत गरेको उनको भनाइ छ । अब कोही पनि नागरिक पहिलेको जस्तो सामान्य उपचारका लागि पनि ठूला सहरमा जान नपर्ने प्रमुख गैरे बताउँछन् ।





