Odapalika - The Fourth Estate - चौथो अंग
आगामी वर्ष सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण लिने

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमा आन्तरिक स्रोत र विदेशी अनुदानले नपुग्ने भएपछि थप रकम ऋण लिने भएको छ । 

सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । मन्त्री पौडेलले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा बजेट पेश गरेका हुन् ।

मन्त्री पौडेलले दिएको जानकारी अनुसार सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमध्ये चालु खर्च तर्फ ११ खर्ब ८० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यो भनेको कुल बजेटको ६० प्रतिशत हो ।

यस्तै, पुजीगत खर्चतर्फ सरकारले ४ खर्ब ८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको हो । यो भनेको कुल बजेटको करिब २१ प्रतिशत हो । वित्तीय व्यवस्थाको लागि भने सरकारले ३ खर्ब ७५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । वित्तीय व्यवस्थापनतर्फ सरकारले कुल बजेटको १९ प्रतिशत रकम विनियोजन गरेको छ ।

सरकारले ल्याएको बजेटको लागि १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ भने ५३ अर्ब ४५ करोड रुपैयाँ विदेशी अनुदान प्राप्त हुने लक्ष्य राखिएको छ । यसो हुँदा ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ अपुग हुनेछ ।

अपुग हुने रकम सरकारले ऋण लिनेछ । अर्थमन्त्री पौडेलले सो रकममध्ये २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ विदेशी ऋण लिइने र ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update