
काठमाडौँ । संघ सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट पेश गरेका हुन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।
मन्त्री पौडेलले दिएको जानकारी अनुसार सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमध्ये चालु खर्च तर्फ ११ खर्ब ८० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यो भनेको कुल बजेटको ६० प्रतिशत हो ।
यस्तै, पुजीगत खर्चतर्फ सरकारले ४ खर्ब ८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको हो । यो भनेको कुल बजेटको करिब २१ प्रतिशत हो । वित्तीय व्यवस्थाको लागि भने सरकारले ३ खर्ब ७५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । वित्तीय व्यवस्थापनतर्फ सरकारले कुल बजेटको १९ प्रतिशत रकम विनियोजन गरेको छ ।
सरकारले ल्याएको बजेटको लागि १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ भने ५३ अर्ब ४५ करोड रुपैयाँ विदेशी अनुदान प्राप्त हुने लक्ष्य राखिएको छ । यसो हुँदा ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ अपुग हुनेछ ।
अपुग हुने रकम सरकारले ऋण लिनेछ । अर्थमन्त्री पौडेलले सो रकममध्ये २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ विदेशी ऋण लिइनेछ भने ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ ।
सरकारले सो रकम खर्च गरेर आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक बृद्धि गर्ने लक्ष्य राखेको छ भने ५.५ प्रतिशतको मूल्यबृद्धि हुने बताएको छ । यद्यपि, मूल्यबृद्धि नियन्त्रण नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको प्रमुखमध्येको लक्ष्य हुने गरेको छ ।