
काठमाडौँ । बागलुङको काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन थालेको छ । ग्रामीण क्षेत्रका महिलालाई कृषि र पशुपालनमार्फत उद्यमसँग जोड्नका लागि बाख्रा उपहार दिएको हो ।
गाउँपालिका र हेफर संस्थाको सहकार्यमा महिलालाई २४० वटा बाख्रा वितरण गरिएको छ । २ वर्षदेखि गाउँपालिका र हेफरले काठेखोलाका महिलालाई समूहमार्फत उत्पादनसँग जोड्दै आएको हो ।
गाउँपालिकाले ८ वटै वडाका महिलालाई बाख्रा उपहार दिइरहेको छ । काठेखोला–७ रेशमा रहेका सङ्घर्षशील, शुभलक्ष्मी र उद्यमी स्वावलम्बी महिला समूहले उपहार समूहमा आबद्व सङ्घर्षशील, सयपत्री, सुसेली, लगनशील, सूर्यमुखी र शुभलक्ष्मी महिला समूहमा आबद्व सदस्यलाई ५० वटा बाख्रा वितरण गरिएको छ ।
स्थानीय सीमादेवी थापाका अनुसार बाख्रापालनले जीविकोपार्जनमा सहज भएको छ । पछिल्लो समय गाउँमा बसाइँसराइले गर्दा खेतीयोग्य जमिन बाँझो बन्दै गएको भन्दै बाख्रापालनका लागि पर्याप्त घाँस रहेको छ । उपहार पाएको एउटा बाख्राबाट बढेर दर्जन पुग्न थालेकाले त्यसले घर खर्च चल्नुका साथै परिवार सहज रूपमा चलेको छ ।
काठेखोला गाउँपालिकामा उत्पादन भएका खसीबोकाले बागलुङ बजारमा मासुको आपूर्ति हुँदै आएको छ । वडा नम्बर ४ स्थित महिला समूहले हरेक वर्ष लाखौँको खसीबोका बिक्री गर्दै आएका छन् । बिहुँ, लेखानी, रेश, तङ्ग्रामलगायत गाउँका किसानले उत्पादन गरेको तरकारी र दूधले समेत बागलुङ बजारमा स्थान पाएका छन् । यद्यपि उचित मूल्य नपाएको गुनासो भने किसानले गर्दै आएका छन् ।
काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बढ्दो बसाइँसराइ रोक्नका लागि आफूहरूले नागरिकलाई आयआर्जनसँग जोड्ने खालका कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।