Odapalika - The Fourth Estate - चौथो अंग
सम्झौताभन्दा १४ करोड बढी खर्चिएपछि बल्ल तयार भयो ग्वार्को फ्लाई ओभर, आजबाट संचालनमा

ललितपुर । ललितपुर महानगरपालिकाको ग्वार्को चोकमा बनेको ‘फ्लाई ओभर’ आजबाट संचालनमा आउने भएको छ । ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलील उद्घाटन गर्ने कार्यक्रम छ ।

‘फ्लाई ओभर’ निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधरण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।

केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । २०८० फागुनमा सम्पन्न गर्नेगरी ठेक्का लगाइए पनि समयमा नसकिएपछि म्याद थपिएको थियो ।  २०८१ असारसम्मका लागि म्याद थपियो । त्यसपछि पनि थपिएको म्यादमा नसकिएपछि एक करोड ४७ लाख रुपैयाँ हर्जना तिराएर निर्माण सम्पन्न गरिएको हो । 

ओभरपासको र्याम्प र पुलको लम्बाइ ५७६ दशमलव २ मिटर,  ग्वार्को चोकबाट लगनखेलतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटर लामो ओभरपास छ । दुवैतर्फ चार तहको कालोपत्र गरिनुका साथै ओभरपासको र्याम्पको दूरी १० दशमलव २ मिटर छ । बीचको पुल खण्डको लम्बाइ ३६ दशमलव २ मिटर छ । पुलको चौडाइ १६ दशमलव ४ मिटर छ, जसमा चार लेन सडक सञ्चालन हुनेगरी डिजाइन गरिएको छ ।

तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा १४ करोड लागत थप भएको छ । करिब रु १७ करोड छ लाख ८८ हजार ८८८ रुपैयाँमा सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको थियो । तर काम सम्पन्न भइसक्दा अनुमानित लागत ३१ करोड ४६ लाख ५१ हजार ४४) पुगेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update