
काठमाडौँ । प्रदेशका पूर्वपश्चिम राजमार्ग र हुलाकी मार्गले छोएका मधेश प्रदेशका ८४ वटा स्थानीय तहमा मासुका लागि व्यावसायिक पशुपन्छीपालन कार्यक्रम सञ्चालनमा आएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर कार्यालय बर्दिबासले मासुजन्य प्रयोजनका पशुपन्छीपालन कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
समूहगत माग र प्रतिबद्धताका आधारमा बाख्रा, राँगा र बङ्गुरसहितका पशु र कुखुरा तथा हाँसजस्ता मासु प्रयोजनका पन्छीपालनमा किसानलाई समूहगत रूपमा अनुदान दिने गरेको छ ।
आयोजना कार्यालयले समूहगत रूपमा प्रस्ताव गरिएका योजनामा तिनको बजारको सुनिश्चितताको अध्ययन गरी अनुदान दिने गरेको छ । प्रदेशभरिमा अहिले अनुदानको प्रक्रियामा रहेका एक ११० समूहमध्ये २० समूह मासु प्रयोजनका पशुपन्छीपालनमा रहेका आयोजना कार्यालयका प्रमुख राजेश साहले जानकारी दिए ।
आयोजनाले समेटेका स्थानीय तहहरू सप्तरीमा १६, सिरहामा १२, धनुषा ८, महोत्तरीमा १०, सर्लाहीमा ११, रौतहटका ९, बाराका ११ र पर्साका ९ वटा छन् ।
यीमध्ये मासु उत्पादनका लागि पशुपन्छीपालन गर्ने २० समूहमध्ये १३ वटाले बाख्रापालन गरेका छन् । यसैगरी बङ्गुर पाल्ने २ वटा समूह छन् । अन्य ५ वटा समूहले राँगा, हाँस र कुखुरापालन थालेका कार्यालय प्रमुख साहले बताए ।
किसानका यस्ता समूहमा एउटामा १५ देखि ५० जनासम्म आबद्ध हुनसक्ने व्यवस्था छ । अहिले यी किसान समूहमा ५ हजार किसान जोडिएका छन् ।
उत्पादनमूलक साझेदारीको मर्मअनुरुप सञ्चालन हुने व्यवसायलाई प्रवद्र्धन गर्न दिइने अनुदानलाई आयोजनाले ‘स्टार्टअप’ भन्ने गरेको छ ।
मासुका लागि पशुपन्छीपालन गर्ने समूहहरूले उन्नत जातका बाख्रा, बङ्गुर र राँगासहित २० हजार पुर्याउने लक्ष्य लिएका छन् । पछिल्लो समयमा बोयर जातका बाख्राबाट उत्पादन हुने पाठापाठीले सिङ्गो मधेस ‘बोयर बाख्राको ठाउँ’ भनी पहिचान गराउने गरी काम अघि बढेको महोत्तरीको छ ।
आयोजनाले कृषि र पशुपन्छी पालनलक्षित व्यवसायलाई सहयोग पुर्याउन प्रदेशका ३५ ठाउँमा आधुनिक सुविधासहितको एकीकृत कृषि सेवा केन्द्र भवन पनि बनाउँदै छ ।