Odapalika - The Fourth Estate - चौथो अंग
अध्यक्षलाई नै बन्धक बनाउने गरी नेप्से कर्मचारी आन्दोलित भएको विषय के हो ?

काठमाडौँ । असोज ८ गते विहान १० बजेतिर नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले अध्यक्ष हेमन्त बस्याललाई फोन गरेर कार्यालय बोलाए । नेप्से ‘कर्मचारी संघका साथीहरुले केही विषयमा छलफल गर्न चाहेकोले सहजीकरणका लागि आइदिनु पर्यो’ भन्ने चापागाईंको भनाइ थियो ।

अध्यक्ष बस्याल करिब ११ बजेतिर नेप्से पुगे । अनि प्रमुख कार्यकारी अधिकृत चापागाईंको कार्यकक्षमा अध्यक्ष बस्याल, प्रमुख कार्यकारी अधिकृत चापागाईं, नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापासहित उच्च व्यवस्थापन तहका कर्मचारीहरु पनि छलफलमा बसे ।

छलफलको विषय कर्मचारीको बोनससँग सम्बन्धित थियो । कर्मचारी संघले आर्थिक वर्ष २०७७/७८ देखि बोनस नपाएकोले बोनस वितरण गर्ने निर्णय गर्न संचालक समितिलाई आग्रह गरेको थियो ।

कर्मचारी संघले जेनजी आन्दोलनका कारण शुशीला कार्की नेतृत्वमा नयाँ सरकार गठन भएपछि बोनस वितरणको निर्णय गर्न नेप्से संचालक समितिलाई दबाब दिएको थियो ।

फेरि असोज ८ गतेकै घटना विवरणमा फर्काैं ।

विहान ११ बजेदेखि नेप्से संचालक समिति अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र कर्मचारीबीच करिब सोहार्द रुपमै छलफल चलिरहेको थियो । तर, १२ बजेपछि सरकारले राजस्व सचिव सरुवा गरेको खबर बाहिरियो । र, पुँजी बजारको नियामक निकाय धितोपत्र वोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको गाडीको चाबी कर्मचारीले खोसे भन्ने अर्काे समाचार पनि वाहिरियो ।

यी दुईटा खबर सार्वजनिक भएपछि कर्मचारी संघको बोली थप कठोर हुन थालेको सहभागीले बताएका छन् । स्रोतका अनुसार त्यसपछि कर्मचारी संघले संचालक समितिको बैठक बसेको माइन्यूट गर्न अध्यक्ष बस्याल र प्रमुख कार्यकारी अधिकृत चापागाईंलाई दबाब दिन थालेका थिए । नेप्सेको प्रमुख कार्यकारी अधिकृत संचालक समितिको पदेन सदस्य हुने कानुनी व्यवस्था छ ।

कर्मचारी संघले नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई आफ्नो बैंक खातामा बोनस रकम नआउन्जेल नेप्सेमै थुनेर राख्ने चेतावनी दिएका स्रोतको भनाइ छ ।

‘कर्मचारीलाई ५ प्रतिशत बोनस वितरण गर्ने निर्णय गरियो भनेर माइन्यूट लेख्नुस्, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत सर यही हुनुहुन्छ, दुबै जनाले हस्ताक्षर गरेर हामीलाई माइन्यूट दिनुस्, हामी सबै संचालकको हस्ताक्षर गराएर भोलि विहानसम्ममा माइन्यूट फिर्ता गरिदिन्छौं । हाम्रो बैंक खातामा रकम जम्मा भएको घण्टी मोबाइलमा बजेपछि तपाईंहरुलाई जान दिन्छौं,’ सो दिन नेप्सेका कर्मचारीले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई दिएको दबाब उधृत गर्दै छलफलमा सहभागी स्रोतले वडापालिकासँग भन्यो ।

कर्मचारीले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई ‘पानीसमेत खान र ट्वाइलेट जान पनि नदिने’ बताए पनि यी दुबै कार्यमा भने अवरोध सिर्जना नगरेको स्रोतको भनाइ छ । 

यसरी अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत बन्दी बनेको खबर नेप्सेका अन्य संचालले प्राप्त गरेपछि भने बाहिर हल्ला चलेको थियो । हालैको जेनजी आन्दोलनका क्रममा व्यापक रुपमा भौतिक आक्रमण भएको ताजा अवस्थामा आफ्ना अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतमाथि पनि त्यस्तै दुव्र्यवहार हुने हो कि भनेर अन्य संचालक सतर्क बनेका थिए । 

स्रोतका अनुसार केही संचालकले नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत कार्यालयमै थुनिएको भन्दै उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए । तर, असोज ८ गते साँझ नेप्से पुगेको प्रहरीको पहिलो टोलीलाई कर्मचारीले ‘कुनै अप्रिय घटना नभएको र सहज रुपमा कर्मचारीले काम गरिरहेको’ बताएर फिर्ता गरेका थिए ।

‘साँझ आएको प्रहरी टोली केही भएको छैन भन्ने विवरण लिएर फिर्ता भएपछि नेप्सेका संचालकहरुले प्रहरीलाई विशेष अनुरोध गरेर फेरि अर्काे टोली पठाएका थिए । त्यो टोली पनि यहाँ केही भएको रहेनछ भन्दै फर्कियो,’ सो दिनको घटना विवरणबारे स्रोतले भन्यो ।

दुई पटक आएको प्रहरी टोलीले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत थुनिएको जानकारी पाउनै सकेन । तर, रातको १० बजेसम्म पनि उनीहरु बन्धक बनाइएका थिए । यस्तैमा नेप्सेका एक संचालकले सोको जानकारी अर्थमन्त्री रामेश्वर खनाललाई गराएका थिए ।

अर्थमन्त्री खनालले जानकारी पाएपछि डिएसपीको नेतृत्वमा फेरि अर्काे प्रहरी टोली नेप्से कार्यालय पुगेको थियो, जतिबेला रातको ११ बजिसकेको थियो । सो प्रहरी टोलीले नेप्सेका प्रमुख कार्यकारी अधिकृतको कार्यकक्ष हेरेर मात्रै फर्कने अडान लिएपछि कर्मचारीहरु प्रहरीलाई अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसँग भेट्टयाउन तयार भएका थिए । काठमाडौँ प्रहरी परिसर र नेप्से कार्यालयको दुरी करिब ३ सय मिटर पनि छैन भने केही दिनअघि मात्रै जलेको सर्वाेच्च अदालत र सिंहदरबार नेप्से कार्यालयबाट बढीमा ५ सय मिटरको दुरीमा छ ।

डिएसपीको नेतृत्वमा गएको प्रहरी टोलीले नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत विहानैदेखि थुनिएको फेला पारेपछि कर्मचारीसहितसँग केहीबेर छलफल भयो । कर्मचारी संघले केही सम्झौता गरेर मात्रै अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई छोड्ने अडान राखेको थियो । तर, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले यस्तो सम्झौता गर्ने कानुनी अधिकार आफूहरुसँग नभएकोले त्यस्तो गर्न नसकिने बताए ।

‘प्रहरी आएपछि करिब ४० मिनेटजति छलफल भयो । अन्तिममा सबै पक्ष मिलेर उपयुक्त निकास खोज्ने सहमती भएपछि रातको ११ः४५ बजेतिर कर्मचारीले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई घर जान छोडिदिए,’ स्रोतले भन्यो ।

कर्मचारी संघले असोज ११ गतेसम्ममा ५ प्रतिशतका दरले बोनस रकम कर्मचारीहरुको बैंक खातामा जम्मा हुनै पर्ने अल्टिमेटम दिएको थियो । यद्यपि, अहिलेसम्म पनि नेप्सेले बोनस वितरण भने गरेको छैन ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update