
काठमाडौँ । साउने २१ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ संचालन भइरहेको छ ।
अटो शोमा अपेक्षा गरेभन्दा पनि बढी दर्शकको उपस्थिति भइरहेको आयोजकले जानकारी दिएको छ । यो अटो शोमा आफ्ना सवारी साधन विक्री गर्नको लागि उत्पादक तथा आधिकारिक वितरकहरु विभिन्न प्रकारका स्कीमसहित उपस्थित भइरहेका छन् ।
गाडी विक्रीको लागि विभिन्न प्रकारका स्कीम र गाडीको बारेमा सबै जानकारी एकै ठाउँमा पाइने भएपछि देशभरका स्थानीय सरकारका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरु अहिले काठमाडौँ आएका छन् । अहिले संचालन भइरहेको नाइमा अटो शो र यसलगत्तै आयोजना हुने नाडा अटो शोलाई लक्षित गरेर स्थानीय सरकारका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतहरु काठमाडौँमा जम्मा भएका हुन् ।
बजेट पारित भइसकेपछि अहिले पालिकामा खासै काम पनि नहुने भएकाले आफूहरु काठमाडौँ आएको गाउँपालिका राष्ट्रिय महासंघका एक पदाधिकारी जानकारी दिए ।
‘बजेट ल्याइसकिएको छ । नयाँ टेण्डरको काम पनि सुरु भएको छैन । अहिले खासगरी वडा कार्यालयहरुमा सामाजिक सुरक्षा भत्ताको लागि विवरण अध्यावधिक गर्ने र दैनिक प्रशासनिक कार्यहरु मात्रै बढी हुने गरेका छन् । वर्षभरीमा फुर्सद हुने समय पनि यही र यही बेलामा काठमाडौंमा विभिन्न प्रकारका व्यापारिक लगायतका मेलाहरु पनि लाग्ने भएकोले हामीहरु काठमाडौँ आएका छौं । यही बेलामा महासंघ (गाउँपालिका राष्ट्रिय महासंघ) को रणनीतिक योजना पनि बनाउदै छौं,’ गाउँपालिका राष्ट्रिय महासंघका एक पदाधिकारीले वडापालिकासँग भने ।
नाइमा अटो शोमा गाडी बुकिङ गर्नेलाई नगद छुटदेखि विभिन्न सुविधा र उपहार प्रदान गर्ने प्रतिस्पर्धामा गाडी विक्रेताहरु छन् ।
देश संघीयतामा गएपछि गठन भएका स्थानीय सरकारहरु सवारी साधनको ठूलो उपभोक्ता बनेका छन् । दुर्गमका स्थानीय सरकारहरुले अफरोड गाडी बढी खरिद गर्ने गरेका छन् भने सहरी र अर्धसहरी क्षेत्रका स्थानीय सरकारहरुले लक्जरियस गाडी खरिदमा बढी प्राथमिकता दिएका छन् ।
यद्यपि, गाडी विक्रेताहरुले स्थानीय सरकारलाई केन्द्रित गरेर कुनै स्कीम ल्याएका छैनन् ।
म्यान थपियो नाइमा अटो शोको
यसैबीच, अपेक्षा गरेभन्दा बढि दर्शकको आगमनले प्रर्दशनी स्थलमा रौनक छाएको भन्दै नाइमा अटो शोको समय १ थप भएको छ । सुरुमा ५ दिन खुल्ने भनिएको एक्स्पोमा अवलोकनकर्ताहरुको मागलाई थोरै समयमा सम्बोधन गर्न गाह्रो भएपछि नाइमाले एकदिन प्रदर्शन अवधि थप गरेको हो ।
आफूलाई मनपर्ने सवारीसाधनहरु अवलोकन गर्ने, सोधपुछ गर्ने, बुकिङ्ग गर्ने, साथै खरिद गर्नेहरुको घुइचो रहेको प्रदर्शनी शनिबारको मुसलधारे पानीमा पनि निर्वाध संचालन भयो । अरु दिन कार्यालयको कामकाजमा व्यस्त रहने व्यक्तिहरुले शनिबार उत्साहका साथ प्रदर्शनीमा सहभागिता जनाए ।
एक्स्पोका प्रारम्भिक ३ दिनमा सर्वसाधरणका साथै बरिष्ठ कलाकार, कुटनीतिक नियोगका कर्मचारीहरु, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरु, व्यापारी साथीहरु लगायत समाजका सबै तहका व्यक्तिहरुले उपस्थिति जनाएका छन् । प्रदर्शनीको पहिलो दिन १५ हजार, दोश्रो दिन साढे १३ हजार, तेस्रो दिन साढे १९ हजार र शनिबार २१ हजार पाँचसय अवलोकनकर्ताहरुले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५मा सहभागिता जनाएका छन् ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् । श्रावण २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि खुला रहने भनिएको प्रदर्शनी अब श्रावण २६ गते सोमबारसम्म खुल्ने भएको हो ।