नाइमा नेपाल मोबिलिटी एक्स्पो भव्य रूपमा सुरु: पहिलो दिन नै २९ हजार बढीले गरे अवलोकन

काठमाडौँ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मङ्गलबारदेखि काठमाडौँको नेपाल प्रहरी क्लबस्थित 'ब्लु पेभिलियन अडिटोरियम हल' मा भव्य रूपमा सुरु भएको छ। ६ दिनसम्म (साउन ३१ गतेसम्म) चल्ने एक्स्पोको पहिलो दिन नै २९ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्।

विशेष औपचारिक कार्यक्रमका बीच ‘स्पेसल प्यानल अफ गेस्ट’ ले एक्स्पोको उद्घाटन गरेका थिए। पहिलो दिन नै प्रदर्शनीमा विभिन्न ब्रान्डका ४८ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिएका छन्। मेला अवधिभर करिब डेढ लाख दर्शकले एक्स्पोको अवलोकन गर्ने आयोजकको अपेक्षा छ।

नीतिगत स्थायित्व र लगानीको वातावरण बनाउन माग

उद्घाटन समारोहमा बोल्दै नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले यो एक्स्पो सवारीसाधनको किनबेच गर्ने थलो मात्र नभई सम्पूर्ण 'मोबिलिटी इकोसिस्टम' लाई एकै ठाउँमा ल्याउने साझा मञ्च भएको बताइन्। पटक-पटक फेरिने नीतिगत व्यवस्थाले व्यवसायीहरूमा अनिश्चितता सिर्जना गरेको र नयाँ लगानी भित्रिन समस्या भएको उल्लेख गर्दै उनले निजी क्षेत्रसँगको छलफलपछि मात्रै नीति परिवर्तन गर्न सरकारलाई सुझाव दिइन्।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई सधैँ राजस्वको स्रोत मात्र नभई आवश्यकताको क्षेत्रको रूपमा हेर्नुपर्नेमा जोड दिए। नेपालमा अटोमोबाइल क्षेत्रमा संसारकै सबैभन्दा उच्च भन्सार दर रहेको उल्लेख गर्दै उनले विद्युतीय सवारीका लागि दीर्घकालीन र स्थिर नीतिको माग गरे।

त्यस्तै, नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले यातायात क्षेत्रमा हुने लगानीले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए भने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा मोबिलिटी क्षेत्रको करिब ७ प्रतिशत योगदान रहेको तथ्याङ्क पेस गर्दै यसलाई आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार्नुपर्ने बताए।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सवारीसाधनको बिक्रीसँगै बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) र सडक सुरक्षाका क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गर्न व्यवसायीहरूलाई आग्रह गरे।

पहिलो दिन नै अन्तरक्रिया र सत्रहरू

एक्स्पोको पहिलो दिन ‘इन्भेस्टमेन्ट एन्ड फरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडीआई): मोबिलाइजिङ-फ्युल फर इकोनोमिक ग्रोथ’ विषयक प्यानल छलफल आयोजना गरियो। पूर्वबैंकर अनिलकेशरी शाहले सहजीकरण गरेको उक्त सत्रमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष वैद्य प्यानलिस्टका रूपमा सहभागी थिए। पहिलो दिनको लर्निङ सेसनमा तीन सयभन्दा बढीको सहभागिता रहेको थियो।

साथै, ग्रान्डि इन्टरनेसनल हस्पिटलका तर्फबाट ‘बेसिक लाइफ सपोर्ट एन्ड इमिडियट केयर एफ्टर रोड ट्राफिक एक्सिडेन्ट’ सम्बन्धी विशेष प्रस्तुति पनि दिइएको थियो।

बैंक तथा वित्तीय संस्थाका विशेष अफर

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजित मेलामा नयाँ ब्रान्डका विद्युतीय कार, ई-स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनहरू मुख्य आकर्षणका रूपमा रहेका छन्।

एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन्। मेलाको को-स्पोन्सरमा ग्लोबल आइएमई बैंक र बैंकिङ पार्टनरमा एनएमबी बैंक तथा सिद्धार्थ बैंक रहेका छन्। अन्तर्राष्ट्रिय तथा स्वदेशी बहुराष्ट्रिय कम्पनीहरू विभिन्न भूमिकामा साझेदारका रूपमा जोडिएका छन्।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  २२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update