
काठमाडौँ । लोक सेवा आयोगले सार्वजनिक सेवामा आकर्षण बढाउन ७७ वटै जिल्ला सदरमुकामसम्म प्रचार प्रसार गर्ने भएको छ ।
आयोग स्थापनाको ७५ वर्ष पुगेको उपलक्षमा हीरक जयन्ती मनाउन सबै जिल्ला सदरमुकाम रहेका स्थानीय तहहरुबाट कम्तिमा ५ जना विद्यार्थीलाई सहभागी गराएर लोक सेवा पहुच कार्यक्रम गर्न लागेको हो ।
यो कार्यक्रमका लागि जिल्ला सदरमुकाम रहेका गाउँपालिका तथा नगरपालिकामा कम्तिमा १० जोड २ वा सोभन्दा बढी अध्ययनरत कम्तिमा २ जना छात्रासहित ५ जना विद्यार्थी सहभागी गराउने आयोगले जानकारी दिएको छ । जिल्ला सदरमुकाम रहेका स्थानीय तहहरुले ती ५ जना विद्यार्थीलाई आयोगको पहुच कार्यक्रममा सहभागी हुन पठाउनु पर्नेछ ।
आयोगले सातै प्रदेशमा यो कार्यक्रम आयोजना गर्नेछ । कार्यक्रम भदौ १६ गतेदेखि संचालन हुनेछ भने भदौ २७ गते सकिनेछ । कार्यक्रममा सहभागी हुनेको खर्च भने सम्बन्धित स्थानीय तहले नै गर्नुपर्नेछ ।
आयोगले दिएको जानकारी अनुसार जिल्ला सदरमुकाम रहेका स्थानीय तहबाट कम्तिमा २ जना छात्रासहित ५ जना विद्यार्थी र सम्बन्धित स्थानीय तहका एक जना पदाधिकारी वा अधिकृत कर्मचारी गरी ६ जना सहभागी हुन पाउने छन् ।
लोक सेवा आयोगको ऐतिहासिक विकासक्रम, सबैधानिक एवम् कानुनी व्यवस्था र आयोगको कार्यप्रक्रिया बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । यो कार्यक्रमले युवा विद्यार्थीमाझ लोक सेवा आयोगले लिने परीक्षमा आवेदन दिन उत्साह बढाउने एवम् सार्वजनिक सेवाप्रति आकर्षण र विश्वास बढाई उत्कृष्ट कर्मचारी छनोट र नियुक्ति सुनिश्चित गर्ने उदेश्यले गर्न लागिएको हो ।
कहिले कहिले हुन्छ कार्यक्रम ?
आयोगले दिएको जानकारी अनुसार कोशी प्रदेशमा भदौ १६ गते कार्यक्रम हुनेछ । यसमा १४ जिल्लाका १३० जना सहभागी हुनेछन् । यस्तै भदौ १८ गते मधेश प्रदेशमा कार्यक्रम आयोजना हुनेछ । यो कार्यक्रममा ८ जिल्लाका १०० जना सहभागी हुनेछन् ।
भदौ २० गते गण्डकी प्रदेशको पोखरामा कार्यक्रम संचालन हुनेछ । यो कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाबाट ११० जना सहभागी हुनेछन् । यस्तै, भदौ १६ गते लुम्बिनी प्रदेशको बुटवलमा कार्यक्रम हुनेछ । यो कार्यक्रममा सो प्रदेशका १२ जिल्लाका ११० जना सहभागी हुनेछन् ।
आयोगका अनुसार भदौ १८ गते कर्णाली प्रदेशको सुर्खेतमा कार्यक्रम हुनेछ । सो कार्यक्रमा कर्णाली प्रदेशका १० जिल्लाबाट १०० जना सहभागी हुनेछन् । भदौ २० गते सुदुरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम हुनेछ । सो कार्यक्रममा सुदुरपश्चिम प्रदेशका ९ जिल्लाबाट १०० जना सहभागी हुनेछन् । यस्तै भदौ २७ गते बागमती प्रदेशको हेटौडामा कार्यक्रम हुनेछ । सो कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाबाट १३० जना सहभागी हुनेछन् ।
कार्यक्रममा सहभागी हुनेहरुलाई प्रमाणपत्र र हीरक जयन्ती वर्षको लोगो प्रदान गरी नवोदीत मित्रको रुपमा नेटवर्किङ गरिने आयोगले जानकारी दिएको छ ।