
काठमाडौँ । लोक सेवा आयोगले आफ्नो हीरक जयन्ती स्थानीय तह र विद्यार्थीसँग संलग्न भएर मनाउन लागेको छ । आयोगले ७७ वटै जिल्लाका जिल्ला सदरमुकाम रहेका स्थानीय तहलाई कम्तिमा १२ पास गरेका विद्यार्थीसहित सहभागी हुन पत्राचार गरिसकेको छ ।
आयोगले सरकारी जागिरमा नयाँ र योग्य जनशक्ति सहभागी होस् भन्ने ध्येयले स्थानीय सरकारहरुसँग समन्वय गरी कम्तिमा १२ कक्षा पास गरेका विद्यार्थीसँग अन्तरक्रिया पनि गर्न लागेको छ । आयोगले भदौ १६ गतेदेखि विद्यार्थीसहित स्थानीय तहसँग अन्तरक्रिया गर्न लागेको हो ।
आयोग स्थापनाको ७५ वर्ष पुगेको उपलक्षमा हीरक जयन्ती मनाउन सबै जिल्ला सदरमुकाम रहेका स्थानीय तहहरुबाट कम्तिमा ५ जना विद्यार्थीलाई सहभागी गराएर लोक सेवा पहुच कार्यक्रम गर्न लागिएको आयोगले जानकारी दियो ।
यो कार्यक्रमका लागि जिल्ला सदरमुकाम रहेका गाउँपालिका तथा नगरपालिकामा १२ कक्षा वा सोभन्दा बढी अध्ययनरत कम्तिमा २ जना छात्रासहित ५ जना विद्यार्थी सहभागी गराउने आयोगले जानकारी दिएको छ । जिल्ला सदरमुकाम रहेका स्थानीय तहहरुले ती ५ जना विद्यार्थीलाई आयोगको पहुच कार्यक्रममा सहभागी हुन पठाउनु पर्नेछ ।
आयोगले सातै प्रदेशमा यो कार्यक्रम आयोजना गर्नेछ । कार्यक्रम भदौ १६ गतेदेखि संचालन हुनेछ भने भदौ २७ गते सकिनेछ । कार्यक्रममा सहभागी हुनेको खर्च भने सम्बन्धित स्थानीय तहले नै गर्नुपर्नेछ ।
आयोगले दिएको जानकारी अनुसार जिल्ला सदरमुकाम रहेका स्थानीय तहबाट कम्तिमा २ जना छात्रासहित ५ जना विद्यार्थी र सम्बन्धित स्थानीय तहका एक जना पदाधिकारी वा अधिकृत कर्मचारी गरी ६ जना सहभागी हुन पाउने छन् ।
उद्घाटन कार्यक्रममा सम्बन्धित प्रदेशका प्रमुख सचिव, प्रदेश लोक सेवा आयोगका प्रदेश सचिव, कार्यक्रम स्थानका प्रमुख जिल्ला अधिकारी, सम्बन्धित प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक, सम्बन्धित प्रदेशका विश्वविद्यालयका कम्तीमा १० जना विद्यार्थी, जिल्ला प्रहरी प्रमुख र शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखसमेत सहभागी हुनेछन् ।
यस्तै, कार्यक्रम हुने स्थलका स्थानीय तहका प्रमुख र उपप्रमुख, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदुर पश्चिमाञ्चल विश्वविद्यालयका रजिष्टार पनि सम्बन्धित प्रदेशमा सञ्चालन हुने कार्यक्रममा उपस्थित हुने कार्यक्रम छ ।
आयोगले नेपालको दुरदराज, कुना–कुनासम्म लोक सेवा आयोगले अवलम्बन गरेका सिद्धान्तहरु गोपनीयताको सिद्धान्त, दोहोरो सांकेतीकरण (कोडिङ्ग) को सिद्धान्त, गोप्य काममा संलग्नता/असंलग्नताको सिद्धान्त, परीक्षाका विभिन्न चरणमा विषय विज्ञको संलग्नताको सिद्धान्त, खुला प्रतिष्पर्धा, समान अवसर, निश्पक्षताको सिद्धान्त, योग्यता प्रणालीको सिद्धान्त र सम्पूर्ण गोप्य प्रणालीका बारेमा छलफल गर्नेछ ।
आयोग स्रोतले दिएको जानकारी अनुसार दरखास्त संकलन, प्रश्नपत्र निर्माण एवम् परिमार्जन, लिखित परीक्षा सञ्चालन, उत्तरपुस्तिकामा सांकेतिकरण (प्रथम र दोश्रो राख्ने) गर्ने कार्य, प्रथम कोड परीक्षा सञ्चालन गर्ने सम्बन्धित कार्यालय र द्वितीय कोड केन्द्रीय कार्यालयमा आई अर्काे शाखाबाट गर्ने, १४ वटा कार्यालयमा केन्द्रीय प्रतिनिधि गई विज्ञसहितको टोलीबाट मात्र अन्तर्वार्ता लिने प्रबन्ध जस्ता आयोगले गर्ने चरणको बारेमा विद्यार्थीलाई जानकारी गराइनेछ ।
यस्तै, उत्तरपुस्तिका परीक्षण, केही पदको उत्तरपुस्तिकाको दोहोरो परीक्षण, लिखित परीक्षाको नतिजा प्रकाशन, अन्तर्वार्ता सिफारिस, योग्यताक्रम सूची प्रकाशन जस्ता चरणको विस्तृत रुपमा विद्यार्थीलाई जानकारी गराई योग्यता, स्वच्छता र निश्पक्षता मार्फत स्वदेशमै बसी देशको सेवा गर्ने अवसर लिन प्रोत्साहित गरिने गरी तय भएको आयोगले जानकारी दिएको छ ।
भदौ १६ गते कोशी र लुम्बिनी प्रदेशमा, भदौ १८ गते मधेश र कर्णाली प्रदेशमा, भदौ २० गते गण्डकी र सुदूरपश्चिम प्रदेशमा र भदौ २७ गते बागमती प्रदेशमा कार्यक्रम हुने गरी तय भएको छ । अन्य सबै प्रदेशको प्रदेश राजधानीमा कार्यक्रम हुने गरी तय भएपनि लुम्बिनी प्रदेशको हकमा बुटवलमा हुने गरी तय भएको आयोगले जानकारी दियो ।
सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने कार्यक्रमको उद्घाटन लोक सेवा आयोगका अध्यक्षले गर्नेछन् भने बागमती प्रदेशको कार्यक्रममा सहभागिता एवम् समापन पनि अध्यक्ष सहभागी हुनेछन् ।सुदूरपश्चिम प्रदेशमा १५ गते गौरा पर्व परेकोले कार्यक्रम संशोधन भएको छ ।
आयोगको दोश्रो रणनीतिक योजना (२०७९/०८०–०८३/०८४) मा देशको सबै भेगमा रहेका उर्जाशील, उच्च मनोबलयुक्त, सक्षम र योग्य उम्मेदवारहरुलाई लोक सेवा आयोगको परीक्षामा सहभागी गर्ने र क्षमतावान, प्रतिभावान र नैतिकवानलाई आकर्षण गर्न खोजेको छ ।
आयोगले प्रदेश, स्थानीय तह, विश्वविद्यालयहरुको समन्वयमा सातै प्रदेशका सबै जिल्लाहरुबाट सहभागी हुने गरी लोक सेवा आयोगको पहुँच कार्यक्रम गर्न लागेको हो । यस्तो अवसरलाई सबै पालिकाहरुको समन्वय र सहकार्य गरी जनशक्तिलाई लोक सेवा आयोगबाट सञ्चालन हुने परीक्षामा सहभागी हुन प्रोत्साहन हुने विषयमा पालिकाहरुको सक्रिय सहमागिता रहने विश्वास आयोगको छ ।
केही स्थानीय सरकारहरुले आफ्नै स्रोतमा लोक सेवाको तयारी कक्षा पनि संचालन गर्ने गरेका छन् । यस्तो पृष्ठभूमिमा आयोग आफैले स्थानीय तहहरुसँग समन्वय गरी कार्यक्रम गर्न लागेकामा स्थानीय तहका जनप्रतिनिधिहरुले अवसरको रुपमा लिएका छन् ।