Odapalika - The Fourth Estate - चौथो अंग
व्यावसायिक मौरीपालनमा किसान आकर्षित, यसरी सहयोगी बने स्थानीय सरकारहरु

भोजपुर । भोजपुरका किसान पछिल्लो समय व्यावसायिक मौरीपालनतर्फ आकर्षित भइरहेका छन् । 

एकपटक लगानी गरेर सामान्य हेरचाह मात्र गरे पुग्ने, लागत कम लाग्ने र बजारमा सजिलै माग हुने भएकाले मौरीपालन किसानको रोजाइको पेसा बन्दै गएको हो ।

परम्परागत खेतीसँगै नयाँ सम्भावना खोजिरहेका किसानले अहिले मौरीपालनलाई आयआर्जनको प्रमुख  साधन बनाउन थालेका छन् । टेम्केमैयुङ, पौवादुङमा, रामप्रप्रसादराई गाउँपालिकासँगै प्रायः यहाँ सबै स्थानीयतहका किसानहरुले मौरीपालन गर्दै आएका छन् । 

रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेमा मौरीपालनको विशेष सम्भावना देखिन्छ । यहाँका अधिकांश किसान अहिले व्यावसायिक मौरीपालनमा संलग्न छन् । नजिकै प्रशस्त वनजङ्गल, फूल फुल्ने वातावरण र मौरीको लागि उपयुक्त मौसम भएकाले बाक्चाखा, भामला, छापगाउँलगायत स्थानीय व्यवसायिक मौरीपालनमा लागेका छन् ।

स्थानीय सरकारको पहलले मौरीपालन अझै सहज बनेको छ । रामप्रसादराई गाउँपालिका–६ का अध्यक्ष एकराज आचार्यका अनुसार किसानलाई आधुनिक मौरीपालनमा प्रोत्साहित गर्न दुई चरणमा तालिम दिइएको छ । तालिममा सहभागीले आधुनिक मौरीघार बनाउने, मौरीको हेरचाह गर्ने, रोग व्यवस्थापन र मह संकलन गर्ने प्रविधि सिकेका छन् ।  

‘विगतमा किसानले आ–आफ्नै तरिकाले मुढेघारमा मौरी पाल्दै आएका थिए । अहिले हामीले उनीहरूलाई प्रविधिमैत्री मौरीपालनमा लैजाँदै छौँ । यसले किसानको आम्दानी बढाउन मद्दत गर्नेछ,’ वडाध्यक्ष आचार्यले भने ।

स्थानीय किसान शरणकुमार वोहोरा व्यावसायिक मौरीपालनमा जुट्नु भएका उदाहरणीय पात्र हुन् । उनले तालिम लिएपछि आधुनिक घार निर्माण सुरु गरेका छन् । अहिले उनीसँग ३५ वटा मौरीघार छन् । 

‘पहिले मुढेघारमै मौरी पाल्थेँ, उत्पादन पनि कम हुन्थ्यो,  अहिले आधुनिक घारमा मौरी राख्दा उत्पादन बढी छ । मौरीले मेरो आयआर्जनमा परिवर्तन ल्याएको छ,’ उनले भने ।

गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार मौरीपालनलाई प्रोत्साहित गर्न नीति तथा कार्यक्रममा प्राथमिकतासहित समावेश गरिएको छ । 

‘मौरीपालनसहित कृषि व्यवसायलाई आत्मनिर्भर र व्यावसायिक बनाउन योजनाबद्ध रूपमा काम भइरहेको छ । किसानलाई आवश्यक प्राविधिक ज्ञान र उपकरण उपलब्ध गराइएका छौँ । यसले गाउँमा रोजगारी सिर्जना गर्नुका साथै गाउँको अर्थतन्त्रलाई सबल बनाउनेछ,’ अध्यक्ष राईले भने ।

वैदेशिक रोजगारीमा जाने विकल्पभन्दा गाउँमै बस्ने वातावरण मौरीपालनले बनाएको किसानहरू बताउँछन् । बजार विस्तार, गुणस्तरीय प्याकेजिङ र ब्राण्डिङ गर्न सके भोजपुरमा उत्पादित मह देशभरि मात्र नभई विदेशमा पनि पुर्‍याउन सकिने सम्भावना रहेको मौरीपालक किसानको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update