भोजपुर । जनस्तरमा लोपोन्मुख बन्दै गएका परम्परागत (रैथाने) ज्ञान, सीप, परम्परा र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिकामा ‘रैथाने ज्ञान महोत्सव’ सम्पन्न भएको छ ।
गाउँघरमा रहेका मौलिक ज्ञान र परम्परालाई संस्थागत गर्दै नयाँ पुस्तासम्म पुर्याउने लक्ष्यसहित पाँच दिनसम्म महोत्सव सञ्चालन गरिएको हो ।
सरोकारवालाहरूको सहकार्यमा आयोजना गरिएको महोत्सवमा रैथाने ज्ञान, संस्कृति, शिक्षा, पर्यटन र सामाजिक चेतनासँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गरिएका छन् । महोत्सवमार्फत स्थानीय पहिचानलाई बलियो बनाउने र समुदायभित्र रहेको ज्ञानलाई साझा गर्ने प्रयास गरिएको आयोजकहरूको भनाइ छ ।
रैथाने ज्ञान महोत्सवका अवसरमा किरात संस्कृतिसँग जोडिएको साकेला शिलीसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । प्रशिक्षणमा स्थानीय युवा तथा सहभागीहरूले परम्परागत नृत्य, गीत र संस्कृतिको अभ्यास गरेका छन् । यसले युवा पुस्तामा आफ्नो मौलिक संस्कृतिप्रति चासो र गर्वको भावना विकास गर्न सहयोग पुगेको बताइएको छ ।
त्यसैगरी, ‘पर्यटनमा रैथाने स्वाद र स्वामित्व’ विषयमा पर्यटन क्षेत्रमा आबद्ध सचिन डाँगी, दिलकुमार राई र पावीहाङ राईबीच समूहगत बहस कार्यक्रम गरिएको छ । छलफलमा वक्ताहरूले रैथाने खानपान, स्थानीय उत्पादन र सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्दै रोजगारी र आर्थिक अवसर सृजना गर्न सकिने धारणा व्यक्त गरे । स्थानीय समुदायको स्वामित्व र सहभागिताबिना पर्यटन दिगो नहुनेमा उनीहरुको जोड छ ।
महोत्सवअन्तर्गत ‘शिक्षामा स्वदेशी सपना’ विषयमा गाउँपालिका अध्यक्ष थामबहादुर राई, सूर्य राई र रजत राईले समूहगत बहस गरेका थिए । बहसमा स्थानीय आवश्यकता अनुसारको शिक्षा प्रणाली विकास, सीपमूलक शिक्षा र स्वदेशमै सम्भावना सृजना गर्ने विषयमा गहन विचारविमर्श गरिएको छ ।
त्यसैगरी, ‘लोक रिझाइको राजनीति’ विषयमा रिझन रानामगर, यजस्वी राई र प्रकाश राईबीच समूहगत बहस गरिएको छ । रैथाने मूल्य, मान्यता र संस्कृतिलाई नीति निर्माण तथा राजनीतिक अभ्याससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा केन्द्रित छलफल गरिएको कार्यक्रम संयोजक तायाजोङ मिडिया एन्ड प्रोडक्सन प्रालिका प्रमुख राजन राईले जानकारी दिए । उनका अनुसार विभिन्न क्षेत्रका विज्ञ, संस्कृतिकर्मी र स्थानीय अगुवाहरूलाई एउटै थलोमा भेला गरी रैथाने ज्ञानका विषयमा गहन छलफल गरिएको हो ।
गाउँपालिका अध्यक्ष थामबहादुर राईले रैथाने ज्ञान, सीप र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले विगत तीन वर्षदेखि गाउँपालिकाले निरन्तर रूपमा रैथाने ज्ञान महोत्सव आयोजना गर्दै आएको बताए । विशेषगरी गाउँघरमा रहेका मौलिक संस्कृति, परम्परा र सीपलाई जगेर्ना गर्दै तिनलाई दिगो बनाउने लक्ष्यका साथ कार्यक्रमलाई निरन्तरता दिइएको उनको भनाइ छ ।
‘रैथाने ज्ञानको संरक्षण गरेर संस्कृति तथा परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले हामीले निरन्तर कार्यक्रम गर्दै आएका छौँ । विभिन्न विषयका विज्ञलाई भेला गरी उहाँहरूको धारणालाई सार्वजनिक गर्दै ज्ञान हस्तान्तरणको माध्यममा जोड्ने प्रयास गरेका छौँ,’ अध्यक्ष राईले भने ।
उनका अनुसार रैथाने ज्ञान महोत्सवले स्थानीय पहिचानको संरक्षणमात्र नभई सामाजिक एकता, सामुदायिक सहभागिता र स्थानीय विकासमा पनि सकारात्मक योगदान पुर्याएको छ । आगामी दिनमा महोत्सवलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने योजना रहेको गाउँपालिकाले जनाएको छ ।







