
ढोरपाटन– छ वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थालेको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ ।
रोयल रेड र इटालिएन फुजी उनको बगानका आकर्षण बनेका छन् । प्रारम्भमा १०० बिरुवा रोपेका उनले ८० वटा मात्र जोगाउन सफल भएको सुनाए ।
जातका स्याउको बिरुवा लिएर लगाएका रोकाको हाल १४० बोट छन् जसले फल दिएका छन् । उनको बगान चार रोपनीमा फैलिएको छ । उनी छ रोपनीमा खेती विस्तार गर्ने योजनामा छन्। अध्यक्ष रोकाले भने, ‘अब १० रोपनीमा खेती गर्ने सोचमा छु । ‘
स्याउखेतीका निम्ति उनले एक लाख ५० हजार लगानी गरेको बताए। विभिन्न निकायले अनुदानमा बिरुवा दिँदा खासै खर्च परेको छैन । यस वर्ष करिब चार क्विन्टल स्याउ उत्पादन भएको अध्यक्ष रोकाले बताए।
कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवाल सँचाइ हुने, पानी कम पर्ने र घाम बढी लाग्ने स्थानमा स्याउखेती उपयुक्त हुने बताउँछन् । ढोरपाटन र निसेल ढोरमा व्यावसायिक रूपमा स्याउखेती हुँदै आएको छ । जिल्लाभर ५६ दशमलव ९२ हेक्टर क्षेत्रमा स्याउखेत हुने गरेको जानारी दिँदै उनले बर्सेनि ३३१ दशमलव दुई मेट्रिक टन स्याउ उत्पादन बताए।