काठमाडौँ । पोखरामा स्कुल बस दुर्घटना हुँदा ५ जनाको निधन भएको छ।
शुक्रबार बिहान पोखरा महानगरपालिका–२८ माझठानामा स्कुल बस दुर्घटना भएको हो । कालिका इङ्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी ४ विद्यार्थी र एक स्थानीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए।
उनका अनुसार बसमा १९ विद्यार्थी, एक चालक र लिफ्ट मागेर चढेका एक स्थानीय थिए।
लिफ्ट लिएर चढेका तिनै स्थानीयको पनि दुर्घटनामा मृत्यु भएको हो। उनी पोखरा–२८ का ६५ वर्षीय बाबुराम तिवारी रहेको खुलेको छ ।
मृत्यु हुने विद्यार्थीहरूमा अन्दाजी १२/१३ वर्षकी ममता तिवारी, १३/१४ वर्षीय अशिम कंडेल, नामथर नखुलेको १३/१४ वर्षीया २ बालिका छन्।
अन्यलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको प्रहरीको भनाइ छ ।


