काठमाडौँ । पोखरा महानगरपालिकाको पञ्चवर्षीय नगर उर्जा योजना अनुसार नगरवासीहरुलाई विद्युतिय चुल्लो प्रदान गर्ने भएको छ ।
महानगरपालिका भित्रका २५ प्रतिशत घरधुरीमा विद्युतीय चुल्होको पहुँच पुर्याउने लक्ष्यसहित सोमबारदेखि पोखरा महानगरपालिका– २२ बाट विद्युतिय चुल्लो वितरणको अभियान सूरुवात गर्न लागिएको मेयर धनराज आचार्यले जानकारी दिए ।
उनका अनुसार अनुसार सोमबार वडा नं. २२ का करिब २ सय परिवारलाई विद्युतिय (इन्डक्सन) चुल्हो वितरण गर्न लागिएको हो ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा वडा नं.२२ का कालाबाङ्, भुम्दी लगायतका विभिन्न ५ वटा टोलमा बसोबास गर्ने वडावासीहरुलाई उक्त चुल्हो वितरणको व्यवस्थापन गरिएको वडा अध्यक्ष हिमलाल बरालले जानकारी दिए ।
वडाध्यक्ष बरालका अनुसार अभियानका क्रममा वडाका करिब २ हजार बढि चुल्हो वितरण गरिने छ । पहिलो चरणमा २ सय चुल्हो वितरण गर्न लागिएको हो । खाना पकाउने ग्याँसको अभाव भइरहेको बेला उपलब्ध गराउन लागिएको इन्डक्सन चुल्होले नगरवासीहरुलाई ठुलो राहत मिल्ने विश्वास गरिएको छ ।
सन् २०२९ सम्ममा पोखरा महानगरका २५ प्रतिशत घरमा विद्युतीय चुलोको पहुँच सुनिश्चित गर्ने नगर उर्जा योजनाको लक्ष्य रहेको छ । जर्मन अन्तर्राष्ट्रिय सहयोग नियोग (जीआईजेड), वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, विन्डपावर नेपाल र युरोपियन युनियनको सहयोगमा पोखरा महानगरपालिकाको सहरी योजना आयोगले यो नगर ऊर्जा योजना तयार गरेको हो ।
महानगरले विसं २१०० (सन् २०४३) सम्म पोखरालाई कार्बन तटस्थ सहर बनाउने लक्ष्य अनुसार ‘दक्ष र दिगो ऊर्जा मार्फत समुन्नत पोखरा’ को सोच र ‘ऊर्जा स्वच्छता र दक्षता मार्फत कार्बन तटस्थ पोखराको निर्माण’को ध्येय तय गरिएको छ ।
पोखराको वर्तमान ऊर्जा उपभोगका हिसाबले खाना पकाउनका लागि प्राथमिक रूपमा प्रयोग भएका इन्धनमा एलपीजीको हिस्सा ८४.२५ प्रतिशत छ । बायोग्यास ५.२५ प्रतिशत, काठ दाउरा १०.२७ प्रतिशत र विद्युतको मात्र ०.२३ प्रतिशत छ ।
घरायसीस्तरमा एलपीजीको निर्भरता ९८.४५ प्रतिशत पुगेको छ भने व्यावसायिक क्षेत्रमा यो आँकडा ८४.२५ प्रतिशत छ । वडागत रुपमा दाउराको प्रयोग वडा नम्बर २८ मा सबैभन्दा बढी ६९.४२ प्रतिशत र वडा नम्बर ९ मा सबैभन्दा कम ०.६२ प्रतिशत छ ।



