
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) का कारण निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक तत्काल पक्राउ पर्ने खतराबाट जोगिएका छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोनलमा दमन गरेको अभियोगमा तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक विरुद्ध पक्राउ गर्नुपर्ने दबाब बढेको भएपनि सोही आन्दोलनमा भएको आगजनी र लुटपाटमा मेयर बालेनलाई पनि पक्राउ गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने जोखिम बढेपछि सरकार पछि हटेको हो ।
असोज २० गते हामी नेपाल नामक गैरसरकारी संस्थाका प्रतिनिधि सुदन गुरुङसहितका व्यक्तिहरु निवतर्नमान प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक विरुद्ध जाहेर लिएर काठमाडौँ जिल्ला प्रहरीमा गएका थिए । जेनजी आन्दोलनमा तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको निर्देशनमा व्यापक धरपकड र दमन भएको तथा सोही कारण ७० जनाभन्दा बढी नागरिकले ज्यान गुमाउनु परेको भन्दै उनीहरुलाई पक्राउ गर्नुपर्ने माग गुरुङको छ । गुरुङ अहिले जेनजी आन्दोलनका प्रमुख व्यक्ति नै आफू रहेको भन्ने जसरी प्रस्तुत भइरहेका छन् ।
गुरुङले ओली र लेखकलाई पक्राउ गरेर कारवाही अघि बढाउनु पर्ने निवेदन लिएर प्रहरीमा गएपछि सो निवेदन दर्ता गर्न गृहमन्त्री ओमप्रकाश अर्यालले निर्देशन दिएका थिए । तर, प्रहरीले बालेन विरुद्ध पनि उजुरी आए दर्ता गर्ने कि नगर्ने भनेर प्रश्न गरेपछि गृहमन्त्री अर्याल रोकिएका स्रोतले जानकारी दियो ।
घटना विवरण
असोज २० गते सुदन गुङरुसहितका केही व्यक्तिहरु जेनजी आन्दोलनका दमनकर्ता भन्दै तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गरेर कारवाही गर्न माग सहितको निवेदन लिएर प्रहरीकोमा गएको थियो । तर, प्रहरीले सो निवदेन लिएन । यस्तो निवेदन आएपछि जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख रमेश थापाले सोको जानकारी आइजिपी चन्द्रकुबेर खापुङलाई गराए ।
संवेदनशील निवेदन आएको र सो दर्ता गर्नको लागि सुदन गुरुङले दबाब दिइरहेको जानकारी पाएपछि आइजी खापुङ सो बारेमा छलफल गर्न भन्दै नेपाल प्रहरीका केही उच्च अधिकारीसहित गृहमन्त्री अर्याललाई भेट्न गए । अर्यालले सो निवेदन दर्ता गर्नुपर्ने विचार राखे ।
एकातिर संवेदनशील अवस्था अर्काेतिर छानविन चलिरहेको समयमा प्रहरीले पक्राउ गर्दा परिस्थिति झन भढ्कने तर सोका बारेमा गृहमन्त्रीमा संवेदनशीलता नदेखिएको महसुस भएपछि आइजिपी खापुङ झस्किएका स्रोतको दाबी छ । त्यसपछि आइजिपी खापुङले ‘आगजनी र लुटपाटमा संलग्न भएको अभियोगामा बालेन विरुद्ध जाहेरी आए दर्ता गर्ने कि नगर्ने ?’ भन्ने प्रश्न गृहमन्त्री अर्यालसँग गरेका थिए । गृहमन्त्री अर्याल गृहमन्त्री हुनुअघिसम्म काठमाडौँ महानगरका मेयर बालेन साहका कानुनी सल्लाहकार हुन् ।
आइजिपी खापुङको यस्तो प्रश्नपछि गृहमन्त्री नाजवाफ बनेका एक सहभागीले बताए । त्यसपछि प्रधानमन्त्री शुशीला कार्कीलाई भटेर सोबारेमा छलफल गर्ने र छलफलको निष्कर्ष अनुसार अघि बढ्ने निक्र्याेल निकालिएको थियो ।
गृहमन्त्री र प्रहरी उच्च अधिकारीहरुको यस्तो छलफलपछि सोमबार साँझ प्रधानमन्त्री कार्कीसहित सुरक्षा प्रमुखहरुको बैठक बसेको थियो । सो बैठक राति अबेरसम्म बसेको स्रोतले जानकारी दियो । बैठकमा अहिलेको सुरक्षा अवस्था र जेनजी आन्दोनलको मर्मलाई कसरी आत्मसाथ गरेर अघि बढ्ने भन्ने विषयमा विमर्श भएको थियो ।
छलफलमा प्रहरीले तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्नुपर्ने हो भने सुरक्षा समितिबाट निर्णय गराउनु पर्ने र पक्राउ गर्न प्रधानमन्त्रीले लिखित निर्देशन दिनुपर्ने धारणा राखेको स्रोतले जानकारी दिएको छ । यद्यपि, अहिलेसम्म पनि तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्ने नगर्ने बारेमा सरकारले के निर्णय गरेको छ भन्ने यकिन जानकारी प्राप्त हुन सकेको छैन ।