
काठमाडौँ । आइतबारदेखिको लगातार वर्षका कारण धनगढी उपमहानगरपालिकाका धेरैजसो बस्ती डुवानमा परेका छन् । लगातार वर्षाका कारण धनगढीका घर डुबानमा परेका छन् भने डुबानमा फसेका ८ जनालाई प्रहरीले उद्धार गरेको छ ।
धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका चारजना र धनगढीको बेली गाउँका चारजना गरी ८ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोसीले जानकारी दिए ।
उनका अनुसार बेलीका सीताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उहाँसहित परिवारका ४ जनालाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ । त्यसैगरी, धनगढी–१३ श्रीलङ्काका एकै परिवारका चार जनाको उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखिएको छ ।
सूचना अधिकारी जोसीले गएराति देखिको भारी वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै २ हजार घरमा पानी पसेको बताए । धनगढीका ३, ४, १३, १, ७ र ११ नम्बर वडा वर्षाका कारण प्रभावित भएको छ ।