Odapalika - The Fourth Estate - चौथो अंग
कुलिङ पिरियडः ३ जना कर्मचारीसँग मिलेर रामहरि खतिवडाले यसरी गरे बद्मासी 

काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा उच्च तहका निजामती कर्मचारीलाई कुलिङ पिरियड नलाग्ने गरी गरिएको चलखेलमा संसद सचिवालय, २ वटा मन्त्रालयका कर्मचारी र राज्यव्यवस्था तथा शुसासन समितिका सभापति मिलेकाे देखिएको छ । 

प्रतिनिधिसभाले पारित गरिसकेको निजामती सेवा विधेयकको दफा ८२ को उपदफा ४ मा अवकास पाएका या राजीनामा दिएका निजामती कर्मचारीले २ वर्षसम्म संबैधानिक, कुटनीतिक र नेपाल सरकारले नियुक्त गर्ने पदमा बस्न नपाउने व्यवस्था छ । 

तर विधेयकको दफा ८२ को उपदफा ४ पछि उपदफा ५ र खण्डक क, ख र ग थपेर सहसचिव, सचिव र मुख्यसचिवलाई कुलिङ पिरियड नलाग्ने गरी व्यवस्था राखेर ऐन पारित गरिएको छ । 

पढ्नुहोस् यो समाचार : निजामती सेवामा सहसचिव, सचिव र मुख्य सचिवलाई कुलिङ पिरियड नलाग्ने, यसरी बनाइयो ‘उल्लू’

यो विषयमा वडापालिकाले समाचार प्रकाशन गरेपछि संसदको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित २४ मध्ये १२ जना सदस्य (सांसद)ले आज सभामुख देवराज घिमिरेलाई भेटेर चलखेल भएको बताए । 

राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिले उपसमितिले तयार पारेको प्रतिवेदनमा कुलिङ पिरियडको उपदफा ४, र ५ मात्र भएको तर कर्मचारीले प्रतिवेदन तयार पार्दा उपदफा ५ पछि खण्ड क, ख र ग थपेर उच्च पदस्थ कर्मचारीलाई अवकास या राजीनामा पछि संवैधानिक, कुटनीतिक र सरकारले नियुक्त गर्ने पदमा कुलिङ पिरियड नलाग्ने व्यवस्था थप गरेर झुक्याएको बताए । 

तर विकसित घटनाक्रमले भने खतिवडाले दाबी गरेजस्तो उनी यो प्रकरणमा निर्दोष भन्ने देखाएको छैन । 

सभामुखसँगको बैठकमा खतिवडाले राज्यव्यवस्था तथा सुसाशन समितिका सचिव सुरजकुमार दुरालाई प्रतिवेदनको अन्तिम भाषा हेरेर फाइनल गर्न भनेको र त्यहीबाट बद्मासी भएको बताए । 

सभामुखसँगको बैठकमा सचिव दुराले उपदफा ५ पछि खण्ड क क, ख र ग थपेर विधेयक मिलाइएको स्वीकार गरे । 

राज्यव्यवस्था समितिले अन्तिम रुप दिएको प्रतिवेदनमा खण्ड क ख र ग को व्यवस्था छैन । तर दुराले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सहसचिव मिरा आचार्य र कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव  मानबहादुर अर्यालसँग बसेर यी ३ वटा खण्ड थप गरेको स्वीकार गरेका छन् । 

सभामुखसँगको छलफलमै २ जना सहसचिव र आफु बसेर यो व्यवस्था राखेर विधेयक मिलाएको भने पनि अन्तिम प्रतिवेदनमा भने दुरा र सभापति खतिवडाकै मात्र हस्ताक्षर छ । 

दुरासँग मिलेर विधेयकमा चलखेल गर्ने २ जना सहसचिवहरुको नाम कतै उल्लेख छैन । तर दुराले भने यी २ जना कर्मचारीसँग बसेर विधेयक मिलाएको स्वीकार गरे । 

कर्मचारीहरुले मिलाएको विधेयकको प्रतिवेदन त्यसपछि सभापति रामहरि खतिवडाको हातमा पुग्यो । खतिवडाले हरेक पानामा सही गरेपछि दुराले पनि सही गरे । त्यसपछि प्रतिनिधिसभामा विधेयकको प्रतिवेदन पेश भयो । 

पेश भएको विधेयक छलफलपछि पारित हुँदासम्म दुरा र खतिवडाले थप भएको व्यवस्थावारे लुकाइरहे । 

हरेक पानामा हस्ताक्षर गरेका खतिवडाले कुलिङ पिरियडमा कमा र फुलिष्टप पनि परिवर्तन नभएको भनेर अन्तिमसम्म दाबी गरे । 

आत्मविश्वासपूर्ण यो दाबी गरिरहदा उनले अन्तिम प्रतिवेदनमा भएका विवादित विषय नहेरी हस्ताक्षर गरे भनेर पत्याउन गाह्रो पर्ने सांसदहरु बताउँछन् । 

सभापति खतिवडामाथि मिलेमतो गरेको भन्ने शंकाको सुइ तेर्सिने अर्को एउटा प्रकरण पनि छ । 

राज्यव्यवस्था समितिले पारित गरेर प्राविधिक भाषा मिलाउन कर्मचारीलाई जिम्मा लगाएको अन्तिम प्रतिवेदन हेर्न सांसदहरुले म ाग्दा खतिवडाले नदिएको सांसदहरु बताउँछन् । 

राज्यव्यवस्था समितिकी सदस्य सरिता प्रसाइँले सचिव र सभापतिले हस्ताक्षर गरेर अन्तिम रुप दिएको विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेश हुनुअघि हेर्न माग्दा सभापतिले ‘जरुरी छैन’ भनेर हेर्नसमेत नदिएको बताएकी छन् । 

कुलिङ पिरियड निष्प्रभावी पार्नेगरी तयार प्रतिवेदनको अन्तिम हस्ताक्षरकर्ताका हिसावले यो घटनाको नैतिक जिम्मेवारी खतिवडाकै काँधमा आउँछ । तर समितिका सदस्यले अन्तिम प्रतिवेदन माग्दा खतिवडाले किन लुकाए भन्ने प्रश्नले भने उनको नियतमाथि शंका गर्ने ठाउँ दिएको छ । 

अब राष्ट्रियसभाको जिम्मामा 

प्रतिनिधिसभाले पारित गरेको विधेयकलाई आजै राष्ट्रिय सभामामा पठाइएको छ । राष्ट्रियसभामा पुगेको विधेयकमा कुलिङ पिरियडमा भएको चलखेका व्यवस्था जस्ताको तस्तै पठाइएको छ । 

राष्ट्रियसभामा शंसोधन भएन भने पनि प्रतिनिधिसभामा फिर्ता आएपछि संशोधनको प्रक्रियामा लैजाने सभामुख देवराज घिमिरेले आश्वासन भने दिएका छन् । 

तर सार्वभौम संसदलाई छलेर विधेयममाथि चलखेल गर्ने ३ जना कर्मचारी र राज्यव्यवस्था तथा सुशासन समितिका सभापति खतिवडामाथि कस्तो कारवाही हुन्छ भन्ने विषय भने अहिलेसम्म अनुत्तरित छ । 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update