
काठमाडौँ । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध सजाय सुनाएको छ ।
भरत ताल निर्माणमा भ्रष्टाचार भएको ठहरसहित मेयर भरत थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना निर्धारण भएको निर्णय सुनाइएको हो ।
साउन २१ गते विशेष अदालतले मेयर थापा, कर्मचारीहरू विमलकुमार पोखरेल र सागर पौडेल तीनै जनाले बागमती नगरपालिकामा भरत ताल निर्माणका क्रममा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) हिनामिना गरेको भन्दै भ्रष्टाचार ठहर गरेको थियो।
सो दिन उनीहरु दोषी ठहर भएपनि के कति सजाय हुने भन्ने निर्णय भएको थिएन । आज विशेष अदालतले उनीहरुलाई सजाय सुनाएको हो ।
विशेष अदालतले भ्रष्टाचार ठहर गरेर बिहीबार तीनै जनालाई सजायसमेत निर्धारण गरेको हो। थापा, पोखरेल र पौडेललाई ८ वर्ष कैद र जनही १० करोड जरिवानाको सजाय निर्धारण भएको हो।
साथै पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ क्षतिपूर्ति भराउन भनिएको छ।
२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा थापा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार भई मेयर निर्वाचित भएका थिए ।