काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाले नगरपालिकाभित्रका बेरोजगारलाई सुचिकृत हुन भनेको छ ।
नगरपालिकाले फागुन १२ गते सुचना प्रकाशित गरी १५ दिनभित्रमा सुचिकृत हुन भनिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रतित भण्डारीले जानकारी दिए ।
नगरपालिकाले १८ वर्षदेखि ५९ वर्षसम्मका बेरोजगारलाई सुचिकृत हुन भनेको हो । नगरपालिकाले संघ र प्रदेश सरकारबाट संचालन हुने राष्ट्रिय रोजगार कार्यक्रम र बागमती नगरपालिकाको स्थानीय रोजगारमूलक कार्यक्रममा सहभागिता जनाउनको लागि सुचिकृत हुन भनिएको हो ।
सुचिकृत हुनको लागि आफूले बसोबास गरिरहेको वडा कार्यालयमा सम्पर्क राख्नुपर्ने नगरपालिकाले जानकारी दिएको छ । सुचिकृत हुने व्यक्तिले नागरिकता प्रमाणपत्रको एक प्रति प्रतिलिपी, निवेदकको हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटो, परिवारका सदस्यहरुको नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी, निवेदकले कुनै सीपमुलक तालिम लिएको भए सोको प्रमाणपत्रको प्रतिलिपी र बसोबास प्रमाणित हुने कागजातको प्रतिलिपी पनि संलग्न गर्नुपर्ने सुचनामा उल्लेख छ ।







