
काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा २ वटा अभियोगमा दोषी देखिएका छन् । विशेष अदालतले मेयर थापालाई सरकारी सम्पत्ति हानी नोक्सानी गरेको र सम्पत्ति शुद्धीकरण गरेको २ अभियोगमा दोषी ठहर गरेको हो ।
मेयर थापा भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएपछि निलम्बनमा परेका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको बुधबारको इजलासले बागमती नगरपालिकामा ताल बनाउदा सरकारी सम्पत्ति हानीनोक्सानी गरेको आरोपमा दोषी ठहर गरेको हो । सो ताललाई भरत ताल भन्ने गरिएको छ ।
विशेष अदालतले सार्वजनिक गरेको संक्षिप्त आदेशमा भरतताल भ्रष्टाचार मुद्दामा मेयर थापासहित विमलकुमार पोखरेल र सागर पौडेल पनि दोषी ठहर भएका उल्लेख गरिएको छ ।
विशेष अदालतले उनीहरुमाथि ३० करोड २९ लाख रुपैयाँ नदीजन्य पदार्थ हानीनोक्सानी गरेको ठहर गरेको हो ।
दोषी ठहर भएकाहरुलाई सजाय निर्धारणका लागि विशेष अदालतले साउन २९ गते अर्काे पेशी तोकेको छ । ३ वर्षभन्दा बढी सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।
विशेष अदालतले त्यो भ्रष्टाचारमा मुछिएका अरु आरोपितलाई सफाई दिएको छ । लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीले आरोपबाट सफाइ पाएका हुन् ।
गैरकानूनी सम्पत्ति आर्जनको अर्काे मुद्दामा पनि मेयर थापा दोषी ठहर भएका छन् । विशेष अदालतले उनलाई ३ करोड ४५ लाख रुपैयाँ गैरकानूनी आर्जन गरेको भनेको छ ।
मेयर थापाले १२ करोड ५९ लाख रुपैयाँ सम्पत्ति आर्जन गरेकोमा ९ करोड १४ लाख रुपैयाँ मात्रै बैध देखिएको अदालतको भनाइ छ । यद्यपि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गरेको थियो ।
उनलाई विशेष अदालतले गैरकानूनी सम्पत्तिआर्जनको भ्रष्टाचार मुद्दामा एक वर्ष कैद, विगो र त्यही बराबरको जरिवाना तिर्नुपर्ने फैसला गरेको हो । विशेष अदालतले उनले ३ करोड ४५ लाख बिगो बुझाउनुपर्ने ठहर गरेको हो ।
भ्रष्टाचार मुद्दा लागेपछि मेयर थापा २७ चैत, २०८० देखि निलम्बनमा छन् ।