
‘र, म तपाईँको खुच्चिङ् रमाइरहेछु । एक्कासी शीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ । र, म सो बेला शायद सर्जन नहुँला । सरी ! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम !’
बुधबार सामाजिक संजाल एक्समार्फत आफूले प्राप्त गरिरहेको पदबाट राजीनामा सार्वजनिक गर्दा डा. रामेश कोइरालाले लेखेका शब्दहरु हुन् यी । वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्डियो भास्कुलर विभागका प्रमुख थिए ।
डा. रामेश अहिले अमेरिका छन् । उनले अमेरिकाबाटै राजीनामा गरेको भनिएको छ ।
राजीनामा गरेपछि डा. रामेश, नेपालका प्रमुख संचारमाध्यमहरुको समाचारका शीर्षक बने । कुनै अस्पतालको एउटा विभागीय प्रमुखले पदबाट राजीनामा गर्दा प्रमुख संचारमाध्यमको समाचारको शीर्षक बन्ने सम्भावना सामान्यतः कम हुन्छ । तर, उनी बने । त्यसको कारण छ ।
कारण के हो भने उनी अहिले रिक्त रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति (भिसी) बन्न चाहन्थे । यसका लागि उनले आवेदन पनि गरेका थिए । तर, डा. रामेश भिसी बनाइएनन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिसी नियुक्त गरे । अनि त्यसको भोलिपल्ट अर्थात बुधबार उनको राजीनामा आयो, त्यो पनि अमेरिकाबाटै, एक्समार्फत ।
डा. रामेशले अब सर्जनको रुपमा फेरि फर्कने सम्भावना कम रहेको भनेका छन् ।
र, धेरै संचारमाध्यमहरुले लेखेका छन्– परराष्ट्रमन्त्री डा. आरजु देउवाले डा. रामेशलाई भिसी बन्नबाट रोकिन् । त्यसपछि उनी विरक्तिए, अनि गंगालालमा जागिर पनि खान्नँ, डाक्टरी पनि गर्दिनँ र नेपाल पनि बस्दिनँ भनेर एक्कासी शीप, देश र पेशा छोडिदिए ।
यो सत्य हो भने तिमी गलत रहेछौ डा. रामेश !
म डा. रामेशलाई नजिकबाट चिन्दिनँ । मैले चिनेको उनको लेख र ट्विट पढेर मात्रै हो । खासगरी भन्ने हो भने सामाजिक संजालबाट मात्रै हो । सामाजिक संजालबाट चिन्दा पनि उनी ठिक मान्छे हुन् भन्ने मेरो धारणा थियो । तर, भिसी नपाएको झोकमा शीप, देश र पेशा नै छोडिदिने ? तिमी ठिकै मान्छे हौ भनेर मैले गलत धारणा बनाएछु कि क्या हो डा. रामेश ?
रामेश कोइराला डाक्टर बनेको, गांगालालमा जागिर खाएको, सामाजिक छवि बनाएको, सार्वजनिक व्यक्तित्व बनेको उनी र उनको परिवारकै क्षमताले हो । राज्यले यो अवसर तिमीलाई दियो भनेर म मान्दिनँ । तर, भिसी नपाउँदैमा शीप, देश र पेशा छोड्ने ?
डा. रामेशलाई भिसी बनाउन डा. आरजु देउवाले रोकेको हो कि होइन, यो मलाई थाहा छैन । गत मंगलबार भिसी बनाएका चारै जना डा. रामेशभन्दा कम क्षमताका थिए, त्यसैले उनले चित्त दुखाउनु उचित हो भन्ने पनि मलाई थाहा छैन । अहिले रिक्त ४ स्वास्थ्य प्रतिष्ठानमध्ये कम्तिमा एउटामा भिसी बन्न पाउने नैसर्गिक हक डा. रामेशको मात्रै थियो, यो हकबाट उनलाई जबरजस्ती विमुख गराइयो भन्ने सही हो कि होइन भन्ने पनि मलाई थाहा छैन । तर, भिसी नपाउँदैमा शीप, देश र पेशा छोड्ने ?
डा. रामेश, तिमी जस्ता केही भाग्यमानी मान्छे छन् यो देशमा, जसले देश छोड्दा समाचार बन्छ । केही अघि गभर्नर बन्न नपाएपछि डा. गुणाकर भट्टले देश छोडेर अमेरिका गए भनेर समाचार बनेको थियो । अहिले भिसी नपाएर तिमीले देश छोडेको समाचार बनेको छ ।
पद नपाएर देश छोड्नेहरु मुख्य समाचारको शीर्षक बन्दा दिनमा २ छाक खान नपाएर देश छोड्नेहरु भित्री पृष्ठको एक कालमको समाचार बन्दैनन् । यो हविगतलाई नेपाली पत्रकारिताको खुच्चिङ् भन्देऊ डा. रामेश । यो तिमीसँग मैले मागेको सहयोग हो ।
फेरि तिम्रो विषयमा कुरा गरौं ।
भिसी नपाएको झोकमा नै तिमीले शीप, देश र पेशा छोडेको हो डा. रामेश ? साच्चै हो ? मलाई भन्नु पर्दैन, तिम्रो आत्मालाई जवाफ देऊ– भिसी नपाएरै तिमीले शीप, देश र पेशा छोडेको हो ?
हो भने तिमीलाई मेरो एउटा अनुरोध छ– एक पटक नेपाल फर्क । अनि, तिमी र म मधेशको देहात घुमौं, कर्णालीका दुर्गम पहाड घुमौं । मध्यपहाडका दुर्गम गाउँ घुमौं ।
त्यो घुमाईमा हामी, एक छान खानको लागि ज्याला मजदुरी गर्दै गरेका पढ्न स्कुल जानुपर्ने उमेरका केटाकोटी भेटौला । पैसाको अभावमा कपडा किन्न नसकेर थाङ्नोले मुस्किलले लाज छोपेकाहरु भेटौंला । खर्च नभएकोले अस्पताल लग्न नसकिएकाहरु मर्नको लागि कस्यानको झुप्रोमा छटपटिरहेका भेटौला । नाकबाट बगेको सिगानमा झुम्एिका झिगा होइन, कट्कटिएका गालाबाट रगत बग्ने घाउ हेरौंला । सुख के हो, सुविधा के हो, अधिकार के हो भन्ने थाहै नपाएका मान्छेहरु भेटौंला । तर, डा. रामेश, तिमीले भिसी नपाएरै शीप, देश र पेशा छोडेको हो ?
मेरा यस्ता प्रश्नको जवाफ दिन तिमी वाध्य छैनौं डा. रामेश । तिमीले देश छोडेर अमेरिका गएको, डा. गुणाकर भट्टले देश छोडेर अमेरिका गएको सन्दर्भ र परिवेशप्रति मेरो प्रश्न हो । ६ महिने शिशुलाई निमोनियाको उपचार गर्ने पैसा नभएपछि एउटा बाबु सुत्केरी श्रीमती र साना छोराछोरी छोडेर देश छोड्छ । ५० वर्ष पुगेकी आमाको रक्तश्राव रोक्ने उपचार गर्न पैसा नभएपछि छोराले देश छोड्छ । नसा च्यापिएर दुखेको बाउको हातको उपचार गर्न पैसा नभएपछि धामीलाई फुक्न लगाउदै गर्नू है भन्दै छोराले देश छोड्छ । गुणस्तरीय शिक्षाको कुरा छोड, स्कुल जानुपर्ने उमेरका छोराछोरीलाई विद्यालयको मुख देखाउन नसकेपछि बाबुआमाले देश छोड्छन् ।
देशमा रोजगारी छैन । खान लाउन पुग्ने उब्जनी हुँदैन । खेतबारी छैन । विद्यालय छ, शिक्षकले पढाउँदैनन् । अस्पताल छन्, दरबन्दी छ, डाक्टर हुँदैनन् । कुनै पेशा व्यवसाय गर्न पुँजी छैन, शीप छैन, शिक्षा छैन । अनि लाचार भएर विदेश जान लागेको युवालाई वडाबाट सिफारिस लिन पनि वडाध्यक्षलाई कुखुरो ख्वाउनु पर्ने वाध्यता छ । त्यो सिफारिस बोकेर त्रिपुरेश्वरको पासपोर्ट विभाग आएपछि अर्काे १२ हजार बझुाउनु पर्छ । मेनपावर कम्पनीलाई कम्तिमा १ लाख रुपैयाँ बुझाएपछि मात्रै भिसा लाग्छ । त्यसपछि एयरपोर्टमा अध्यागमन पास गर्न अर्काे घुस । यसरी देश छोड्नेहरुको समाचार बन्दैन । उनीहरु बाकसमा फर्कदा पनि समाचार बन्दैनन् । गभर्नर बन्न नपाएर र भिसी बन्न नपाएर देश छोडेर अमेरिका जानेहरुको मात्रै समाचार बन्छ ।
त्यसरी देश छोड्नेहरुको समाचार बन्ने भनेको त रेमिटान्सको हिसावमा मात्रै हो । रेमिटान्स बृद्धीको अंक सरकारको सफलताको सुचक बन्छ । रेमिटान्स बृद्धिको अंक देशभित्र रोजगारी दिन नसकेको अंक हो भनेर कसैले बुझाउदैन । रेमिटान्सले उत्पादन बृद्धि र पूर्वाधार निर्माणमा सहयोग नगरी उपभोगमा सकिएकोमा चिन्ता जनाउने विज्ञहरु छन् यो देशमा । रेमिटान्स भनेर गरेको हिसावको अंक विदेशमा भएको आमाले छोडेर गएको दुधे बालकको शिक्षाका लागि पठाएको रकमको अंक हो, जवान छोराले बृद्ध बाबुआमाको उपचारका लागि पठाएको रकमको अंक हो, एकसरो आङ ढाक्ने कपडा किनून् भनेर विदेशबाट पठाएको रकम हो भनेर कसैले भन्दैन । कतै समाचार बन्दैन ।
छोराछोरी पढाउन नसकेर विदेश गएको बाबुले छोराछोरी पढाउनु कि राज्यका लागि मेलम्ची बनाइदिनू ? पाठेघर खस्ने रोगले पीडित आमाको उपचार गराउन नसकेको पीरले विदेश गएको छोराले राज्यका लागि बुढीगण्डकी बनाइदिनू कि आमाको रोगको उपचार गर्नू ? सुत्केरी श्रीमती छोडर विदेश गएको पतिले छोराछोरीको लागि कापी कलम किनिदिनू कि राज्यका लागि निगजढ एयरपोर्ट बनाइदिनू ? रेमिटान्सको पैसा उत्पादन बृद्धि र पूर्वाधार निर्माणमा लगाउनु पर्छ भन्ने विज्ञहरुलाई यस्ता प्रश्न कसैले गरेको छैन ।
जसले देश छोड्दा समाचार बन्नुपथ्र्याे, बन्दैन, बनेको छैन । एक छाक खान नपाएकोले देश छोडेर कोइलाखानी गएकाहरु समाचारको शीर्षक बनेनन् । देश छोडेर अमेरिका गएकाहरु समाचार बने । अमेरिकामा कलेज पढाएर बस्छु भन्नेहरु समाचारका शीर्षक बनेका छन् । राम्रो पद र प्रतिष्ठा पाइनँ भनेर सिद्धान्त, पार्टी, जिम्मेवारी र देश छोड्नेहरु समाचार बन्छन् । तिमीले पनि भिसी नपाएर शीप, देश र पेशा छोडेको हो डा. रामेश ?