
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नं ८ जिल्लाकै पहिलो वातावरणमैत्री तथा बालमैत्री वडा घोषणा भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र नगरप्रमुख मोहनमाया ढकालले संयुक्त रूपमा वातावरणमैत्री तथा बालमैत्री वडा घोषणा गरे ।
वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय शासन नगर बालमैत्री सम्पर्कव्यक्ति माधुरी न्यौपानेले घोषणासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ अनुसार वडा नं ८ ले ५१ वटा सूचक तथा मापदण्ड पूरा गरेपछि यो उपलब्धि हासिल भएको जानकारी दिए ।
उनका अनुसार बालमैत्री स्थानीय शासनका लागि संघीय सरकारले तोकेका ५१ सूचक र २८ खुड्किलाअन्तर्गतका ५ चरणको सफलता प्राप्त गर्नुपर्ने व्यवस्था छ ।
सफलतामा वडा आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्यकर्र्मी महिला स्वास्थ्य स्वयंसेविका, खानेपानी तथा सरसफाइ, विद्यालय र आमा समूहको विशेष योगदान भएको पालिकाको भनाई छ ।
वडाले खुल्ला दिशामुक्त क्षेत्र घोषणा, पूर्ण खोप वडा घोषणा, पोषणमैत्री तथा किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणा, सुत्केरी आमा र बालबालिकालाई पोषण सामग्री तथा अतिरिक्त पोषण भत्ता वितरण, ‘सुनौलो हजार दिन’ अभियानअन्तर्गत मातृ तथा शिशु स्वास्थ्य सचेतना र परामर्श कार्यक्रम सञ्चालन, पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुगाको औषधि वितरण, नियमित वृद्धि अनुगमन, साबुनपानीको प्रयोगसम्बन्धी अभ्यास, शुद्ध पिउने पानीबारे सचेतनालगायत सचेतनामूलक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन तथा कार्यान्वयन गर्दै आएको छ ।