
काठमाडौँ । नेकपा एमालेले ९० प्रतिशत वडा कमिटीको अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसकेको बताएको छ । ७ वटै प्रदेश र ७७ वटै जिल्ला कमिटीको अधिवेशन गरिसकेको एमालेले आफ्नो संगठन वडामात्र नभएर टोलसम्म पनि रहेको बताएको छ ।
एमालेका अनुसार हालसम्म ५० प्रतिशत टोल कमिटीका अधिवेशनसमेत सम्पन्न भइसकेका छन् ।
एमालेका अनुसार स्थानीय तह कमिटीका ९८ प्रतिशत, वडा कमिटीका ९० प्रतिशत र टोल कमिटीका ५० प्रतिशत अधिवेशन सकिएको एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिएका छन् ।
सुव्वाका अनुसार अब स्थानीय तहका १० वटा कमिटीको अधिवेशन मात्र गर्न बाँकी छ । एमालेले ६ हजार वटा वडाको अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसकेको उनको भनाइ छ ।
नेपालमा ६ हजार ७४३ वटा वडा छन् । एमालेको दाबीअनुसार अब उसले ७४३ वटा वडाको मात्र अधिवशेन गरेर नयाँ नेतृत्व चयन गर्न बाँकी छ ।
आयोगका अध्यक्ष सुब्बाले अधिवेशन गर्न बाँकी ९८ कमिटीको विधान महाधिवेशनभन्दा पहिला नै सक्नेगरी काम अघि बढाएको बताए । एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन गर्दैछ ।