
काठमाडौँ । कर्मचारी नियुक्ति र सरुवामा घुस डिल गरेको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई राजीनामा दिन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
भूमि आयोगको अध्यक्ष बनाउने र कर्मचारी सरुवा गरिदिने भन्दै बिचौलियामार्फत घुसको डिल गरेको विवादास्पद अडियो सार्वजनिक भएपछि गुप्ता बिवादमा छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर घटनाबारे ब्रिफिङ लिएलगत्तै छानविन प्रक्रिया नसकिएसम्म जिम्मेवारीबाट अलग हुन सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयका एकजना सदस्यले वडापालिकालाई बताए ।
प्रधानमन्त्रीले गुप्तासँग घटनाबारे जानकारी मागेको र यो प्रकरणका कारण गठबन्धन सरकारको आलोचना भएको भन्दै अनुसन्धान नसकिएसम्म पदबाट अलग हुन निर्देशन दिएको सचिवालयका ती नेताको भनाइ छ ।
गुप्ताको विवादास्पद अडियोको फोरेन्सिक ल्यावमा परीक्षण गर्नेसहितका सम्वनिन्धत निकायले घटनाबारे तिब्र अनुसन्धान थालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको भनाइ छ ।