-1733980896.jpeg)
काठमाडौँ । घुस प्रकरणमा मुछिएर विवादमा आएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएलगत्तै मन्त्रालय छाडेका छन् ।
घुस प्रकरणमा मुछिएपछि सोमवार विहान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन सुझाएलगत्तै उनले हिजै राजीनामा बुझाउन चाहेको थिए । तर बालुवाटारको व्यस्तताका कारण उनले आजमात्र राजीनामा बुझाएको उनको सचिवालयको भनाइ छ ।
आज पनि प्रधानमन्त्रीको हातमा भने उनले राजीनामा बुझाउन पाएनन् । प्रधानमन्त्रीको व्यस्तताका कारण उनी राजीनामा बुझाउन वालुवाटार पुगेर पनि ओलीलाई भेट्न सकेनन् । उनले बालुवाटारमै राजीनामा छाडेर हिडेका छन् ।
प्रधानमन्त्रीले सरकारको बदनाम हुने अवस्था आएका कारण राजीनामा दिन भनेपछि उनले कुनै प्रतिवाद समेत नगरी राजीनामा दिएको उनको सचिवालयका कर्मचारीहरु बताउँछन् । ‘उहाँ व्यक्तिगत रुपमा केपी ओली र एमालेलाई संकटमा पार्ने नेता होइन, नेतृत्वलाई संकटमा पार्नेगरी उहाँले कहिल्यै काम गर्नुहुन्न सायद अब पनि गर्नुहुन्न होला,’ सचिवालयका ती कर्मचारीले वडापालिकासँग भने ।
राजीनामा दिएपछि सामाजिक सञ्जाल फेसवुकमा भने उनले आफुलाई नखाएको विष लागेको प्रतिकृया दिएका छन् । उनले अब आफु पार्टी काममा सक्रिय हुने भन्दै सधैँ जनताको माझमा हुने लेखेका छन् ।