
काठमाडौँ । रामेछापको रामेछाप नगरपालिका ४ हिमागंगामा रहेको श्री रेणुका देवी माविका १९ जना एसइई उत्तीर्ण विद्यार्थीलाई स्थानीय प्रदीप श्रेष्ठले ९५ हजार रुपैयाँ नगद पुरस्कार र सम्मान गरेका छन् ।
हाल अमेरिकामा रहेका श्रेष्ठले एसईई २०८१ मा उत्तीर्ण विद्यार्थीलाई जनही ५ हजार रुपैयाँका दरले १९ जना विद्यार्थीलाई प्रोत्साहन स्वरूप ९५ हजार र सम्मान पत्र वितरण गरेको जानकारी दिए । श्रेष्ठ उक्त विद्यालयको पूर्व विद्यार्थी पनि हुन् ।
आफुले घोषणा गरे अनुसार नगद पुरस्कारसहित सम्मान पत्र समेत दिएको उनको भनाइ छ । उनले आफ्नो अनुपस्थिति हजुरबा देविदास नेवार हजुरआमा सेती माया नेवारको हातबाट पुरस्कार र सम्मान पत्र वितरण गरिएको जानकारी दिए ।
विद्यालयले मङ्गलबार एक समारोह आयोजना गरेर पुरस्कार वितरण गरेको हो । पुरस्कार वितरण समारोहमा वडाध्यक्ष कृपा मगर, वडा सदस्य रोजकुमार श्रेष्ठ उपस्थित थिए । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रत्न नेवार, अभिभावक समितिका अध्यक्ष लगायत अन्य अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयका पूर्वप्रधानाध्यापक निमबहादुर श्रेष्ठले २८ हजार नगद पुरस्कार वितरण गरे । शिक्षक निम बहादुरले सबैभन्दा बढी जिपिए ल्याउनेलाई ५ हजार दोस्रोेलाई ४ हजार र तेस्रो जीपिए ल्याउनेलाई ३ हजार नगद पुरस्कार दिए । त्यस्तै अन्य उत्तीर्ण विद्यार्थीलाई जनही १ हजार नगद पुरस्कार दिए ।
यस्तै कार्यक्रममा भेषराज स्मृति नव परिवर्तनशील संस्थाले पनि विद्यार्थीलाई प्रोत्साहन स्वरूप नगद पुरस्कार वितरण गरे । संस्थाको तर्फबाट सबैभन्दा बढी जिपिए ल्याउनेलाई २ हजार दोस्रोलाई १ हजार ५०० र तृतीयलाई १ हजार पुरस्कार दिए । संस्थाले बाँकी उत्तीर्ण विद्यार्थीलाई जनही ५०० रुपैयाँ दरले १२ हजार ५०० रुपैयाँ पुरस्कार वितरण गरे । श्रेष्ठले २०८२ सालको एसईई उतीर्ण विद्यार्थीलाई पनि प्रोत्साहन स्वरूप नगद पुरस्कार र सम्मान गर्ने घोषणा गरेका छन् ।