Odapalika - The Fourth Estate - चौथो अंग
दुईवटा गाउँपालिकाको केन्द्र परिवर्तन, कोदो दिवस कहिले ? 

काठमाडौँ । संघीय सरकारले २ वटा स्थानीय तहको केन्द्र परिवर्तनका लागि स्वीकृति दिएको छ । सुनसरीको कोशी गाउँपालिकाले वडा नं १ लौकहीबाट बेन्द्र परिवर्तन गरी वडा नं ३ बद्रीपुल कायम गर्ने निर्णय गर्दै संघीय मन्त्रालयमा फाइल अघि बढाएको थियो । 

यसैगरी स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले वडा नं ४ कट्टीबाट केन्द्र परिवर्तन गरी वडा नं ४ गहलाम कायम गर्ने निर्णय गरेको थियो । यी दुबै निर्णयलाई मन्त्रिपरिषद बैठकले सदर गरेको छ । 

स्थानीय तहले दा्स्रो कार्यकालको आधा समय बिताइसकेपछि धमाधम पालिकाको केन्द्र परिवर्तन गरिरहेका छन् । यसअघि ललितपुरको महालक्ष्मी नगरपालिकाले पनि वडा नम्बर ४ बाट वडा नम्बर ८मा केन्द्र राख्ने गरी गरेको निर्णयलाई मन्त्रिपरिाष्दले स्वीकृति जनाइसकेको छ । 

सरकारले सरकारले प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय पनि गरेको छ । असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुव्वा गुरुङले आगामी साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय गरेको बताए ।

सरकारले यही असार ३० गतेदेखि आगामी साउन ८ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ । 

नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आगामी साउन ६ गतेदेखि १२ गतेसम्म गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई चीन भ्रमणको लागि स्वीकृति प्रदान गर्ने, नेपाल राष्ट्र बैंकबाट १ हजार दरको नयाँ बैंक नोट प्रकाशनको लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने सरकारको निर्णय छ ।

त्यस्तै, विश्व बैंकबाट विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने थप १० दशमलव आठ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता प्राप्त गर्ने, आर्थिक वर्ष २०८१÷८२ का लागि उखु उत्पादक कृषकलाई प्रदान गर्ने अनुदान रकम प्रतिक्विन्टल ३ हजार ५०० कायम गर्ने, नेपाली सेनाका ३७ जना महासेनानीहरूको सरुवा गर्ने, रेसुङ्गा नगरपालिका गुल्मीलाई जिपलाइन र स्काई साइक्लिङ निर्माणको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–८ मा रहेको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गर्ने, आगामी साउन ९ गतेदेखि १४ गतेसम्म नर्वेमा आयोजना हुने नर्भे टु स्ट्रेन्थन कोअपरेसन कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्रीलाई स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको मन्त्री गुरुङले जानकारी दिए ।

रेस्टोरिडा रिफ्रेश सेन्टर प्रालिलाई पर्यापर्यटन व्यवसाय गर्ने कार्यको लागि सुनकोशी गाउँपालिका–६ सिन्धुलीमा रहेको हैसियत बिग्रेको राष्ट्रिय वनको जग्गा र धार्चे कृषि जडीबुटी उत्पादन तथा प्रशोधन फार्मलाई वन पैदावरमा आधारित उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्ने कार्यको लागि धार्चे गाउँपालिका–४ लाप्राक, गोरखामा रहेको हैसियत बिग्रेको राष्ट्रिय वनको जग्गा कबुलियती वनको रूपमा उपलब्ध गराउन स्वीकृति दिने, शिक्षा, विज्ञान तथा प्रविधि आगामी साउन ५ गतेदेखि १६ गतेसम्म चीनमा आयोजना हुने रिजनल वर्कसप अनक्लियर सेक्युरिटी रेस्पोन्स क्यापाविलिटी डेभलपमेन्ट फर बार्डरर्स एण्ड पोर्टस् कार्यक्रममा सचिव (विज्ञान तथा प्रविधि) लाई सहभागी हुन स्वीकृति दिने, नेपाल र जापान सरकारबीच सन् २०१९ मार्च २० मा हस्ताक्षर भएको जापानमा निश्चित सीपयुक्त कामदार पठाउने विषयको समझदारीपत्रको अवधि १९ मार्च २०२४ देखि थप पाँच वर्षका लागि नवीकरण गर्न स्वीकृति दिने निर्णय गरेको छ । 

निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन पाँच अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने, आगामी साउन ६ गतेदेखि ८ गतेसम्म दक्षिण अफ्रिकाको जोहानस्वर्गमा आयोजना हुने ‘फस्ट ग्लोबल एसएमइ मिनिस्ट्रीयल मिटिङ’मा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा कपिलमान श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, जिल्ला समन्वय समिति डडेल्धुराको नाममा रहेको २–६–१–२ रोपनी जग्गा अमरगढी नगरपालिका, डडेल्धुरालाई बहुउद्देश्यीय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा खगराज शर्मा, रूपन्देहीलाई नियुक्ति गर्ने, फाप्ला अन्तरराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यावधि यही असार २९ गतेदेखि चार महिनाका लागि थप गर्ने सरकारको निर्णय छ ।

    
 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update