
काठमाडौँ । नेपाल सरकार र कोरियाली सरकारबीच बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजना (आइआरडिपी) कार्यान्वयनका लागि सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।
अर्थ मन्त्रालयमा आज एक औपचारिक कार्यक्रमबीच मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि कोरियाली राजदूत पार्क तई यङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यो परियोजनाका लागि कोरिया अन्तरर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत कोरियाली सरकारले ८० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने भएको हो । परियोजना सन् २०२९ को डिसेम्बरसम्म सञ्चालन हुनेछ र बर्दिया जिल्लाका ८ वटा स्थानीय तहमा कार्यान्वयन हुनेछ ।
गेरुवा गाउँपालिका, बढैयाताल गाउँपालिका, राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका र ठाकुरबाबा नगरपालिकामा कार्यान्वयन हुने यो परियोजनाको उद्देश्य कृषि उत्पादनमा वृद्धि, मूल्य शृङ्खला निर्माण, सडक तथा पूर्वाधार स्तरोन्नति, बजार पहुँच स्थापना, उद्यमशीलता विकास र रोजगारी सिर्जनामार्फत ग्रामीण समुदायलाई सहयोग गर्नु रहेको छ ।
परियोजना कार्यान्वयनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नीतिगत समन्वय तथा मार्गनिर्देशनको भूमिका निर्वाह गर्ने छ भने स्थानीय तह स्तरमा बर्दियाका ती ८ पालिकाले कार्यान्वयन निकायका रूपमा काम गर्नेछन् ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै कोरियाली राजदूत पार्क तई यङले यो परियोजना जनमुखी, समावेशी र दिगो विकासमा केन्द्रित रहेको बताए । उनले परियोजनाले वातावरणीय सन्तुलन कायम गर्दै स्थानीय समुदायका लागि दीर्घकालीन अवसर सिर्जना गर्ने उल्लेख गरे ।
कार्यक्रममा अर्थ सचिव घनश्याम उपाध्यायले कोरियाली सहयोगमा सञ्चालन हुने परियोजनाले स्थानीय सरकार तथा समुदायको सशक्तिकरण गर्न र नेपाल सरकारको नीतिअनुसार समावेशी तथा आर्थिक रुपमा बलियो समाज निर्माण गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।
कोइकाको नेपालका लागि निर्देशक मुहुन्ग कोङले स्थानीय तह तथा अन्य सरोकारवालाको सहकार्यमा परियोजनाबाट सकारात्मक तथा परिणाममुखी उपलब्धि हासिल हुनेमा आशावादी रहेको बताए । कोइकाले विगतमा पनि नेपालमा कृषि, स्वास्थ्य, प्राविधिक तालिम, ग्रामीण पूर्वाधार तथा सूचना प्रविधिलगायतका क्षेत्रमा महत्वपूर्ण सहयोग प्रदान गर्दै आएको छ ।