
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको तेस्रो खेलमा घरेलु टिम ओमानविरुद्ध मैदान उत्रिँदा नेपाल जितसहित तेस्रोपटक विश्वमञ्चमा उक्लिने लक्ष्यमा हुनेछ ।
सुपर–६ मा लगातार दोस्रो जित निकालेको नेपाल ६ अंकसहित विश्वकपनजिक छ । नेपालले आजको खेलमा जित निकाले आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान सुनिश्चित गर्नेछ । तालिकाको दोस्रो स्थानमा आसिन नेपालले बुधबार घरेलु टिम ओमानसँग अल अमेरतमै खेल्ने तालिका छ । आजको खेलमा जित निकाले समग्रमा नेपाली टिमले तेस्रोपटक टी–२० विश्वकपको ढोका खोल्नेछ ।
यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ । नेपालविरुद्ध मैदान उत्रिँदा ओमानको लक्ष्य पनि यही हुनेछ । ६ अंकसहित नेपाललाई नेट रनरेटमा पछि पार्दै शीर्ष स्थानमा आसिन ओमानले पनि यो खेलमा जित निकाल्न सके विश्वकप यात्रा तय गर्नेछ ।
नेपालले यसअघि सुपर–६ को पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध एक रनको र कतारविरुद्ध पाँच रनको जित निकालेको थियो । ओमानपछि नेपालले सुपर–६ को अन्तिम खेलमा समाओविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
हालसम्म दुईपटक विश्वकपमा प्रतिस्पर्धा
नेपाली क्रिकेट टिमले हालसम्म दुईपटक मात्र ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको छ । नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । त्यसबेला नेपाली टिम नेपाल क्रिकेट संघ (क्यान)का हालका सचिव पारस खड्काको कप्तानीमा प्रतिस्पर्धामा उत्रिएको थियो । २०१४ पछि विभिन्न उतार–चढाव पार गरेको नेपाली टिमले १० वर्षपछि मात्रै फेरि टी–२० संरचनाको विश्वकपमा स्थान बनायो ।
नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजित ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । विश्वकपको यो संस्करणमा नेपाली टिमको नेतृत्व वर्तमान कप्तान रोहितकुमार पौडेलले नै सम्हालेका थिए ।