Odapalika - The Fourth Estate - चौथो अंग
विपिन कहिल्यै अस्ताउने छैनन्

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा दिवङ्गत नेपाली विद्यार्थी विपिन जोशी सबैको मनमा रहिरहने बताएकी छन् ।

जोशीप्रति आज श्रद्धाञ्जली व्यक्त गर्दै उनले भनिन्-“जोशीले आफ्नो देशको नाम त राखे राखे, इजरायली जनता र सरकारबाट पनि सम्मान पाए । त्यसैले उहाँलाई बहादुर युवा भन्नुपर्छ । यस्तो बहादुर छोरा जन्माउने आमा, उहाँको खोजीमा अथक सङ्घर्ष गर्ने बहिनीप्रति पनि सम्मान छ ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोक सभामा प्रधानमन्त्री कार्कीले जोशीको शव नेपाल ल्याएसँगै विगत दुई वर्षदेखि जोशीलाई खोजिरहेका तीन करोड नेपालीका आँखा रसाएका बताइन् । उनले विपिनलाई सकुशल पाउने नेपालीको विश्वास आज निराशामा परिणत भएको उल्लेख गरिन् ।

bipin-1-1760969784.jpg
“हामीलाई विपिन फर्केर आउनेछन् भन्ने नै लागेको थियो । यही विमानस्थलमा भव्य स्वागत गरौँला भन्ने इच्छा थियो, तर त्यो सपनामै रह्यो”,प्रधानमन्त्री कार्कीले भनिन्,“उहाँले चाहेको भए आफू बाँच्न सक्थे, तर साथीहरूलाई बचाउन लाग्दा अपहरणमा परे । अपहरणको सिकार हुँदा कति दुःख कष्ट भोगे होलान्, कसरी मारिए होलान्, परिवारमा कति कष्ट भयो होला ! सोच्दा पनि कहाली लाग्छ ।”

विपिन जोशी सबैका छोरा भएको र उनको बहादुरी र साहस कहिल्यै बिर्सन नसकिने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले त्यो हिम्मत र साहसप्रति गौरव भएको बताइन् ।  “विपिन कहिल्यै अस्ताउने छैनन् । हामी सबैको, नेपालको छोरा भएर सधैँ बाँचिरहने छन्”, उनले भनिन् । स्वर्गीय जोशीको पार्थिव शरीर आज अपराह्न इजरायलबाट काठमाडौँ ल्याइएको हो । 

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update