काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समय (२१ फागुन)मा सरकार चुनाव गराउन कटिवद्ध रहेको बताएकी छन् । उनले भयरहित वातावरणमा सरकारले चुनाव गराउने पनि बताइन् ।
मंगलबार राजनीतिक दलहरूसँगको संवादमा उनले निर्वाचनकै निमित्त अहोरात्र खटिएर मन्त्रीहरू मात्र होइन सुरक्षा निकायलगायत काम गरिरहेको बताइन् । छलफलमा दलहरूले भयरहित वातावरणमा सरकारले निर्वाचन गराउन सक्नेमा आशंका गरेपश्चात् उनले यस्तो जवाफ दिएकी हुन् ।
छलफलमा उनले दलहरूसँग संवादमा ढिलाइ किन भयो भन्ने सन्दर्भमा पनि जवाफ दिइन् । “यसबीचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो र त्यसमा समय लाग्यो‚” प्रम कार्कीको भनाई उधृत गर्दै उनका प्रेश सल्लाहाकार राम रावलले भने।
साथै प्रम कार्कीले सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै नरूचाएको समेत स्पष्ट पारिन् । “राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिदिने काम भएको छ। अब जेनजी र दलहरू बसौँ‚” उनले भनिन्।
प्रधानमन्त्री कार्कीले जसरी भएपनि स्थिति सामान्यीकरण गर्दै चुनावतिर जानुपर्ने र यसका लागि भुमिका खेलिदिन दलहरूसँग अनुरोध पनि गरिन् । “चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेलौँ । यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ‚” उनले भनिन्।





