काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बिहीबार अपराह्नदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षासम्म हुनसक्ने सूचना जारी गरेपछि नेपाल प्रहरीले सम्भावित विपद् व्यवस्थापनका लागि उच्च तयारीमा रहन मातहतका निकायलाई निर्देशन दिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका इकाइमा सम्भावित विपद् जोखिम आकलन गर्दै समन्वयात्मक रूपमा विपद व्यवस्थापनको तयारीमा रहन निर्देशन दिइएको जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणाली तथा बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव रहेको छ ।
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारतको आन्ध्र प्रदेशमा प्रवेश गरी विस्तारै कमजोर हुँदै उत्तर र उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रूपमा नेपालको मध्यभूभाग नजिक आएको र त्यसपछि पूर्वतर्फ सर्दै आज रातिदेखि सक्रिय हुँदै शनिबारसम्म नेपालको कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम प्रभावित हुने बुधबार साँझ जारी सूचनामा जनाइएको छ ।
जसले कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी र हिमाली भूभागका एक/दुई स्थानमा मध्यम हिमपातको सम्भावना छ ।
कोसी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातका साथै कोसी, मधेस र वागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ । ती क्षेत्रमा दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि तथा पर्यटन क्षेत्रमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुपर्ने विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए । उनले शनिबारसम्म नै असर जारी रहने जानकारी दिए ।
सोही सूचनाका आधारमा नेपाल प्रहरीले पनि तयारी गरेको प्रवक्ता घिमिरेले बताए । सशस्त्र प्रहरीले पनि आवश्यक तयारी गरेको जनाएको छ । मधेस प्रदेश सरकारले भने आजै उच्च सावधानी अपनाउने निर्णय गरिसकेको छ ।
यता, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सतर्कता अपनाउन आग्रह गरेको छ । सम्भावित वर्षा र हिमपातका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रमा प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक पूर्वतयारी एवं पूर्वकार्यसम्बन्धी कार्य गर्न प्राधिकरणले सुझाएको छ ।





