वन समूहका अध्यक्षविरुद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

काठमाडौँ । डडेल्धुराको एक सामुदायिक वनका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर भएको छ। 

आयोगले आलिताल गाउँपालिका– ३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। 

मडैले उपभोक्ता समितिको चेकमा किर्ते हस्ताक्षर गरी कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ। 

१० मंसिर २०७८ को कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिको बैठकको नक्कली प्रतिलिपि तयार गरी अध्यक्षले समूहका सचिव र कोषाध्यक्षलाई जानकारी नदिइ चेकमा किर्ते हस्ताक्षर गरेको अख्तियारको दाबी छ।

उक्त किर्तेबाट उनले समूहका २० लाख १५ हजार रकम निकालेका थिए। 

आफूले बैंकबाट रकम निकालेको समितिका पदाधिकारीले थाहा पाएपछि उनले २ लाख रुपैयाँ भने वनकै खातामा जम्मा गरेका थिए। 

१८ लाख १५ हजार रुपैयाँ भने उनले फिर्ता नगरेपछि अख्तियारमा उजुरी परेको थियो। 

आयोगबाट खटिएको टोलीले गरेको स्थलगत मुचुल्का र डिभिजन वन कार्यालय डडेल्धुराबाट प्राप्त स्थलगत प्रतिवेदन एवं फरेन्सिक परीक्षण प्रतिवेदनबाट अध्यक्षा मडैले किर्ते गरेको पुष्टि भएको थियाे। 

भ्रष्टाचार निवारण ऐन- २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले मडैविरुद्ध १८ लाख १५ हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो। 

आरोपपत्रमा बिगोबमोजिम कैद सजाय र बिगो बमोजिम जरिवानाको माग गरिएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  ०७:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update